मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग



वीरबहादुर बम, मुगु

हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । मुगु जिल्लामा रहेका खाद्यान्न तथा व्यापार कम्पनी शाखाको गोदाम र जिल्लामा रहेको खाद्यान्न डिपोहरुमा खाद्यान्न मौज्दात नभएपछि तत्कालका लागि ६ हजार क्विन्टल खाद्यान्न माग गरेको हो ।

जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाईमार्ग अथवा सडक मार्गबाट भए पनि छायानाथ–रारा नगरपालिकामा २ हजार क्विन्टल, सोरुमा १ हजार ५ सय, खत्याडमा १ हजार ५ सय र मुगुमकार्मारोङ गाउँपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो ।

वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउँमा अवरुद्ध भएकाले हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्नुको विकल्पबाहेक अन्य कुनै विकल्प नरहेकाले छिटोभन्दा छिटो खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन सरोकारवाला निकाय, प्रदेश सरकार सबै ठाउँमा जानकारी गरिसकेको प्रजिअ निरौलाले जानकारी दिनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका अनुसार गत आर्थिक वर्षमा ढुवानी गरेको सबै चामल बिक्री गरिसकिएको छ भने यो आवको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्काको प्रक्रियामा गएको छ ।

गमगढी बजारमा रहेको कम्पनीको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । उक्त खाद्यान्न दैवी प्रकोप, आपत्विपत् परेपछि मात्र वितरण गर्ने गरी गएको साउन महिनाको २८ गतेबाट सर्वसाधारणका लागि खाद्यान्न वितरणमा एक सार्वजनिक सूचना गरी बन्द गरिएको कम्पनीका प्रबन्धक कर्णबहादुर रावलले बताउनुभयो । रावलका अनुसार मुगुुका ५ वटा खाद्य गोदाम रित्तिएका छन् ।

प्रतिक्रिया दिनुहोस्