बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा



काठमाडौं, (नेस)
गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिएको छ।

पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्। नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले बुधबार आफ्नै खर्चमा खेलाडी र प्रशिक्षकको जनही १ लाख रुपियाँको कोरोना बीमा गरिदिएका हुन्।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३औं सागमा नेपालका मिनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए।

त्यसैगरी, ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए।

त्यसैगरी, १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्वबक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन्। कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरह“दा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्वबक्सर श्रेष्ठले बताउनुभयो। यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्