कोरोनापीडितमाथि दुव्र्यवहार हुनुमा चेतनाको कमी



  • बद्री तिवारी

कोरोनाभाइरसबाट संक्रमित बिरामीको उपचारमा दिनरात अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र कर्मचारीहरु, शान्तिसुरक्षा कायम राख्न, महामारी नियन्त्रण गर्न प्रशासनले जारी गरेका निषेधाज्ञा तथा बन्दाबन्दीको निर्देशन पालना गराउन र सार्वजनिक स्थान÷घना मानवबस्तीमा निरन्तर पहरा दिनका लागि अनवरतरुपमा खटिएका सेना, प्रहरीलगायतका सुरक्षाकर्मीहरु, सत्यतथ्य सूचना प्रवाह गर्ने दायित्व बोकेका पत्रकार÷सञ्चारकर्मीहरु र जनताका अत्यावश्यक कार्यमा खटिएका सरकारी तथा संंगठित÷असंगठित क्षेत्रका व्यक्तिहरु पनि यतिखेर संक्रमणबाट अछूतो छैनन् । एकातिर कार्यक्षेत्रमा खटिँदा संक्रमित हुनुपर्ने बढ्दो जोखिम तथा अर्कोतर्फ संक्रमित भएपछि सामाजिकरुपमा अपहेलित हुनुपर्ने, खासगरी चिकित्सा क्षेत्रसँग सम्बद्ध जनशक्ति यसरी दोहोरो मारमा परेका घटना प्रकाशमा निरन्तर आएका छन् ।

‘शिक्षित वर्गले नै समाजमा कोरोनाभाइरसको बारेमा भ्रम सिर्जना गरेको पाइन्छ, जसबाट सर्वसाधारण मानिसमा आशंका र त्रासले भयभित बनाएको अवस्था छ । गलत सूचनाका कारण मानिसहरु स्वाभाविकरुपमा व्यक्तिवादी बन्ने र रोगबाट पीडित बनेका व्यक्तिहरुप्रति समाजले देखाउने व्यवहार पनि पूर्वाग्रही हुने गर्दछ । यस्तो हुनुमा व्यक्तिवादी चरित्र भएकाहरुले गरेको सामूहिक वर्गीकरण पनि उत्तिकै हाबी हुनु हो ।’

वर्तमान अवस्थामा कोरोनाभाइरसका बिरामीहरुप्रति समाजका केही व्यक्ति तथा समूहले देखाउने व्यवहार सर्सर्ती नियाल्दा लाग्दछ, कतै यो मानवताविरुद्धकै अपराध त गरिँदै छैन ? के बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी वा रोग लागेर उपचार गर्न अस्पताल गएका वा निको भएर घर फर्केका सर्वसामान्य नागरिकहरु समाजका आँखामा दोषी हुन् ? हाम्रा सामु यस्तै प्रश्नहरु खडा भएका छन् ।

बिरामीलाई हौसला दिनुपर्दछ, आवश्यकतानुसार सहयोग गर्नुपर्दछ अनि सकारात्मक भएर उनीहरुलाई उपचारपछि परिवार÷समाजमा पुनःस्थापित गर्नुपर्दछ जस्ता सूचना र सन्देशमूलक वाक्यहरु कर्तव्यमा रुपान्तरित हुनुको सट्टा अब पर्चा, पोस्टर अनि किताबमा मात्र सीमित भए कि ! भन्ने अवस्था उत्पन्न भएको छ । कोभिड–१९ का बिरामीहरु बढिरहेको वर्तमानमा राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा छरछिमेकबाटै दुव्र्यवहार तथा सामाजिक बहिष्करणसमेतका घटनाहरु बढिरहेको वास्तविकताले त्यही कुराको पुष्टि गर्दछ ।

मुलुकभर अहिले ४ सयभन्दा बढी स्वास्थ्यकर्मी र ८ सयभन्दा बढी सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएपछि उपचार गराइरहेका छन् । अग्रपंक्तिमा रहेर जनताको सेवा तथा बिरामीको उपचारमा जुटेका उनीहरु संक्रमित हुन पुग्नु अस्वाभाविक नै लाग्दैन, किनकि कोरोनाभाइरस अन्य रोगहरुभन्दा बढी नै गुणात्मक हिसाबले फैलने सरुवारोग भएको तथा विश्व स्वास्थ्य संगठनको मान्यताअनुरुपका सुरक्षात्मक उपायहरु अवलम्बन गर्न नसकेका कारणले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु बढी प्रभावित बन्न पुग्छन् ।

सञ्चारमाध्यमबाट यस महामारीका बारेमा बेलाबेलामा चेतनामूलक सामग्री तथा प्रचारप्रसार हुँदै आए पनि मानिसहरुमा चेतनाको कमी भएकोले बिरामीप्रति हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । मनोवैज्ञानिकहरु पनि चेतनाकै कमीले गर्दा यस्ता घटनाहरु बढ्ने कुरालाई स्वीकार्दछन् । केही दिनअघि राजधानी काठमाडौंलगायत देशका अन्य ठाउँमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीका परिवारप्रति दुव्र्यवहारका घटना हुन पुग्नुलाई चेतनाको कमीका कारण उत्पन्न समस्याका रुपमा लिन सकिन्छ ।

के ठेगान, कसलाई कतिखेर कोरोनाले छुने हो, अनि छोइहाल्यो भने रोगबाट कसरी मुक्त हुने हो ? र, कसको कुन बेला सहयोग र सद्भाव चाहिने हो ? तर, मानिसहरु आपूmलाई कहिल्यै कुनै रोग लाग्दैन र लागे पनि त्यसबाट सहजै पार पाइन्छ भन्ने जस्तै गरी अरुको कमजोरी र गल्ती खोज्नै पछि लाग्छन् अनि त्यसलाई खेदेरै छोड्ने धृष्टता राख्छन् । राजधानीको नयाँ बानेश्वर, चितवन, तनहुँको दमौली, नवलपरासीको कावासोती र काभ्रेको धुलिखेललगायतका स्थानमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीहरुमाथि दुव्र्यवहार भएकोले त्यस खालका घटनाको बारेमा छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै आएको पाइन्छ । तर अझै पनि मानिसमा चेतना आउन भने सकेको छैन । फलस्वरुप समाज नै नराम्ररी पीडित बन्न पुग्दछ ।

यही भदौको पहिलो हप्ता नयाँ बानेश्वरको मिलनचोकमा रोहित रानाले सञ्चालन गरेको लर्ड बुद्ध ब्वाइज होस्टलको क्वारेन्टाइनमा बस्दै आएका निजामती कर्मचारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई राख्न नदिने भन्दै स्थानीय टोल सुधार समितिकै पदाधिकारीहरुले हुल बाँधेर विरोध जनाउन गए । त्यति मात्र होइन, उनीहरुले अनेक आरोप लगाउँदै दुव्र्यवहार गरेपछि स्वास्थ्यकर्मीहरु नै असुरक्षित बनेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आर.सी.ले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा त्यहाँस्थित अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राख्ने क्वारेन्टाइन बनाइएको र त्यहाँ दुई दिनअघिदेखि उनीहरु बस्दै आएको जानकारी गराए । स्थानीय बासिन्दाले ती स्वास्थ्यकर्मीहरुमाथि टोलमा रोग फैलाएको आरोप लगाएका थिए । वास्तविकता थाहा पाएपछि उनीहरु पछि हटे ।

त्यस्तै चितवनको रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमित पुष्टि भएपछि स्थानीय जनप्रतिनिधिसहित छिमेकीहरुले नै निजको घरअगाडि ‘यो कोरोना संक्रमितको घर’ भन्ने व्यहोरा उल्लेख गरिएका स्टिकर र पोस्टर टाँग्ने प्रयास गरेका थिए । बिरामीको सेवा गर्दागर्दै संक्रमित हुन पुगेका चिकित्सक त आफ्नै घर–छिमेकमा यसरी बहिष्कृत हुन्छन् भने अन्य सर्वसामान्य नागरिकको स्थिति कस्तो होला ? अनुमान लगाउन सकिन्छ ।

त्यस्तै काभ्रेको सदरमुकाम धुलिखेलमा स्थानीय वरिष्ठ समाजसेवी ९८ वर्षीय रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणबाट मृत्यु भएपछि छिमेकी तथा स्थानीय बासिन्दाले देखाएको असामाजिक व्यवहारले त्यो परिवार नै पीडित बन्न पुगेको छ । बाबुको अन्त्येष्टिसमेत गर्न नपाएर छट्पटिएको घिनाञ्जु परिवारलाई आफ्नै घरमा काजकिरियामा बसेको बेला जनप्रतिनिधिसहित आएका स्थानीय बासिन्दाले असहिष्णु व्यवहार देखाएको स्व. घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले सार्वजनिक गरे । छरछिमेकी र जनप्रतिनिधिसमेत आएर घरगाउँ छोडेर जा भनेपछि मिडियामा सार्वजनिक हुनुपरेको बाध्यता रामेश्वरले सुनाए । आफूमाथि परेको यो वज्रपातका बारेमा निजले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेका छन् ।

यतिखेर समाजले कोरोनापीडितप्रति देखाएको असहिष्णु व्यवहारको प्रतिनिधिमूलक घटनाका केही अंश मात्र हुन् यी । मुलुकका अन्य भागमा पनि यस्ता खालका छुद्र व्यवहार प्रदर्शन भइरहेका छन् र ती वास्तवमै खेदजनक छन् । संखुवासभामा आइसोलेसन वार्डकै तोडफोड, विराटनगरमा चिकित्सकमाथि नै हातपातजस्ता असामाजिक गतिविधिको सिकार बन्न बाध्य भएका छन् स्वास्थ्यकर्मीहरु । यस्ता घटना जहाँसुकै भए पनि निन्दनीय छन् ।

नवलपरासीको कावासोतीमा घरबेटी दीपक लम्सालले कोरोना लागेका डेरावाललाई घरमा बस्न नदिएको, तनहुँको दमौली नगरपालिकाका कर्मचारी सञ्जीव अधिकारी भानु नगरपालिका वडा नं. ११ स्थित आफ्नी दिदी अञ्जनाको घरमा गएका रहेछन्, सञ्जीवसँग काम गर्ने न.पा.का इन्जिनियरलाई कोरोनाको संक्रमण देखिएछ, अनि सोही निहुँमा स्थानीय टोल विकास अध्यक्ष र वडाध्यक्षसहितले सो परिवारलाई नै नजरबन्दमा राखेको जस्ता समाचार प्रकाशमा आएका छन् ।

उल्लिखित समाचारहरुले मानवअधिकार, स्वतन्त्रता, सामाजिक सद्भावलगायतका प्रसंगहरुमा यक्षप्रश्न खडा गरिदिएका छन्, जुन अझसम्म पनि अनुत्तरित नै छन् । वास्तवमा यस्ता घटनाले निमुखाहरु समाजमा प्रभुत्व जमाउनेहरुको दबाबमा पिल्सिरहनुपर्ने अवस्था नेपाली समाजमा यथावत् रहेको पुष्टि हुन्छ ।

अर्को कुरा, यस्ता घटना हुनुमा सम्बद्ध पीडक व्यक्तिहरु त दोषी हुन्छन् नै, जनचेतना जागृत गराउनुपर्ने संघसंस्था र राज्यका स्थानीय तहहरु पनि कम जिम्मेवार छैनन् ।

काठमाडौं र चितवनलगायत स्थानका घटनामा संलग्न व्यक्तिहरुमाथि छानबिन तथा दोषीमाथि कारबाही गर्नुपर्ने माग राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न संघसंस्था र क्षेत्रबाट उठिरहेको छ भने सरकारले पनि यसरी दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कारबाही गर्न निर्देशन दिइसकेको छ ।

हालसम्म दोषीहरु दण्डित भएका समाचार भने सार्वजनिक भएका छैनन् । प्रहरीले मात्र यस्ता घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन कठिन छ, किनकि कुनै एक व्यक्ति मात्र नभएर समूह÷समूह नै मानवअधिकार उल्लंघन तथा दुव्र्यवहारका घटनामा संलग्न भएका हुन्छन् । स्थानीय तहका पदाधिकारीहरुको सहयोगविना प्रहरीका लागि यो चुनौतीपूर्ण कार्य हो, तर विडम्बना नै भन्नुपर्दछ– यस्ता घटनामा मुख्य संलग्नता वडा पदाधिकारीको पनि हुने हुनाले कसरी निष्पक्ष छानबिन हुन सक्ला !

समाजमा यस्ता खालका घटना हुनुको पछाडि सामाजिक मनोविज्ञानले विशेष भूमिका खेलेको हुन्छ । मानिसहरु निजी स्वार्थका लागि समूहमा आबद्धता जनाउँछन् र अचानक सामूहिक निर्णयको माध्यमबाट अगाडिका चरणहरुमा प्रवेश गर्दछन् । यो कोरोना रोग संक्रमणको सन्दर्भमा समाजको मनोविज्ञान नै बाह्य वातावरणबाट प्राप्त हुने सूचनाका आधारमा निर्माण हुन्छ र सोही अनुसार मानिसको व्यवहार प्रदर्शित हुने मनोवैज्ञानिकहरुको धारणा छ ।

कोरोनाभाइरसका सन्दर्भमा मानिसले कस्तो धारणा बनाएका हुन्छन् त ? भन्ने यस पंक्तिकारको प्रश्नमा द स्कुल अफ साइकोलोजी, नेपालका संस्थापक अध्यक्ष पदमराज जोशी भन्नुहुन्छ– ‘शिक्षित वर्गले नै समाजमा कोरोनाभाइरसको बारेमा भ्रम सिर्जना गरेको पाइन्छ, जसबाट सर्वसाधारण मानिसमा आशंका र त्रासले भयभित बनाएको अवस्था छ । गलत सूचनाका कारण मानिसहरु स्वाभाविकरुपमा व्यक्तिवादी बन्ने र रोगबाट पीडित बनेका व्यक्तिहरुप्रति समाजले देखाउने व्यवहार पनि पूर्वाग्रही हुने गर्दछ । यस्तो हुनुमा व्यक्तिवादी चरित्र भएकाहरुले गरेको सामूहिक वर्गीकरण पनि उत्तिकै हाबी हुनु हो ।’

त्यसै गरी सोही जिज्ञासामा यस पंक्तिकारसँग कुरा गर्दै त्रि.वि., पद्मकन्या बहुमुखी क्याम्पस, स्नातकोत्तर मनोविज्ञान (एम्.ए.साइकोलोजी) कार्यक्रमका संयोजक एवम् सह–प्राध्यापक कविता खातीको कथन छ– ‘अहिले कोरोना महामारी मानिसको कल्पनाभन्दा बाहिरको घटना भयो, त्यससँगै प्रचारप्रसार गरिएका समाचार÷सन्देशहरु पनि नकारात्मक किसिमले आएकाले मानिसहरुको मनमा डरले घर बनायो, अझ भनौं आतंकित बनायो ।

साथै सर्वसाधारणलाई कोरोना र यसको प्रकोपबारे पूर्ण ज्ञान पनि भएन, जसका कारण सुने÷देखेका घटनाहरुबाट आत्मविश्वास घट्ने र सोही कारण रोग–प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउने भएकाले समस्या देखियो । यसरी आफू कसरी सुरक्षित होइन्छ भन्ने मात्र सोच्दा अरुको वास्ता नगरी नकारात्मक बन्ने र समूह नै प्रतिक्रियात्मक बन्ने अवस्था आउँछ र अहिले त्यही भएको हो ।’

सामाजिक मनोविज्ञानका दृष्टिले समाजमा यस्ता समस्याको समाधानका लागि राज्य तथा समाजसँग प्रत्यक्ष सम्पर्कमा रहेका सरोकारवाला संघसंस्थाका तर्फबाट सकारात्मक सन्देश÷सूचना प्रवाह गर्नुपर्ने सुझाव मनोवैज्ञानिक सह–प्राध्यापक खातीको छ, उहाँको विचारमा जनचेतना जगाउने मुख्य दायित्व राज्यको हो ।
त्यस्तै समाजमा देखिएको कोरोनाभाइरस महामारीका बारेमा प्रवाहित गल्ती सूचनालाई सच्याउने तथा मानिसलाई सचेत बनाउने हो भने यति धेरै आतंकित वातावरणबाट सहजतातिर लग्न सकिने विश्वास दिलाउनुहुन्छ अर्का मनोवैज्ञानिक जोशी ।

बेलायत, जर्मनी र न्यूजिल्यान्डलगायतका मुलुकमा हाल भइरहेका प्रदर्शनहरु पनि अनावश्यकरुपमा आतंकित पार्ने खालको प्रचारप्रसार र मानिसलाई कोरोनाका नाममा गरिएको अनावश्यक नियन्त्रण, स्वतन्त्रता हरणविरुद्ध हुन् भन्नुहुन्छ उहाँ । यस्तो अवस्था ननिम्तियोस् भन्नका लागि आतंकित पार्नुभन्दा चेतना जागृत गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्