सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ



काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ ।

उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गर्नुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिनुभयो । जमैका तलावाजबाट खेलिरहनुभएका उहाँले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिनुभयो । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल हुनुभयो । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो ।

सन्दीपले खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दै मात्र तीन रन दिनुभएको थियो । खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उहाँले चार रन खर्चेर एक विकेट लिनुभयो । सो ओभरको पहिलो बलमा नै उहाँले सिर्फान रदरफोर्डको विकेट लिनुभयो । रदरफोडलाई एक रन बनाएको अवस्थामा सन्दीपले आसिफ अलीको हातबाट क्याचआउट गराउनुभएको थियो । खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उहाँले मात्र एक रन विपक्षी खेलाडीलाई बनाउन दिनुभयो । खेलको १६औं ओभरमा सन्दिपले आफ्नो अन्तिम ओभर बलिङ गर्ने क्रममा चार रन खर्चिनुभयो । आजको खेलमा उहाँको बलमा विपक्षी खेलाडीले चौका र छक्का हिर्काउन सक्नु भएन ।

यसअघि पहिला ब्याटिङ गर्दै गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउन सक्यो । जमैकाले १०९ रनको विजय लक्ष्य ५ विकेटको नोक्सानीमा १८ ओभरमा पूरा गर्यो । जमैकाका लागि मुजिब उर रहमान तथा फिडेल इडवार्डले तीन÷तीन विकेट लिनुभयो । गएनाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाउनुभयो ।

यस्तै १०९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि नकु्रमह बोनरले सर्वाधिक ३० तथा ग्लेन फिलिप्सले २६, जेरमाइन्ड ब्लाकवुडले २३ तथा आन्द्रे रसेलले अविजित २३ रन बनाउनुभयो । बलिङतर्फ गुएनाका नविन उल हकले दुई तथा इमरान ताहिर, अश्मद निद र किमो पउलले एक एक विकेट लिनुभयो । जितसँगै सन्दीपको टोली जमैका अङ्क तालिकाको चौथो स्थानमा उक्लेको छ । जमैकाले हालसम्म दुई खेलमा जित तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । यस्तै गुएना आजको खेलमा हारे पनि तेस्रो स्थानमा छ । गुएनाले हालसम्म पाँच खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । सन्दीप टोली जमैकाले अब पाँचौँ खेल बिहीबार बिहान सवा तीन बजे बार्बाडोस ट्रिडेन्टससित खेल्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्