चन्द्रकलामाथि आक्रमण गर्नेलाई कारबाही गर्न राखेपको माग



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद्ले एथ्लेटिक्सकी कीर्तिमान खेलाडी चन्द्रकला लामगादेमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्न माग गरेको छ।
राखेपले बिहीबार विज्ञप्ति जारी गर्दैै जातीय विभेद गरेर कुटपिट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। राखेपका उपाध्यक्ष शिव कोइरालाले हस्ताक्षर गरेको सो विज्ञप्तिमा चन्द्रकलामाथि भएको जघन्य एंव मानवताविरोधी कार्य हुनु प्रचलित संविधान कानुन एंव राज्यलाई नै चुनौती दिन खोजेको उल्लेख गरिएको छ।
संविधान प्रदत्त नागरिक हक अधिकार एंव राज्यलाई समेत चुनौती दिने गरिएको सो घटनाको दोषीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण हुन जरुरी रहेको ठहर गरेको छ। कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिषद्बाट आर्थिक सहयोगको प्रतिबद्धतासमेत जनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षले जारी गरेको यो नै पहिलो विज्ञप्ति हो। यसअघि राखेपको विज्ञप्ति सदस्य–सचिव वा राखेप प्रवक्ताले जारी गर्ने चलन थियो। राखेपको विज्ञप्ति प्रचार शाखामार्फत सार्वजनिक हुँदै आएको थियो। तर, पहिलोपटक उक्त चलनलाई तोड्दै उपाध्यक्षले विज्ञप्ति जारी गरेका हुन्। राखेप उपाध्यक्ष कोइरालामार्फत जारी गरिएको विज्ञप्तिको चलानी नम्बरसमेत उल्लेख गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्