रोनाल्डिन्हो जेलमुक्त 



लन्डन, (एजेन्सी)  
जाली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्हो जेलमुक्त भएका छन्।
पाराग्वेको जेलमा परेका रोनाल्डिन्हो मंगलबार जेलमुक्त भएका हुन्। फर्जी राहदानी काण्डमा पाराग्वेको जेलमा थुनिएका रोनाल्डिन्होलाई न्यायाधीश गुस्ताभो अमरिल्लाले जेलमुक्त गर्ने फैसला गरेका थिए। रोनाल्डिन्होसँगै उनका दाजु राबर्टो पनि एकसाथ जेलबाट छुटेका छन्।
पाराग्वेको प्रहरीले रोनाल्डिन्हो र उनका दाजु राबर्टोलाई नक्कली राहदानी बनाएर पाराग्वे प्रवेशको आरोपमा गत मार्च महिनामा पक्राउ गरेको थियो। शुरुआतमा उनीहरूलाई थुनामा राखिए पनि पछि अदालतको आदेशअनुसार एउटा होटलमा सारिएको थियो। बितेको  चार महिनासम्म त्यहाँको एक होटलमा कैद गरिएका उनीहरूलाई जेलमुक्त गरिएको हो।
जेलमुक्त हुन रोनाल्डिन्होले ६९ हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ। यससँगै अब रोनाल्डिन्होले आफ्नो देश ब्राजिलका न्यायाधीशसमक्ष १ वर्षसम्म पेस हुनुपर्नेछ भने उनका दाजुको हकमा २ वर्ष लागू हुनेछ। पाराग्वेको अदालतले रोनाल्डिन्होले समाज वा देशमा हिंसा सिर्जना गर्ने काम नगरेको, यसअघि उनको कुनै आपराधिक पृष्ठभूमि र रेकर्ड पनि नरहेकाले रिहा गरिएको बताएको छ।
रोनाल्डिन्हो र उनका दाजु एकजना साथीको विशेष कार्यक्रममा भाग लिन नक्कली राहदानी बनाएर पाराग्वे प्रवेश गर्नेक्रममा पक्राउ परेका थिए। उनले आफ्नो ४०औं जन्मदिन जेलमै मनाएका थिए। रोनाल्डिन्हो र उनका दाजुलाई जेलमुक्त भएको ७ दिनभित्रमा पाराग्वे छाडिसक्न पनि आदेश दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्