आर्सेनललाई एफए कम्युनिटी शिल्डको उपाधि



एजेन्सी ।

आर्सेनलले इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति भएको फाइनलमा यस सिजनको इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सेनलले उपाधि जितेको हो ।

यससँगै आर्सेनलले नयाँ प्रशिक्षकको नेतृत्वमा दोस्रो उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय नथपि सोझै टाईब्रेकर मार्फत खेल विजेताको छिनाेफानो गरिएको थियो ।

जसमा आर्सेनलले बाजी मार्न सफल भयो । लिभरपुल भने पेनाल्टी सुटआउटमा अभागी बन्यो । लिभरपुलका खेलाडीले तेस्रो पेनाल्टी गुमाउँदा त्यसको फाइदा आर्सेनलले उठायो । आर्सेनलका लागि पाँचौं र निर्णायक पेनाल्टीमा पियरे इमरिक अौबामेयाङले गोल गरेपछि लिभरभपुलले पाँचौं पेनाल्टी हान्न नपाई आर्सेनलले उपाधि उचाल्यो । त्यसअघि खेलको निर्धारित नब्बे मिनेटको समयमा आर्सेनलले खेलमा सुरुवाती अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा आर्सेनलले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो ।

अौबामेयाङले शक्तिशाली प्रहारमा उत्कृष्ट गोल गरेका थिए । उनले मैदानको माथिल्लो क्षेत्रको डीबक्स लाइनबाट हानेको कडा प्रहारले सोझै लिभरपुलको गोलपोस्टको जाली चुमेको थियो । उनको उक्त प्रहारलाई लिभरपुलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै मौका नै पाएनन् । तर, खेलको ७३औं मिनेटमा लिभरपुलका लागि ताकुमी मिनामिनोले बराबरी गोल फर्काएपछि गरेर खेल टाइब्रेकरसम्म लम्बिएको थियो ।

यो समेत आर्सेनलले १५औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ । यता, पराजित लिभरपुल भने उक्त उपाधिको १५औं पटकका च्याम्पियन हुन् ।

प्रतिक्रिया दिनुहोस्