कोरोनासँगै डेंगु रोगबारे गम्भीर बनौँ



 

विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीसँगै नेपालमा बर्खाको समयमा डेंगुको प्रकोप पनि भुल्न नहुने रोगमध्ये एक हो । कोरोनाले तनाव दिइरहँदा डेंगुलाई बेवास्ता गर्दा अर्को खतरा निम्तिने डर हुन्छ । त्यसैले समयमै डेंगु रोगबारे सचेत हुन जरुरी छ ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिएको हो ।
एडिस जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । यसको संक्रमणमा शुरुवाती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्छन् । संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन् ।
रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ । रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुन सक्ने भएकोले बेलामा नै चिकित्सकको निगरानीमा उपचार गराउनु बुद्धिमानी हुनेछ ।
यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पिरिन तथा आइबुप्रोफेन भने खान हुँदैन । लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।
खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ । चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।
टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ–जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ । सफा पानीमा बस्ने यो प्रजातिका लामखुट्टेले दिनमा टोक्छन् । यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनुपर्छ । शरीर पूरा ढाकिने गरी कपडा लगाउनुपर्छ ।
लामखुट्टेको टोकाइबाट बच्न मलहमजस्ता सामग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । घरवरपर वा घरभन्दा बाहिर काम गर्न जाँदा लामखुट्टेले टोक्छ कि ध्यान पु¥याउनुपर्छ । झ्याल र ढोकामा जाली लगाएर बन्द राख्नुपर्छ । पानी राख्ने भाँडाहरु जस्तै– पानी ट्यांकी, गाग्री, दहीको कतरा, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ । लामखट्टेको नियन्त्रणका लागि घरवरपर पानी जम्न नदिन खाल्डाखुल्डी पुर्नुपर्छ । घर–आँगन सफा राख्नुपर्छ ।
– सीमा यादव, महोत्तरी ।

लोपोन्मुख चरा सारस
सारस नेपाललगायत दक्षिण एसिया र दक्षिण–पूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने चरा संसारकै ठूलो चराहरुमा गणना हुन्छ । यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाइँ सराइ गर्दैन । सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरालाई अंग्रेजीमा ‘सारस क्रेन’ भनिन्छ । वैज्ञानिक नाम ‘ग्रस एन्टिगन’ रहेको यो प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ । यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ ८ फिटसम्म पुग्छ ।
वयष्क सारस फुस्रो रंगको हुन्छ र यसको नांगो रातो टाउको हुन्छ तथा घाँटीको माथिल्लो भागमा नांगो खरानी–हरियो तालु हुन्छ । उडानका बेला काला मुख्य पखेटाहरु बाँकी पखेटासँग प्रस्ट फरक देखिन्छन् । बच्चाको टाउको र घाँटीतिर खियामैला रंगका प्वाँखहरू र माथिल्लो भाग खैरो चिन्हरू हुन्छन् । पुराना अल्पवयष्कहरू वयष्कजस्तै देखिने तर यिनको टाउको तथा घाँटीको माथिल्लो भाग फिक्का रातो र वयष्कको जस्तो हरियो तालु हुँदैन । यो उड्ने चरामध्ये सबैभन्दा अग्लो चरा हो । समान्यतया यसको तौल ५ देखि १२ किलोग्राम, उचाइ ११५ देखि १६७ सेन्टिमिटर तथा पंखेटा २२० देखि २५० सेन्टिमिटर हुन्छ ।
नेपालमा यसको मुख्य बासस्थान चितवन रहेको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले उक्त प्रजातिको सारसलाई संरक्षित पक्षीको सूचीमा समाविष्ट गरेको छ भने साइटिसले अनुसूची २ र आईयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । यो प्रजातिको पक्षी दलदल (सिमसार) क्षेत्रमा बसोबास गर्ने गर्दछ ।
यो प्रजाति नेपाललगायत विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । सारसको अण्डा, मासु र प्वाँखका लागि यसको अवैध सिकार हुने गरेको छ । प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या पनि दिन–प्रतिदिन घट्दै गइरहेको छ ।
– सुनिल विक, गुल्मी ।

 

प्रतिक्रिया दिनुहोस्