इंग्ल्यान्डले दशकपछि पाकिस्तानसँग सिरिज जित्यो



लन्डन, (एजेन्सी)
एक दशकपछि इंग्ल्यान्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज जितेको छ। इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १–० ले जितेको हो। मंगलबार राति तेस्रो तथा अन्तिम टेस्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिजमा जितको नतिजा निकालेको हो।

पछिल्लोपटक इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई टेस्ट सिरिजमा हराएको थियो। त्यतिबेला इंग्ल्यान्डले चार टेस्ट सिरिज ३–१ ले जितेको थियो। त्यसयता भने इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन।

इंग्ल्यान्डका विकेटकिपर जस बटलर र पाकिस्तानका मोहम्मद रिजवान प्लेयर अफ द सिरिज चुनिए। पहिलो टेस्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। इंग्ल्यान्ड र पाकिस्तानबीच थप तीन टी–२० सिरिज हुनेछ। पहिलो खेल अगस्ट २८, दोस्रो ३० र अन्तिम सेप्टेम्बर १ मा हुनेछ।

एन्डरसनको कीर्तिमान
इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा ऐतिहासिक ६ सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन्। उनी टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर बनेका छन्।

पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेस्टको पाँचौं दिन कप्तान अजहर अलीलाई जो रुटबाट ३१ रनमा क्याच गराउ“दै एन्डरसन टेस्टमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर बनेका हुन्। समग्रमा टेस्टमा ६ सय विकेट पूरा गर्ने चौथो बलर बनेका छन्। योसँगै जेम्स एन्डरसन टेस्ट वरीयतामा आठौं स्थानमा पुगेका छन्।

उनी ६ स्थानमाथि उक्लँदै शीर्ष १० मा पुगेका थिए। टेस्ट क्रिकेटमा ६ सय विकेट लिने चौथो बलर बनेका एन्डरसनले ७ सय ८१ रेटिङ पाएका छन्। जसका कारण उनी फेरि आठौं स्थानमा पुगेका छन्।शीर्ष १० को वरीयतामा एन्डरसनको मात्र परिवर्तन भएको छ। अरू खेलाडीको वरीयता भने यथावत् रहेको छ।

यसअघिटेस्टमा ६ सय विकेट तीन स्पिनरले पूरा गरेका थिए। सन् २००३ देखि टेस्ट क्रिकेट खेल्दै आएका एन्डरसनले १ सय ५६ टेस्टखेलमा यो उपलब्धि हात पारेका हुन्। एन्डरसनको टेस्टमा उत्कृष्ट प्रदर्शन ७–४२ छ। उनले २९ पटक पाँचभन्दामाथि विकेट लिएका छन्।

टेस्टमा सर्वाधिक विकेट लिने कीर्तिमान श्रीलंका स्पिनर मुथैया मुरलीधरनको नाममा छ। उनले सन् १९९२ देखि २०१० सम्म १ सय ३३ टेस्टमा ८ सय विकेट लिएका थिए। दोस्रो स्थानमा अस्ट्रेलियाका लेग स्पिनर सेन वार्न रहेका छन्। वार्नले १९९२ देखि २००७ सम्म १ सय ४५ टेस्टमा ७ सय ८ विकेट लिएका छन्।तेस्रो स्थानमा रहेका भारतीय पूर्वस्पिनर अनिल कुम्बलेले १९९० देखि २००८ सम्म १ सय ३२ टेस्ट खेलमा ६ सय १९ विकेट लिएका छन्।

सर्वाधिक विकेट लिने तीव्र गतिका बलरमा एन्डरसनपछि अस्ट्रेलियाका पूर्वखेलाडी ग्लेन म्याक्ग्रा छन्। म्याक्ग्राथले १९९३ देखि २००७ सम्म १ सय २४ टेस्टमा ५ सय ६३ विकेट लिएका छन्।अन्य तीव्र गतिका बलरमा वेस्टइन्डिजका कोर्टनी वाल्सले ५ सय १९, इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ५ सय १४ र दक्षिण अफ्रिका डेल स्टेनले ४ सय ९३ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्