बायर्नले उपाधि जित्दा बार्सिलोनालाई भार



लन्डन, (एजेन्सी)
बायर्न म्युनिखले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्दा बार्सिलोनालाई आर्थिक भार पर्ने सम्भावना बढेर गएको छ।
फिलिपे कोउटिन्होको उत्कृष्ट प्रदर्शनमा बायर्नसँग ८–२ को लज्जास्पद हार व्यहोरेको बार्सिलोनालाई बायर्नले उपाधि जित्दा पनि आर्थिक नोक्सानी हुने सम्भावना बढेको हो। प्रतियोगितामा बार्सिलोनाबाट बायर्नमा लोनमा पुगेका कोउटिन्हो पनि सामेल थिए। कोउटिन्होले फाइनलमा पनि दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै खेलेका थिए। सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट कोउटिन्हो १ सय ४२ मिलियन पाउन्डमा बार्सिलोना आएका थिए। तर, बार्सिलोनामा पहिलो सिजन अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनी एक सिजनका लागि लोनमा बायर्न पुगेका थिए। बायर्नका लागि पनि औसत नै प्रदर्शन गरिरहेका कोउटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै बार्सिलोनाविरुद्ध प्रभावशाली प्रदर्शन गरेका छन्।
कोउटिन्होले बायर्नबाट च्याम्पियन्स लिग जितेपछि हाल बार्सिलोना र इंग्लिस क्लब लिभरपुलबीच आर्थिक मुद्दालाई लिएर विवाद बढ्ने देखिएको छ। बार्सिलोनाबाट एकवर्षे लोनमा बायर्न पुगेका कोउटिन्होले च्याम्पियन्स लिग जित्दा बार्सिलोनाले कोउटिन्होको पूर्वक्लब लिभरपुललाई ५ मिलियन युरो रकम तिर्नुपर्ने सर्त राखेको थियो। सन् २०१८ मा बार्सिलोनाले कोउटिन्होलाई १ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट अनुबन्ध गर्दा दुई क्लबबीच सम्झौतामा दुई सिजनभित्रमा कोउटिन्होले च्याम्पियन्स लिग जिते बार्सिलोनाले लिभरपुललाई बोनसबापत ५ मिलियन युरो रकम तिर्नुपर्ने सर्त राखिएको थियो। जसअनुसार अहिले लिभरपुल बार्सिलोनासँग कोउटिन्होको नामबाट ५ मिलियन माग गर्ने तयारीमा छ। तर, बार्सिलोना भने लिभरपुललाई सजिलै ५ मिलियन तिर्न तयार छैन। कोउटिन्होले च्याम्पियन्स लिग बायर्नबाट जितेकाले ५ मिलियन तिरिराख्न जरुरी नभएको बार्सिलोनाले तर्क राखेको छ।
तर, लिभरभपुल त्यो मान्ने पक्षमा छैन। सम्झौता हुँदा दुई क्लबबीच ५ मिलियनमा सहमति भए पनि कोउटिन्होले बार्सिलोनाबाट च्याम्पियन्स लिग जिते वा लोनमा बाहिरबाट जिते भन्ने कुरा खुलाइएको छैन। मात्रै उनले च्याम्पियन्स लिग जितेको खण्डमा मात्रै भनिएको छ। यस कुरालाई स्पष्ट पार्ने प्रयास त्यो बेला सम्झौता हुँदा भएको थिएन।
इंग्लिस मिडियाका अनुसार भने पर्याप्त आधार भएका कारण लिभरपुलले बार्सिलोनाबाट मुद्दा लडेर भए पनि सम्झौताअनुसार रकम लिन सक्ने बताइएको छ। सम्झौतामा बार्सिलोनाबाटै जिते मात्र ५ मिलियन पाउने उल्लेख नभएकाले पनि लिभरपुलले यही कुरालाई लिएर निकाल्ने पक्का छ। लिभरपुलको अर्को आधार के छ भने, बार्सिलोनाले कोउटिन्होलाई लोनमा बायर्न पठाएपछि लोनबापतको रकमबाहेक आकर्षक बोनस रकमसमेत पाउनेछ।
बायर्न उपाधिविहीन नै बनेको भए पनि बार्सिलोनाले सामान्य सम्झौताअनुसार रकम पाउँछ। तर, कोउटिन्होले बायर्नबाट च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जितेकाले थप आकर्षक बोनस पाउनेछ। स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले बायर्नबाट कोउटिन्होले च्याम्पियन्स लिग जितेकाले त्यसबापत मात्रै ३ दशमलव ५ मिलियन रकम प्राप्त गर्ने सम्झौता छ। साथै, कोउटिन्होले पाएका थप सफलताका आधारमा बार्सिलोनाले बायर्नबाट कुल ४ दशमलव ५ मिलियन रकम प्राप्त गर्नेछ। यो रकम कोउटिन्होले बायर्नबाट च्याम्पियन्स लिगसहित ट्रिबेल जित्दाको सफलताको बोनस मात्रै हो।
बार्सिलोनाले यसरी कोउटिन्होका नाममा बायर्नबाट आकर्षक रकम बोनसबापत लिने हुँदा लिभरपुलले बार्सिलोनाबाट पनि बोनस रकम पाउने हक राख्छ। र, कानुनीरूपमा लिभरपुल यसमा बलियो अवस्थामा रहने दाबी इंग्लिस मिडियाले गरेका छन्। यो लाइनबाट जाँदा पनि लिभरपुलले बार्सिलोनाबाट ५ मिलियन रकम लिने प्रशस्तै आधार रहेको इंग्लिस मिडियाले जनाएका छन्।
तर, हालसम्म लिभरपुल र बार्सिलोनाबीच ५ मिलियनको विषयमा औपचारिक छलफल वा लेनदेनका लागि प्रक्रिया अघि बढेको छैन। लिभरपुले एक महिनाभित्रमा बार्सिलोनासँग सम्झौताअनुसारको रकम माग गर्न सक्नेछ। त्यस्तै, बार्सिलोनाले पनि बायर्नसँग एक महिनाभित्रमा रकम माग गर्न पाउँछ।

प्रतिक्रिया दिनुहोस्