देशले भोगिरहेका प्राकृतिक विपत्ति



वर्षायामसँगै देशभर बाढीपहिरोका घटना उल्लेख्यरुपमा वृद्धि भइरहेको छ । कोरोना महामारीको त्रासमा सिंगो देश जुधिरहेका बेला नेपालमा बाढीपहिरोका कारण दर्जनौँ मानिसको मृत्युको खबरले विक्षिप्त बनाएको छ । बर्सेनि यसै गरी वर्षायाममा अखबारका पानाहरु रंगिने गरेका छन् । सरकारको पूर्वतयारी र जोखिमयुक्त बस्तीको पहिचान गरी उनीहरुलाई सुरक्षित राख्नका लागि गरिने कार्यनीतिको समस्या देखिँदै आएको छ । पहाडी क्षेत्र मात्र नभएर तराई भूभागमा पनि डुबानको समस्या बर्सेनि यस्तै छ ।

यसरी अनाहकमा देशका जनताले ज्यान गुमाउँदा सरकारको लापरबाही देखिन्छ । जोखिमयुक्त बस्तीको पहिचान गरी उचित बासस्थानको व्यवस्थासहित स्थानान्तरण गर्दा सर्वसाधारण सुरक्षित हुन्छन् । हरेक प्राकृतिक प्रकोपले नेपाललाई समय–समयमा डस्दै आइरहेको छ । वर्षातको भेलले तराईको समथर भूभाग डुबान त कहिले पहिरोले पहाडै सिनित्तै पारिदिएको छ । हिमपहिरोले हिमालै रित्याइदिएको छ ।

यी असामान्य परिवेशमा पनि हामी सबै सँगै एकजुट भएर सामना गरिरहेका छौँ । हामीमा भ्रातृत्व अझै जीवितै छ । सरकारको उपस्थितिपछि जनताले राहतको महसुस गर्नेछन् । जनताको जीउधनको रक्षा गर्नु सरकारको दायित्व हुन्छ । सरकार जनताप्रति सदैव उत्तरदायी हुनै पर्दछ ।

सरकारले जनताको अभिभावकीय भूमिका निभाउन सक्नुपर्दछ । कोरोना महामारीदेखि विपत् न्यूनीकरणमा चुकिरहेको सरकारका कारण जनता निराशामा जाने खतरा रहेको छ । जनता हरेक विपत्तिमा पीडित भैरहने र सरकार हमेसा मुकदर्शक भैरहने नियतिको सामना कहिलेसम्म गर्नुपर्छ ? अब सरकारले जनताका गुनासा र पीडा सुनेर, बुझेर जनताप्रति उत्तरदायी बन्न जरुरी देखिन्छ ।
समुन्द्र थापा, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्