ऋषिपञ्चमीको पूजा कि महिलापनको उत्सव ?



  • हीरा दाहाल

ऋषिपञ्चमीलाई जसरी महिलाहरुको लागि महान् चाड भनेर सिकाइएको थियो त्यसरी नै महिलाहरुको अवहेलना गरिने संस्कार हो भनेर बिस्तारै बुझ्दै गएको अवस्था पनि छ । यस दिनमा गरिने कुनै पनि रीतिरिबाज गर्न छोडेर त्यसको ठीक विपरीत महिला तथा किशोरीहरुलाई छोरी भएर जन्मनु एक गौरवको विषय हो भनेर महसुस गराउनुपर्ने देखिन्छ । हजारौं किशोरी तथा महिलाहरुको जीवन परिवर्तन गर्न सफल भएकोमा गर्व महसुस गर्दै ऋषिपञ्चमीको पूजा गरिरहने अथवा महिलापनको उत्सव मनाउन थाल्ने भन्ने बारे केही छलफलको प्रयास यस लेखमा गर्न खोजिएको छ ।

मलाई यतिखेर आजभन्दा ३० वर्षअगाडिको सम्झना भइरहेको छ । त्यस बेला ऋषिपञ्चमीको दिनमा घरनजिकैको मन्दिरमा गुरुबाले गरिरहनुभएको प्रवचनको झझल्को आइरहेको छ । करिब १० वर्षको कलिलो उमेरमा महिनावारीमा गरिने पापको कारणले महिलाहरुले कस्तो–कस्तो नियतिसम्म भोग्नुपर्छ भनेर उहाँले भनिरहँदा मेरो कलिलो मनमस्तिष्क यसरी झस्किएको थियो कि मानौं मैले जीवनमा ठूलो सजायको सामना गर्नुपर्नेछ ।

खेतमा राम्रो उब्जनीका लागि मल, पानी र पोषिलो माटोको जरुरत हुन्छ भने महिलाको शरीर तथा दिमाग प्राकृतिकरुपमै प्रत्येक महिना उब्जाउयुक्त खेतझैँ पूर्णरुपमा उर्वर र उत्पादनको तयारी अवस्थामा रहेको हुन्छ। त्यतिखेर महिलाको शरीर तथा दिमाग पूर्णक्षमताले भरिएको हुन्छ। तर महिलाका यस्ता अद्भूत क्षमताको वर्णन कुनै पनि धर्मशास्त्रले गरेको पाइँदैन।

त्यसपछिका दिन तथा वर्षहरु पनि यसरी बिते कि आफू छोरी भएर जन्मनुको तीक्तताको अनुभव भइरह्यो । पहिलोपटक महिनावारी भएर अर्काको घरमा बिताउनुपरेका ती ११ दिनका रातहरु त झन् कहाली लाग्दा भएका थिए । त्यस बेला आफू किन छोरा भएर जन्मिन पाइन भनेर अत्यन्तै बिलौना गरेँ । एक्लै रोएर कैयौं दिन बिताएँ । मैले भोगेजस्ता अनुभव लगभग सबै महिलाले भोगेको हुनुपर्छ । तर ती भोगाइ हुँदाहुँदै पनि महिला भएर गर्व गर्नुपर्ने र महिलापनलाई उत्सवको रुपमा मनाउनुपर्ने रहेछ भन्ने महसुस भने धेरै पछि नै भयो ।

मैले १० वर्षअगाडि अस्ट्रेलियाबाट नेपालमा सञ्चालित महिला रुपान्तरण तालिम लिएपछि पहिलोपटक छोरी भएर जन्मेकोमा पनि गर्व महसुस गरेँ । महिनावारी हुँदा आमा–हजुरआमाले पालना गर्नू भनेका ती सम्पूर्ण नियमहरु पालना नगरे पनि पाप गरेको रहेनछु भनेर त्यतिखेर ढुक्क भएँ । त्यति मात्र हैन, आफ्नो शरीरलाई माया गर्न थालेँ, आफूले आफ्नो सम्मान गर्न थालेँ र आफ्ना भावनाहरुलाई सुन्न थालेँ । महिलापनको उत्सव मनाउन थालेँ । त्यसपछि यो तालिम आफूसँग काम गर्ने कर्मचारी एवं समुदायका बहिनीहरुलाई दिँदै, काठमाडौंदेखि धनगढीसम्म हजारौं दिदी–बहिनीको सोच र जीवनशैलीमा परिवर्तन गर्दै, महिलापनको उत्सव मनाउँदै आइरहको छु ।

महिला रुपान्तरण तालिमले दिने सन्देश ठ्याक्कै ऋषिपञ्चमी पूजाको विपरीत रहेको छ । यस तालिम महिनावारीकै सेरोफेरोमा केन्द्रित हुँदाहुँदै पनि एक महिलाका बलिया पक्षहरु जस्तै– एकै पटकमा थुप्रै काम गर्न सक्ने क्षमता (मल्टिटास्किङ), महिलाहरुको प्री–ओभुलेसन र ओभुलेसन समयमा हुने अद्भूत क्षमताहरु, उर्वरता, सहन सक्ने क्षमताहरु वास्तवमै शक्तिशाली हुने रहेछन् ।

खेतमा राम्रो उब्जनीका लागि मल, पानी र पोषिलो माटोको जरुरत हुन्छ भने महिलाको शरीर तथा दिमाग प्राकृतिकरुपमै प्रत्येक महिना उब्जाउयुक्त खेतझैँ पूर्णरुपमा उर्वर र उत्पादनको तयारी अवस्थामा रहेको हुन्छ । त्यतिखेर महिलाको शरीर तथा दिमाग पूर्णक्षमताले भरिएको हुन्छ । तर महिलाका यस्ता अद्भूत क्षमताको वर्णन कुनै पनि धर्मशास्त्रले गरेको पाइँदैन ।

महिलाहरुको प्रत्येक महिनामा शरीरमा आउने यो उर्वरताको सदुपयोग महिलाहरुले बच्चा जन्माउनमा मात्र नभएर आफ्नो प्रत्येक काममा लगाउन सक्छन् । आफ्नो यो उर्वरता र सिर्जनशील शक्तिलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्छन् । महिलाहरुले त्यस्ता क्षमताको प्रयोग गरी पनि रहेका छन् । पुरुषको तुलनामा दैनिक जीवनमै महिलाहरुका जिम्मेवारीहरु बढी रहेका छन् । ती जिम्मेवारीलाई महिलाले पूरा गरेकै कारण एउटा घर राम्रो तथा व्यवस्थितरुपमा चलिरहेको छ । तर महिलाका यस्ता गर्व गर्ने विषयमा कुनै धर्मशास्त्रले प्रशंसा गरेको पाइँदैन, उल्टै महिलालाई होच्याएर अनेकौं उखान टुक्काहरु बनाइएका छन् । पुरुषको सेवकको रुपमा अनि पुरुषको लागि छोरा जन्माइदिने अभिभारा बोकेको व्यक्तिको रुपमा उभ्याइएका छन् ।

महिलाको प्रत्येक महिनामा आउने यही उर्वरता र बच्चा जन्माउने क्षमतालाई जब उनीहरु बच्चा जन्माउन चाहँदैनन्, त्यही रगत नै निष्क्रिय भएर योनिबाट बाहिर निस्कने एक प्राकृतिक प्रक्रियालाई नै हाम्रा धर्मशास्त्र तथा गुरुहरुले अनेक नाम दिई महिलाको पवित्रतासँग जोडेर, पाप–धर्मसँग जोडेर अनि त्यही पाप पखाल्ने नाममा यसरी पञ्चमी पूजा गर्न लगाइन्छ । यसरी हेर्दा यो महिलामाथि गरिएको अन्याय मात्र नभएर महिलापनको एक अवहेलना पनि हो ।

त्यसैले आज प्रत्येक महिलाले बुझ्नुपर्ने कुरा के हो भने, आफू सदैव यसरी अपहेलित भइरहने हो या आफ्नो आत्मसम्मानका साथ बाँच्ने हो । हामी जबसम्म आफ्नोपनको सम्मान गर्न जान्दैनौं तबसम्म हामी सम्मानित भएर बाँच्न सक्दैनौं । जब आफैं सम्मानित भएर बाँच्न जान्दैनौं भने अरुले सम्मान गरेनन् भनेर विरोध गर्नुको पनि केही औचित्य छैन । त्यसैले महिला हुनुमा गर्व गरौं । महिलापनको उत्सव मनाऔं र महिलाहरुलाई अवहेलाना गरी बनाइएका समाजका नीति–नियमहरुको परिवर्तन गरौं । आफू र आफ्ना छोरीहरुको लागि एक भेद्भावरहित समाजको निर्माण गरौं ।
(लेखिका दाहाल ‘छोरी’ संस्थाकी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्