जिन्दगीले हरक्षण जिउन सिकाउँछ



  • प्रेम रावत

अहिलेको परिस्थितिमा मानिसहरू निकै चिन्ताग्रस्त छन् । हरेक दिन यसबाट पीडित मानिसहरूको सङ्ख्या बढिरहेको छ । मानिसहरू निराश र हतास भइरहेका छन् । अहिले आएको समयका बारेमा मानिसहरूले कल्पना पनि गरेका थिएनन् । सबैभन्दा ठूलो कुरा त के हो भने– जुन चीजको तपाईंलाई खोजी छ त्यो तपाईंभित्रै छ । कोरोना भाइरस होओस् वा नहोओस् आफ्नो जीवनमा त्यस चीजलाई चिन्नुहोस् । यदि त्यही चीज तपाईंको आशा र शान्तिको स्रोत बन्यो भने वास्तवमा तपाईंको जीवनमा शान्ति हुनेछ । अनि, त्यही चीज तपाईंको आनन्दको स्रोत पनि बन्यो भने तपाईंको पूरै जीवन आनन्दले भरिपूर्ण हुनेछ ।

कुरा के हो भने, तपाईंभित्र रहेको चीज राम्रो, पवित्र अनि अत्यन्तै उत्तम छ । तर, जुन समस्याका कारण मानिस दुःखी हुन्छ त्यो समस्या के हो ? जस्तो एउटा कमिजमा दाग लागेको छ, त्यो मैलो भएको छ भने त्यो कमिज देखेपछि तपाईंलाई मन पर्दैन । अब तपाईं यो कुरा बताउनुहोस्– तपाईंलाई त्यो कमिज राम्रो लाग्छ कि लाग्दैन ? राम्रो देखिँदैन, किनकि त्यसमा दाग लागेको छ । त्यसो भए कमिज र त्यसमा लागेको दागमध्ये कुनचाहिँ वास्तविक हो ? कमिज त कमिज नै हो । त्यस कमिजमा लागेको दागलाई त धुन सकिन्छ, हटाउन सकिन्छ । त्यसको दाग हटेपछि तपाईंले देख्नुहुनेछ– त्यो कमिज वास्तवमा कस्तो छ ! यदि तपाईं कुनै चीजलाई धुनुहुन्छ भने धुनुको अर्थ दाग हटाउन सकियोस् भन्ने हो ।

त्यसै गरी, जुन मैलो लागेको हुन्छ, जुन दुःख–कष्ट मानिसलाई हुन्छ त्यो उसको भ्रमका कारणले हुन्छ । मानिस भ्रमित भएपछि जे स्पष्ट छ, जे यथार्थ हो, त्यसलाई उसले देख्न सक्दैन । यद्यपि त्यो मैलो हटेपछि वास्तविक रूप कस्तो छ, उसले देख्न सक्छ ।

हामीले आफ्नो जीवनमा, आफ्नो काँधमा विनाकामको बोझ उठाएका छौँ । जुन हामीलाई केही काम लाग्दैन । यसले अहिले पनि तपाईंलाई दुःख दिइरहेको छ र पछि पनि दुःख दिइरहन्छ । जबसम्म तपाईं त्यस बोझलाई आफ्नो काँधबाट तल राख्नका लागि सोच्नुहुन्न, त्यसको उपायका बारेमा जानकारी लिनुहुन्न तबसम्म त्यो बोझ भइरहनेछ । परिणामतः तपाईंले आपूmभित्र रहेको चीजको फाइदा लिन सक्नुहुन्न । किनभने, मनका कामनाहरू हुन्छन्, मन त प्रिन्टरजस्तै हो । यसले फोटो प्रिन्ट गरिरहन्छ– ‘हेर्दा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ ।’ जिन्दगीमा ती कुराहरू प्राप्त नभएपछि मानिस दुःखी हुन्छ– ‘मेरो यो इच्छा पूरा भएन । मेरो यो कुरा पूरा भएन ।’

हामी आफ्नो जीवनमा के चाहन्छौँ भन्ने कुरा त हामीमाथि नै निर्भर रहन्छ । कसैलाई पनि निराशा मन पर्दैन । दुःख कसैलाई पनि राम्रो लाग्दैन । यसर्थ हामी सबै दुःखबाट बच्न चाहन्छौँ । हामी सबै निराशाबाट बाहिरिन चाहन्छौँ । सबैले निराशा नहोओस् भन्ने चाहना राख्छन् । यद्यपि जबसम्म हामीले यस्तो स्रोत खोज्दैनौँ, जुन स्रोतबाट केवल आशा नै आशा मात्र प्राप्त हुन्छ, तबसम्म हाम्रो जीवनमा दुःख नै नहोओस्, निराशा नै नआओस् भन्ने कुरा कसरी सम्भव होला र ! किनकि, हामीलाई थाहा नै हुँदैन । हामीले आपूmभित्र बसेको आनन्द र हामीभित्र अवस्थित परमात्मा हाम्रै स्रोत हुन् भन्ने कुरा बुझेपछि हामी कहिल्यै पनि निराश हुनुपर्दैन । चाहे जेसुकै होओस्, हाम्रो जीवनमा उनी सधैँ हाम्रो साथमा छन् । दुःखमा अनि सुखमा पनि । तिनै एउटा यस्ता चीज हुन्, जसले दुःखमा पनि हामीलाई सुख दिन सक्छन् । अनि उनी नै एउटा यस्ता चीज हुन्, जसले सुखमा रहँदा पनि सुखलाई अभैm बढाउन सक्छन् ।

कति व्यक्तिहरुले कुवा खन्छन् अनि कुवा खनेपछि पनि त्यो सुकेर जान सक्छ । जब सुक्छ अनि उनीहरु चिन्तित हुन्छन् । वर्षातको मौसम आएपछि थोरै–थोरै गरेर त्यसमा पानी जम्मा हुन थाल्छ । त्यसपछि त्यो कुवा भरिन्छ । तसर्थ, यस्तो कुवा चाहिन्छ जुन कुवा सधैँभरि गर्मी या जाडोमा, वर्षात या सुख्खा समयमा पनि भरिएको होओस् । त्यस्तो कुनचाहिँ वस्तु छ ? त्यस्तो चीज तपाईंभित्रै छ । त्यस्तो चीज तपाईंभित्र भएका कारणले तपाईं भाग्यशाली हुनुहुन्छ । तपाईं तिर्खाएर आत्तिनुपर्ने आवश्यकता छैन । किनकि तपाईंभित्र एउटा यस्तो कुवा छ, जसमा अटुटरूपमा पानी हुन्छ । त्यस्तो चीज तपाईंभित्र छ । तथापि, जबसम्म तपाईंले त्यही चीजलाई आफ्नो जीवनमा यी कुराहरूको स्रोतका रूपमा हेर्नुहुन्न, जबसम्म हामी आपूmले आपूmलाई चिन्दैनौँ, पहिचान गर्दैनौँ, जबसम्म हामी आफ्नो जीवन सचेतरूपले जिउँदैनौँ, आफ्नो हृदय आभारले भरिपूर्ण तुल्याउँदैनौँ, तबसम्म यो संसारमा केही न केही त भइरहन्छ । तसर्थ त्यो चीज, त्यो स्रोतलाई चिन्नुहोस् र पहिचान गर्नुहोस्, जसले गर्दा तपाईंको जीवनमा पनि त्यो साँचो आनन्द प्राप्त होओस् ।

यो संसारमा बाँचुन्जेल हरेक मानिसले यस्तो कार्य गर्ने कोसिस गरिरहन्छ, जसको परिणामले उसका लागि वास्तविक आनन्द र शान्ति प्रदान गरोस् । तर प्रायः धेरै कुरा पाएपश्चात् पनि जिन्दगीमा केही न केही कमी भएको महसुस भइरहन्छ । त्यसलाई उसको हृदयले प्राप्त गर्न चाहेको हुन्छ । भित्री खुशी, आनन्द र सन्तुष्टिको चाहना हरेक मानिसको आवश्यकता हो ।

हामीले सुनेका या पढेका पनि छौँ– ‘जुन चीजलाई हामी खोजिरहेका छौँ, त्यो हामीभन्दा टाढा छैन । त्यो हामीभित्रै छ ।’ केवल पढे–सुनेका भरमा मात्र ‘त्यो हामीभित्र छ’ भन्ने कुरालाई धेरैजसोले बुझ्न सक्दैनन् । किनभने खाली पढे–सुनेको मात्रै हो ‘भित्र छ’ भनेर, तर अनुभव गरेको छैन । यो त कस्तो कुरा भयो भने ‘हजुर, पेरिसमा आइफल टावर छ तर मैले देखेको छैन ।’ यदि कसैले चर्चा ग¥यो भने हामी भन्छौँ, ‘हजुर, मैले नाम सुनेको छु ।’ तर, प्रत्यक्षरूपमा नदेखेसम्म त्यो के चीज हो भनेर कसरी थाहा पाउने ? त्यो कस्तो देखिँदो हो ? हुन सक्छ, फोटोमा देखेको होला तर आइफल टावरको रूपरंगलाई त्यहाँ पुगेर प्रत्यक्ष देख्नु र फोटोमा हेर्नुमा धेरै अन्तर हुन्छ ।

यो त एउटा उदाहरण मात्र हो । वास्तवमा यो कुरा यो श्वास छँदै आनन्दलाई पाउने विषयका बारेमा हो । हामी सबै चाहन्छौँ, हाम्रो जीवनमा आनन्द होओस् । हामी त्यो आनन्दलाई प्राप्त गर्ने कोसिस पनि गर्छौं । तर, मानिसले जुन आनन्दलाई बाहिर खोजिरहेको छ त्यो आनन्द असीमित मात्रामा पहिलेदेखि नै उसैभित्र रहेको छ । त्यसलाई केवल अनुभव गर्नु आवश्यक छ ।

उदाहरणका लागि एउटा कथा छ । एकपटक एकजना रानी महलको छतमा कपाल सुकाउनका लागि गइन् । उनले आफ्नो गलामा हीराको हार लगाएकी थिइन् । त्यसलाई निकालेर टेबुलमा राखिन् र उनी कपाल सुकाउनतिरै भुलिरहिन् । यत्तिकैमा एउटा काग आयो । त्यो चम्किलो चीजलाई देखेपछि त्यसले आफ्नो चुच्चोमा च्यापेर उड्यो अनि एउटा रुखमा बसेर त्यो हारलाई खाने कोसिस गर्न थाल्यो । तर, खान त मिलेन, त्यसपछि हारलाई त्यहीँ छोडेर उडेर गयो । त्यो रुख सुनसान ठाउँमा नदीको किनारमा थियो । कपाल सुकिसकेपछि रानीले हेर्दा हार त त्यहाँ थिएन । उनी राजाकहाँ गएर रुन थालिन् ।

राजाले भने, ‘किन रुन्छ्यौ ! म अर्को हीराको हार बनाइदिऊँला ।’ रानीले भनिन्, ‘होइन, मलाई त्यही हार चाहिन्छ ।’ अनि राजाले घोषणा गरिदिए, ‘जसले त्यो हारलाई खोजेर ल्याउँछ, म त्यसलाई आधा राज्य दिनेछु ।’ सबै मानिसहरू खोज्नतिर लागे तर कसैले पनि हार भेट्टाउन सकेनन् । खोज्दाखोज्दै मानिसहरू त्यही रुखको नजिकमा पुगे । उनीहरूले देखे– हार त नदीमै छ । मानिसहरूले नदीभित्र पसेर खोजे तर हार भेट्न सकेनन् । मानिसहरू जसै हाम्फाल्थे, हार हराउँथ्यो । यत्तिकैमा अर्काेतिरबाट एकजना विद्वान् गइरहेका थिए । उनी टक्क

अडिए । सबै कुरा थाहा भएपछि उनले भने– ‘माथितिर हेर्नुहोस् ! हार त्यहाँ हाँगामा झुन्डिएको छ । नदीमा त त्यसको छाया मात्र देखिएको हो । यदि हार चाहिन्छ भने रुखमा चढ्नुहोस् ।’ कथाको सार के हो भने, जुन आनन्दरूपी हारको हामीलाई आवश्यकता छ, त्यो हामीले खोजिरहेको ठाउँमा छैन । त्यो हामीभित्रै छ ।

यसै सिलसिलामा एउटा प्रश्न पनि उब्जिन्छ– के तपाईं जीवनमा वास्तविक आनन्द आपैmँभित्र छ भन्ने कुरालाई स्वीकार गर्नुहुन्छ ? दोस्रो प्रश्न के छ भने– तपाईंलाई यसको तिर्खा कसरी लाग्यो ? यो आनन्दलाई प्राप्त गर्ने तिर्खा मानिसभित्रै स्वाभाविकरूपमा छ भन्ने कुरा थाहा भएपछि तपाईंलाई खुशी लाग्छ होला । यसलाई तपाईं बदल्न सक्नुहुन्न । तपाईं खुशीमा मुस्कुराउनुहुन्छ र दुःखमा रुनुहुन्छ ।

सुन्दर चीजलाई देखेपछि आनन्दको अनुभूति हुन्छ । यी कुरालाई त सिक्नुपर्ने आवश्यकता नै पर्दैन । किनभने, आनन्द र शान्तिपूर्वक बाँच्नु त मानिसको प्राकृतिक स्वभाव हो । हरेक मानिसले यही स्वभावअनुसार शान्तिका लागि प्रयास गर्दागर्दै वास्तविक आनन्दको कडीसँग जोडिएर आफ्नो जीवनलाई सफल बनाउन सक्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्