समाज रुपान्तरणमा पुस्तकालय : नारा र सार्थकता



विजय शर्मा
समाज व्यक्ति–व्यक्तिबीचको आपसी सम्बन्ध तथा सामूहिक ऐक्यबद्धताबाट बनेको हुन्छ । सामाजिक प्राणी भएकोले मानव जन्मदेखि मृत्युसम्म त्यही समाजमा रहन्छ । मानिसमा भएको अन्तर्निहित उच्च चेतनाका कारणले मानिस अन्य प्राणीभन्दा फरक छ । मानिसमा भएको चेतनाकै कारणले उसले सबै जीवजन्तुहरूलाई उछिन्दै यस पृथ्वीमा उच्च स्थान बनाएको छ । त्यही सामाजिक क्रियाकलापले गर्दा उसले सामाजिक सम्बन्धका सञ्जालहरू चौतर्फी फैलाउँदै गएको पाइन्छ । त्यसै अनुरूप समाजको विकासको परिकल्पना गर्दै विचार आदानप्रदान गर्ने गरेको पनि देखिन्छ । समयको विकासक्रम सँगसँगै मानिसले आफ्ना भावना र विचारहरू सम्प्रेषण गर्ने सरल र प्रभावकारी साधनको रूपमा लिपिका साथै अक्षरको पनि विकास गर्न लागेको हो ।

समाजमा लिपि÷वर्णका आविष्कारसँगै प्रकाशनको युग बिस्तारै आरम्भ भएको हो । प्रकाशित सामग्रीहरू भावी पुस्ताका लागि पनि आवश्यकता महसुुस गरी सङ्कलन र संरक्षण गर्ने कार्य पनि थालनी भएको हो । त्यसैको फलस्वरूप समाजमा पुस्तकालयको स्थापनाको जग देखा प¥यो । स्थापित पुस्तकालयहरू समाज परिवर्तनका लागि अध्ययन, अनुसन्धान तथा खोज गर्ने स्थान हुन पुगे । जुन खोज, अनुसन्धान समाज रूपान्तरणको लागि कोसेढुङ्गा साबित भएको पाइन्छ ।

समाजको ज्ञान र विचार सङ्कलन गरी सम्प्रेषण गर्ने काम पुस्तकालयले अघि बढाएका हुन् । जसले गर्दा मानिसमा शिक्षा र विचारको आदानप्रदान गर्न सजिलो भयो । समाजमा सांस्कृतिक र वैचारिक परिपक्वताको उत्पादन थलो नै पुस्तकालय बनेपछि पुस्तकालय र समाजको सम्बन्ध चेतनायुक्त संस्कृतिको रूपमा विकास हँुदै गएको पाइन्छ ।

समयको परिवर्तनसँगै पाठकको आवश्यकताबमोजिम पुस्तकको सङ्कलन र सेवामा पनि परिवर्तन हँुदै आएको छ । त्यसैले पुस्तकालयलाई पुस्तक तथा अन्य अध्ययन सामग्रीमा सङ्कलित विषय र कार्यअनुसार पुस्तकालय, वाचनालय, डकुमेन्टेसन केन्द्र, स्रोत केन्द्रलगायतका आधुनिक नामले पनि सम्बोधन गर्न लागिएको छ । यस किसिमका विविध नामले सम्बोधन गरे तापनि ज्ञान तथा सूचनाको छनोट, सङ्कलन, व्यवस्थापन र संरक्षण गरेर पाठक तथा अनुसन्धानकर्ताहरूको इच्छा, चाहना र आवश्यकताको बोध गरी ज्ञान र सूचनाको सम्प्रेषण गर्ने एकमात्र गरिमामय संस्था पुस्तकालय बनेको छ ।

विद्वान्हरूले पुस्तकको सङ्कलन र प्रदान गर्ने सेवाका आधारमा सार्वजनिक, सामुदायिक, शैक्षिक, राष्ट्रिय तथा विशेष पुस्तकालय भनी वर्गीकरण गरेको पाइन्छ । जसमा राष्ट्रिय पुस्तकालय राष्ट्र गौरवका साहस, सामुदायिक÷सार्वजनिक पुस्तकालय समाजको आत्मा, शैक्षिक पुस्तकालय शैक्षिक संस्थाको धड्कन र विशेष पुस्तकालय व्यावसायिक अनुसन्धानकर्ताका लागि रक्तसञ्चार बनेका छन् ।

विश्वमा मानव सभ्यता र संस्कृतिको विकास सँगसँगै पुस्तकालयको पनि विकास भएको पाइन्छ । परम्परागत समाजमा माटाका खपेटामा रहेका ज्ञान–सामग्रीहरू आधुनिक समाजमा आइपुग्दा विद्युतीय माध्यममा पुगेका छन् । त्यसै गरी मठ, मन्दिर, चैत्य, गुम्बा, विहार आदिबाट शुरू भएको पुस्तकालय अहिले अमूर्त पुस्तकालय अर्थात् भर्चुअल÷अनलाइन पुस्तकालयका रूपमा विकास भइसकेका छन् । समाजमा आएको सूचना प्रविधिको अभूतपूर्व विकासले पुस्तकालयका क्षेत्रमा पनि प्रभाव पारेको छ । आधुनिक समाजमा आइपुग्दा विद्वान्हरूले कुनै एक ठाउँको कुनामा बसेर विश्व भ्रमण गर्न सक्ने साधनका रूपमा पुस्तकालयलाई लिन थालेका छन् ।

हाल पुस्तकालय र समाज एकै सिक्काका दुई पाटा भएका छन् । यी दुवै एक–अर्कोमा अन्तर्निहित भएका छन् । समाजविनाको पुस्तकालय र पुस्तकालयविनाको समाजको कुनै अर्थ रहँदैन । पुस्तकालयहरू आधुनिक समाजको सभ्यता निर्माणको आधारस्तम्भ भएका छन् । सांस्कृतिक अग्रगमनका लागि समाजको उत्पादन नै पुस्तकालय भएको छ । पुस्तकालय हाम्रो संस्कृतिको संरक्षण मात्र होइन, यो त सांस्कृतिक सञ्चार र सम्प्रेषणको क्षितिज फराकिलो पार्ने थलो भएको छ ।

पुस्तकालयले समाजमा बौद्धिक धरातल बढाउन र वैचारिक स्वतन्त्रताको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । पुस्तकालयले लेखक र पाठकबीचको सम्बन्धमा सेतुको काम गर्दछ । त्यो सेतु, सूचना, चेतना, ज्ञान र यसको आदानप्रदान गर्ने चौबाटो हो । मानवीय सम्बन्धलाई निकट बनाउन हामीमा फराकिलो सामाजिक चेतनाको विकास हुनुपर्छ । सामाजिक चेतनाको प्रवद्र्धनका लागि पुस्तकालयको प्रवद्र्धन एक अनिवार्य पूर्वसर्त हो ।

ढुङ्गे युगबाट शुरू भएको मानव समाज सूचना प्रविधिको युगसम्म आइपुगेको छ । समाज परिवर्तनमा सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले समाजमा रहेका सामाजिक कुरीति, कुविचारको विरुद्धमा पुस्तकालय स्थापित भएको पाइन्छ । समाजलाई सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिकलगायतका विविध पक्षहरूमा सक्षम बनाई समाज परिवर्तन गर्ने आधार पुस्तकालय नै बनेका छन् । जुन देशमा पुस्तकालयलाई उच्च प्राथमिकतामा राखिन्छ त्यस देशले छिटो रूपान्तरणको अनुभूति गर्न पाएको उदाहरण विश्वमा धेरै छन् ।

विकसित देशहरूले पुस्तकालयलाई उच्च प्राथमिकता दिँदै आएका छन् । युरोप, अमेरिकालगायतका विकसित देशहरूले शिक्षित समाजबाट नै समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गरे । त्यसैले टोल–टोलमा पुस्तकालयहरू स्थापना गर्ने प्रतिस्पर्धा नै चलेको पाइन्छ । राष्ट्रको इतिहास, संस्कृति, कला, भूगोल, साहित्य, विज्ञान आदिको जगेर्ना गर्ने थलो पुस्तकालय बनाएको हो । तिनै पुस्तकालयहरूले विश्वप्रसिद्ध विद्वान्, दार्शनिक, साहित्यकारहको जन्म गरायो ।

कुनै समय पेकिङ विश्वविद्यालयका सहायक लाइब्रेरियन माओत्सेतुङ माक्र्सवाद–लेनिनवादबारे स्वअध्ययन गर्दागर्दै अन्ततः प्रखर कम्युनिस्ट नेता तथा विचारक हुन पुगे । त्यसै गरी अमेरिकी इतिहासका महान् व्यक्तित्व बेन्जामिन फ्रेङ्कलिनको लाइब्रेरी कम्पनी अफ फिलाडेल्फिया पुस्तकालयको स्थापनामा योगदान रहेको छ । इरानका पाँचौं राष्ट्रपति महम्मद खतामीले इरानको राष्ट्रिय पुस्तकालयका प्रमुख भई काम गरेको पाइन्छ ।

अमेरिकी आन्तरिक गुप्तचर संस्था एफ.बी.आई.का पूर्वसंस्थापक निर्देशक जे. एडगर हुभर लाइब्रेरी अफ कङ्ग्रेसमा क्याटलग लाइब्रेरियनका रूपमा कार्यरत रहेको पाइन्छ । भनिन्छ, हुभर जुन पुस्तकमा हात प¥यो त्यो पुस्तक पढिछाड्ने गर्दथे । कुनै पनि सफल व्यक्तिका पछाडि पुस्तकालयको भूमिका महत्त्वपूर्ण छ भन्नका लागि अरु थुप्रै त्यस्ता व्यक्तिका जीवनी आफैंमा पुस्तकालय हुन् । त्यसैले समाजको रूपान्तरणका लागि खोज तथा अन्वेषणको कार्य गर्ने आदर्श स्थान पुस्तकालय नै बनेको देखिन्छ ।

विश्वका विकसित देशहरूकै जस्तो स्थिति तत्कालै नेपालको हुन नसक्ला । परन्तु, देशमा स्थापित भएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र न्यायपूर्ण समाजको स्थापनाका लागि नागरिक चेतनाको विकास आवश्यक छ । नागरिक चेतनाको विकासविना समाजमा लोकतन्त्र र मानवअधिकारको रक्षा एवं संवद्र्धन सम्भव छैन । नेपाली समाजमा दिन–प्रतिदिन बढ्दो दण्डहीनता, अराजकता, अनुशासनहीनता तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन र जवाफदेहिता प्रभावकारीरूपमा स्थापित गराउनुपर्ने भएको छ । यस्तो परिस्थितिमा जनताको चेतनाको स्तर विकास गरी सभ्य समाज निर्माण गर्नु आजको टड्कारो आवश्यकता हो ।

लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प नेपालको संविधानले आत्मसात् गरेको छ । संविधानमा समाजवादलाई आत्मसात् गरेका राजनीतिक नेतृत्वहरू सिद्धान्त, विचार, नीति–नियमभन्दा पनि पद र प्रतिष्ठाको लडाइँमा लागिपरेको पाइएको छ । देशमा सुशासन, विकास र समृद्धिको विषयलाई मुख्य आधार बनाउनुपर्र्नेे नेतृत्वको ध्यान नेता–कार्यकर्ताको संरक्षणतिर लागेको हो कि भन्ने भान भएको छ । नेतृत्वमा मात्र होइन, आम जनसमुदायमा पनि नेतालाई दोष देखाएर आफू कर्तव्यविमुख भई बस्ने प्रचलनले व्यापकता पाएको छ । त्यसैले यस्तो कुसंस्कारको बीजारोपणलाई अन्त्य गरी लोकतान्त्रिक मूल्य–मान्यता अभिवृद्धि गर्न समाज शिक्षित तथा जागरुक हुनु अति आवश्यक छ ।

जनताको शैक्षिक स्तर वृद्धि गर्न पुस्तकालय नै एक महत्वपूर्ण माध्यम हो । यसले समाजमा अध्ययन, अनुसन्धान, खोज तथा अन्वेषण संस्कृतिको विकास गर्न मद्दत गर्दछ । देशको दूरदराजमा रहेका जनतालाई लोकतान्त्रिक किरणहरू पु¥याउन शिक्षाको पहुँचमा अभिवृद्धि गर्नुपर्दछ । शिक्षित समाजविना समृद्ध नेपालको कल्पना गर्नु दिवास्वप्न मात्र हुनेछ । त्यसैले समाज रूपान्तरणका लागि आधुनिक र व्यवस्थित पुस्तकालय निर्माणमा नेतृत्वको ध्यान जानु आवश्यक छ ।

नेपालमा आएको राजनीतिक परिवर्तनसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याएको उद्घोष भयो । तर बिडम्बना ! राष्ट्रको गौरवको रूपमा रहनुपर्ने नेपाल राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पपछि अहिलेसम्म बोरामा थन्किनुपरेको तीतो यथार्थ हामीसँग छँदै छ । आशा गरांै, छिट्टै समृद्ध नेपाल बनाउने सपना देखेको सरकारले राष्ट्रिय पुस्तकालयलाई अनिर्णयको बन्दी बनाएर राख्नेछैन । नेपाली कला–संस्कृति झल्कने भवनका साथ बोराका पुस्तकले छिट्टै अध्ययन, अनुसन्धानकर्ता पाउनेछन् । जब समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भ तिनै बोरामा थन्किएर रहेका पुस्तकहरू बन्नेछन् तब मात्र तेह्रौं पुस्तकालय दिवसले आत्मसात् गरेको ‘समाज रूपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य (नारा)ले सार्थकता पाउनेछ ।
(लेखक शर्मा त्रि.वि. केन्द्रीय पुस्तकालयमा अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्