सक्किगोनिले सघायो प्रहरीलाई



कोरोना संक्रमणबाट हुने कोभिड–१९ बाट जनतालाई जोगाउन अग्रपंक्तिमा खटिने प्रहरीलाई सहयोग गर्ने क्रममा लोकप्रिय हास्य टेलिशृंखला सक्किगोनि र चक्रपथ सरसफाइ महाअभियानले सोह्रखुट्टे प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सक्किगोनि र चक्रपथ सरसफाइ महाअभियानका संयोजक तथा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनको तर्फबाट केही थान स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरिएको सक्किगोनिका कलाकार तथा निर्देशकमध्येका एक अर्जुन घिमिरे ‘पाँडे’ ले जानकारी गराएका छन्।

जनताको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर सेवा दिने सुरक्षाकर्मीको मनोबल उच्च पार्ने सोचका साथ सहयोग गरिएको र यसलाई निरन्तरता दिइने अर्जुनले बताए। उनका अनुसार हाललाई सोह्रखुट्टे प्रहरीलाई १ सय ५० थान मास्क, १५ लिटर स्यानिटाइजर र ५० थान फेससिल प्रदान गरिएको छ। प्रहरी उपरीक्षक दीपक खड्का र निरीक्षक राजकुमार भट्टलाई ती सामग्री प्रदान गरिएको थियो। सोह्रखुट्टे प्रहरीले सहयोगका लागि आभार प्रकट गरेको छ।

घिमिरेका अनुसार कोरोना कहरका बीच प्रसारण रोकिएको सक्किगोनि स्थिति सामान्य हुनासाथ पुनः प्रसारणमा आउनेछ। सरकारले कोरोना जोखिमका कारण लगाएको लकडाउनका समयदेखि यो सिरियल निर्माण हुन नसकी प्रसारण बन्द भएको छ। सक्किगोनिमा करिब डढ सय जनाको युनिट हुने भएकाले नेपालमा कोरोनाको जोखिमका कारण लगाइएको लकडाउनका समयदेखि सिरियल निर्माण गर्न नसकिएको अर्जुनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्