कोरोना र सिमाना



कोरोना संक्रमणको मध्य चरण पुगेको नेपालमा अहिले सरकारले गरेको तयारीलाई दिएर बिभिन्न कोणबाट विभिन्न टिप्पणी गर्ने क्रम रोकिएको छैन । हरेक दिन १० देखि १२ हजारको संख्यामा मात्रै कोरोना संक्रमणको परीक्षण गर्दै आएको सरकारको नीतिलाई सबैले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । खुल्ला सीमानाका कारण नेपालमा कोरोना संक्रमितको संख्या सोचेको भन्दा बढी नै थपिदै गएको छ । सरकारले अन्तर्राष्ट्रिय नाकामा गर्नुपर्ने अनु्गमनलाई सही ढंगले प्रयोग गर्न नसक्दा नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको आंँकलन गरिन्छ ।

नेपाल–भारत बीचको खुल्ला सीमानका कारण भारतबाट नेपाल प्रवेश गर्ने नेपाली तथा भारतीयको संख्या उल्लेख्य रहनु र भारतबाट नेपाल छिर्ने नेपाली तथा बिदेशी नागरिकको कोरोना संक्रमणको परीक्षण नहुनुले पनि नेपाल भित्रिएकाहरुले संक्रणम फैलाएको आरोप लाग्दैआएको छ । तर, अरुले के भने भन्दा पनि नेपालले अपनाउँदै आएको पद्धतिको बारेमा अब छलफल गर्नुपर्ने बेला आएको छ । नेपालमा जति कोरोनाको बारेमा परीक्षण गर्नुपर्ने हो त्यो गर्न नसकेको भन्ने बारेमा बिभिन्न टीका–टिप्पणी नभएको पनि होइन । सरकारले जति गर्नुपर्ने हो त्यो पनि गरेको देखिंदैन । हरेक क्षेत्रबाट परीक्षणको दायरा बढाउन आग्रह गरेपनि सरकारले परीक्षणको दायरा बढाउन सकेको देखिदैन । अहिले व्यक्ति–व्यक्तिबाट कोरोना समुदायमा फैलिसकेको आशंका गरिएको छ । समुदायमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा सरकारले खासै ध्यान दिन नसकेको भन्ने आरोपको अहिले सम्म सरकारले खण्डन गर्न नसक्नुले पनि कतै सरकार नै चुकेको त होइन भन्ने आशंका गर्ने ठाउंँ पनि पैदा नभएको होइन । आज आम रुपमा कोरोना संक्रमणको परीक्षण गर्नुपर्ने आवाजलाई सरकारले सम्वोधन गर्नुपर्ने देखिन्छ । सरकारले अन्य क्षेत्रमा खर्च हुन नसकेको बजेटलाई कोरोना संक्रमणको क्षेत्रमा ल्याएर परीक्षणको दायरालाई फराकिलो बनाउन सके समुदायमा फैलदो अवस्थामा रहेको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । यसतर्फ सरकारको ध्यान जान जरुरी देखिन्छ । सरकारले स्थानीय निकायमा गरेको निषेधाज्ञाको समेत परिपालनामा कडाइ हुन नसकेको र अहिले पनि जथाभावी रुपमा मानिसको आवत–जावतलाई नियन्त्रण गर्न स्थानीय प्रशासन असफल हुनुले पनि कोरोना संक्रमण फैलदो अवस्थामा रहेको हो कि भन्ने आशंका जनमानसमा फैलदो अवस्थामा रहेको छ । जनतामा रहेका भ्रमलाई चिर्दै कोरोना नियन्त्रणमा चालिदै आएको सरकारी कदमलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । यसतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ ।
काठमाडौंमा अवधि थपेर निषेधाज्ञा जारी भएको आज भदौं १७ गते अन्तिम दिन हो । यस अवधिमा परीक्षणको परिणामले जे देखाएको छ, त्यसलाई हेर्दा कुल संक्रमित र मृतकको संख्यामा सुधार भएको पाइन्न । निषेधाज्ञा नभएको भए संक्रमितको संख्या अझै अधिक हुन्थ्यो भनेर जबाफ दिन त सकिएला, तर बन्दाबन्दीको सकारात्मक प्रभाव सोचेअनुसार देख्नसकिएन । यसो किन भइरहेछ भन्ने विश्लेषण गर्दै अगाडिको कदम चाल्नुपर्छ । युरोप–अमेरिकामा विद्यालय र बजार र यातायात खोलेर पनि जसरी संक्रमणलाई नियन्त्रण गरिएको छ, त्यसबाट हामीले पाठ सिकेर नागरिकस्वयं सतर्क बन्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्