जनप्रतिनिधिहरूको ताला स्थानीयले तोडे



भद्रपुर, (नेस)
झापाको कचनकवल गाउँपालिकामा जनप्रतिनिधिहरूले लगाएको ताला स्थानीयले फुटाएका छन् ।विभिन्न माग राख्दै नेकपा र कांग्रेस समर्थक जनप्रतिनिधिहरूले गाउँपालिका कार्यालयमा बिहीबार बिहान लगाएको ताला करिब दुई घण्टा बित्न नपाउँदै स्थानीयले फुटाइदिएका हुन् ।

गाउँपालिकाले सिफारिस दस्तुर, राजस्वलगायतमा नागरिकलाई चर्को मार लगाउँदै कर वृद्धि गरेको, वडाबाट हुने काम वडाकै सिफारिसमा हुनुपर्नेमा गाउँपालिकाले अनावश्यक हस्तक्षेप गरेको, चालँ आर्थिक वर्षको बजेट विनियोजन गर्दा वडामा बजेट सिलिङ कम दिएको लगायतका माग राख्दै आन्दोलनरत जनप्रतिनिधिहरूले कार्यालय खुल्नासाथ अध्यक्षको कार्यकक्ष रहेको भवन र प्रशासनमा ताला लगाएका थिए ।

जनप्रतिनिधिहरूको आपसी कुरा नमिलेको भए बैठक बसेर समाधान गर्नुपर्नेमा नागरिकको काम रोकिन नहुने भन्दै ताला तोडिदिएको कचनकवल ६ बनियानीका भँपाल दंगालले बताउनुभयो । ४ जना वडाध्यक्षसहित १४ परिषद् सदस्यले गाउँपालिकामा बिहीबार तालाबन्दी गरेका थिए । असन्तुष्ट पक्षले साउन २९ गते निर्णय सच्याउन माग राखी ५ दिनको समयसीमा दिएका दिए ।

गाउँपालिकाले चालँ आर्थिक वर्ष ०७७÷७८ का लागि असार ३१ गते ५३ करोड ८९ लाख ६० हजार १ सय रुपियाँको बजेट बहुमतले पारित गरिसकेको छ ।

७ वटा वडा रहेको कचनकवलमा दुई जना मानेनित सदस्य गरी ३८ जना रहेका छन् । ४ र ७ नम्बर वडाध्यक्षसहित ८ जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्बर वडाध्यक्षसहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् भने बाँकी राप्रपाका रहेका छन् । कांग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले बजेट पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्