काठमाडौं “कोरोनाको हट स्पट”



– लक्ष्मण अधिकारी

करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापकरुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा कोरोना व्यापकरुपमा फैलिएकोले आइसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बिरामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

वरिष्ठ दन्तचिकित्सक डा। सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा. कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा. कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जानकारीमूलक लेख :

तस्बिर : अनिल आङदेम्बे

काठमाडौं किन बढी जोखिममा ?

लकडाउन खुलेपछि अब कोरोना सिद्धियो जसरी सरकारले म्यासेज दियो, भोलिपल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घटे । मल, रेस्टुराँहरु भीडंभीड भए । लकडाउन बिस्तारै खोल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जिम्मेवार पदका नेता, पदाधिकारी, विज्ञ, चिकित्सकहरु मास्क नलगाई श्रव्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका बन्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, विभाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘कोभिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि असुरक्षित भए र पब्लिकमा पनि गलत सन्देश गयो ।

नयाँ अध्ययनले झ्याल –ढोका थुनी एसी चलाएर बस्नु असुरक्षित मानेको छ । पहिला कोरोना थुकको छिटाबाट सर्छ भनिन्थ्यो, अब छिटाभन्दा पनि साना कण एरोसोल (Aerosol) बाट पनि सर्छ भन्ने नयाँ कुरा आएको छ । यो मुखबाट निस्किएको बाफ हो, भेन्टिलेसन नभएको कोठामा केही बेर संक्रमित मानिस बस्यो भने कीटाणुले कोठा भरिन्छ र अरुलाई सर्छ । त्यसैले अहिले एसी चलाउने होइन, झ्याल–ढोका खोली पंखा चलाएर बस्नु उपयुक्त हुन्छ ।

यस्तै गरी साना तथा बन्द कोठामा थोरै समयमा धेरै बिरामी जाँच्ने गरेका कारण धेरै बिरामी र चिकित्सकलाई कोरोना सरेको पाइएको छ । त्यसैले संसारका कतिपय अस्पतालहरुले साना झ्याल भएका बन्द कोठामा बिरामी जाँच्ने संरचनामा परिवर्तन गरिरहेका छन् र थोरै बिरामी जाँच्न र हरेक बिरामी गएपछि बिरामी जाँच्ने ठाउँ सफा गर्न सल्लाह दिएका छन् । अफिसहरुमा पनि पूरा झ्याल–ढोका बन्द गरेर एअर कन्डिसन चलाएर बस्नु जोखिमपूर्ण भएकाले यसमा परिवर्तन गर्नुपर्छ र एक–अर्को बीच ६ फिट दूरी नपुग्ने कोठामा कुनै मिटिङ गर्नुहुँदैन । मास्क लगाए पनि भ्mयाल–ढोका बन्द हुने कोठामा धेरै बेर बस्दा खतरा हुने भएकाले नै जिमखाना, पार्लर, मललगायत मानिसहरु भीडभाड हुने ठाउँमा नजानु भनेको ।

युरोप अमेरिकामा मेट्रो ट्रेन, अन्डरग्राउन्ड ट्रेन, एअर कन्डिसनयुक्त मलहरुबाट कोरोना बढी फैलिएको पाइएको छ । हाम्रो ग्रामीण क्षेत्र धेरै छ, घरहरु फरक–फरकमा छन्, ट्रेन छैन, मलमा धेरै जाँदैनन् । त्यसकारण ढिलो फैलिएको हो । तर अहिले सरकारले पब्लिक यातायात छिट्टै खोलिदियो, सुरक्षा विधि अपनाएर आधा मानिस राख्नु भने पनि कोचाकोच गरेको छ । यी आदि कारणले काठमाडौंलगायत शहरी क्षेत्र बढी जोखिममा छन् ।

संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ का रुपमा स्थापित हुन लागेको ।

– डा. सुशील कोइराला

खुला बोर्डर अभिशाप

अहिले ह्वात्तै संक्रमण बढ्नुको मुख्य कारण नेपाल–भारत खुला सिमाना नै हो । खुला सिमानाले स्वास्थ्यमा कति प्रभाव पार्छ भन्ने हाल उजागर भएको छ । बोर्डरमा सरकारले कडा गर्न सक्ने स्थिति थिएन, किन कि ‘सिमानामा आएकालाई देश छिर्न देऊ’ भन्ने आमजनताको भावना थियो । भारततिर नेपाली राखिएका क्वारेन्टिनमा राम्रो व्यवहार नभएपछि धेरै संक्रमितहरु उताबाट आएर जिल्लामा रोग सार्न पुगे । उपत्यका छिर्नेहरुलाई भनसुनका आधारमा पास बाँडियो, सुरक्षाकर्मीलाई पैसा खुवाएर काठमाडौं छिरेको खबर पनि आए ।

भारतका धेरै मानिस नेपालका इँटाभट्टा, निर्माण क्षेत्र र कारखानामा काम गर्छन् । राजनीतिक तहमा भनसुन गरेर उद्योगीहरुले उनीहरुलाई रातारात नेपाल भित्र्याए । यसरी संक्रमितहरु विनाचेकजाँच राजधानी छिरेपछि काठमाडौं उपत्यका ‘हट स्पट’ जस्तो बन्न पुगेको छ । यो अझै रोकिनेवाला छैन, स्थिति भयावह हुन सक्छ । किनभने इन्डियाको उत्तर विहारमा भयावह छ । त्यहाँ नरोकिएसम्म यहाँ पनि रोकिनेवाला छैन । रोटी–बेटीको सम्बन्ध भनेर खुला बोर्डर राख्नु हाम्रा लागि घातक छ । त्यसैले नेपाल–भारत सीमामा थोरै प्रवेशविन्दु राख्नुका साथै जति सक्यो छिटो पासपोर्ट सिस्टम लागू गर्नुपर्छ ।

गत मार्च १५ सम्म म म्यान्मारमा थिएँ, एउटा पनि केस थिएन, अहिले पनि ३ सय ७० भन्दा कम नै छ । किनकि उसले चारैतिर सिल गर्न सक्यो । सिंगापुरमा ५५ हजार जति संक्रमित हुँदा २७ जनाको मात्र मृत्यु भएको छ । किनकि त्यहाँ मानिसहरु नियममा बसे । भियतनाममा पनि करिब ९१० जतिमै संक्रमण रोकिएको छ र मृत्यु भएको छैन । चीनमा पनि नियन्त्रणमा छ, उनीहरुले पनि बाहिरबाट आउनेलाई कडाइ गरे र जनस्वास्थ्यका नियमहरु कडाइका साथ पालना गरे । तर नेपालमा स्थलमार्गबाट आउनेलाई नियन्त्रणमा राख्न सकेनन् ।

सरकार कहाँनिर चुक्यो ?

() पूर्वाधार विस्तारमा कमजोरी

शुरुमा चीनबाट करिब १७८ जना नेपाली ल्याउँदा धेरै सतर्कता अपनाइयो, नेपालको क्षमताअनुसार त्यो धेरै राम्रो हो, हामीले सराहना गर्नुपर्छ । तर त्यसपछि विशेषगरी भारतबाट आउन सक्ने लाखौँ नेपालीहरुको अनुमान गरी तयारी गर्नुपर्ने त्यो नगरिँदा अहिले हाहाकारको स्थिति भयो । नेपालले तयारी गर्ने लामो अवसर पाएको थियो । यस अवधिमा जिल्ला तथा स्थानीय अस्पतालदेखि नै चिकित्सकको दरबन्दी, बेड, अक्सिजन, भेन्टिलेटर थप गर्नुपर्नेमा तुरुन्त पैसा आउने भएर होला खाना, गाडी, लत्ताकपडा र सुविधाका सामानमा बढी खर्च गरेर बजेट सिध्याउने काम भयो । स्थानीय तहले करारमा लिएका फ्रन्टमा काम गर्ने डाक्टरलाई राम्रो सुविधा दिइएन । स्वास्थ्य पूर्वाधार तयार गर्ने कुरामा ध्यान नदिनु सरकारको ठूलो कमजोरी भयो ।

() निजीलाई सौताको व्यवहार

सरकारले शुरुमै निजी अस्पताललाई बेड, भेन्टिलेटर छुट्याएर राख्न अनिवार्य गरेर टेकुमा राख्दा सरकारले जति खर्च गरेको हो त्यति नै दिएको भए हुन्थ्यो । निजीलाई पैसा दिने कुरै गरेन । सौताको जस्तो व्यवहार गरेर प्राइभेट अस्पतालका बेड खालि हुने र सरकारी अस्पतालमा बेड नपुगेर बिरामीलाई जता पनि सुताउने स्थिति सिर्जना गरियो । काठमाडौंमा झन्डै ७० प्रतिशत बेड निजी क्षेत्रको छ अनि सरकारले मात्र कसरी धान्न सक्छ रु सम्हाल्न नसकेपछि अहिले बल्ल सहकार्यको कुरा आएको छ ।

अर्कोतिर शुरुमा कोभिडका बिरामीलाई राक्षसजस्तो गरेर प्रस्तुत गरियो, धेरै निजी अस्पतालहरु संक्रमणको त्रासले बिजनेस खत्तम हुन्छ भनी सरकारसँग तर्किएर हिँडे । कोभिडका थोरै बिरामी हुँदा तर्किएको निजी क्षेत्र अहिले बिरामी धेरै हुँदा उपचारका लागि चासो देखाएको छ । सरकारले कोरोनाको बिरामीको उपचार गर्न शिक्षणलगायतका अस्पतालमा जति खर्च गरेको हो त्यति नै उपलब्ध गराए निजी क्षेत्र समस्या समाधानका लागि तयार हुन सक्छन् । आइसोलेसनका लागि होइन कि आईसीयु, भेन्टिलेटर आदि क्रिटिकल केयर आवश्यक पर्ने बिरामीलाई निजी क्षेत्रमा समेत पठाउन सकिन्छ । साथै अहिले फ्रन्टमा रहेर काम गर्ने भारतलगायतका देशका केही डाक्टरको मृत्यु भइरहेको छ । त्यसकारण फ्रन्टमा रहेर काम गर्ने निजी क्षेत्रका डाक्टरहरु कोभिडको कारण मृत्यु भएमा सरकारी चिकित्सकलाई जस्तै उनीहरुको परिवारलाई पनि आर्थिक सुरक्षा दिने प्रत्याभूति सरकारले गरिदियो भने निजी क्षेत्रका चिकित्सक पनि प्रोत्साहित हुने थिए ।

() चेन अफ कमान्डमा कमजोरी

कोभिड–१९ महामारीका बेला आएको सबैभन्दा ठूलो समस्या चेन अफ कमान्ड फितलो हुनु हो । यस्तो बेला सेनाको जस्तो चेन अफ कमान्ड चाहिन्छ । महामारी भनेको औषधि खुवाएर मात्र हुन्न ।

महामारी नियन्त्रणका लागि नियम बनाइयो तर प्रधानमन्त्री, मन्त्री, प्रशासक, प्रहरीले नै नियम पालना गरेनन् भने अरुले किन मान्ने रु सार्वजनिक ठाउँमा देखिँदा उनीहरुले मास्क लगाउनुपर्छ कि पर्दैन रु मास्क नलगाई ग्रुपमा नजिकै बसेर फोटो खिच्ने, मिटिङ गर्ने, आप्mनो मानिसलाई खुला आवतजावत गर्न दिने अनि सर्वसाधारणले किन नियम मान्छ रु भयानक गल्ती यहाँ भयो । नेतृत्वलाई सल्लाह दिनेहरु पनि राजनीतिक आस्थाका भए, ती विज्ञले अरु स्वतन्त्र विज्ञलाई मान्छे गनेनन् । यस्तै गरी महामारीका बेला केही विज्ञहरुबाटै पब्लिकलाई उचाल्ने काम भएको छ, जुन गर्न पाइँदैन । सरकारलाई विज्ञ तथा सल्लाहकारका रुपमा दिइएका सल्लाह एक घण्टापछि सोसियल मिडियामा प्रचार गर्छन्, जुन गलत हो । उनीहरु नैतिकवान् र खुला हृदयका भएनन् ।

महमारीका बेला साधन–स्रोतको कमी ठूलो समस्याका रुपमा छ । यो हुन नदिन सर्टडाउन, लकडाउन र व्यक्तिगत सुरक्षा नै प्रमुख विकल्प हो । रोगी धेरै बढे भने बिरामीले बेड नपाई मर्नुपर्ने हुन्छ । त्यसैले सरकारले तुरुन्तै निजी अस्पताल, गैरसरकारी अस्पतालसँग सहकार्य गरेर बेड, भेन्टिलेटर, आईसीयुको व्यवस्था गर्नुपर्छ ।

() चिकित्सकको असुरक्षा

महामारीका बेला त्यत्तिकै पनि चिकित्सकहरु जोखिममा हुन्छन्, हतासको अवस्था सिर्जना हुन्छ । यस्तो बेला चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहित गर्नुपर्नेमा हतोत्साही गर्ने काम भएको छ । यसै अवधिमा ८–९ जना चिकित्सकहरु पिटिएको समाचार आएको छ । सरकारले चिकित्सकहरुलाई विश्वासमा लिन र मनोबल बढाउन सकेन । हामी सारा चिकित्सकहरुले लामो समयदेखि ‘जेल विदाउट विल’ ९ड्युटीमा रहेका डाक्टरलाई पिटेमा जमानतमा छुट्न नपाउने गरी थुन्ने० व्यवस्था गर्नुपर्छ भनेर माग राखेको सरकारले वास्ता गरेन । चिकित्सकको मनोबल गिरेपछि सेवा प्रभावकारी नहुनु स्वाभाविक नै हो ।

महामारीमा दन्तचिकित्सा

कोरोनाको संक्रमण मुखबाट नै हुने भएकाले स्वभाविकरुपमा दाँतको उपचार सबैभन्दा जोखिमपूर्ण हुने नै भयो । लकडाउन भएपछि शुरुमै दन्तसेवा बन्द गरियो, इमर्जेन्सीबाहेक नहेर्नु भनियो तर गाइडलाइन बनेको थिएन । अधिकांशले बन्द गरेर इमर्जेन्सी आएकोमा पीपीई लगाएर काम गर्‍यौँ ।

पछि अरु देशको हेरेर गाइडलाइन बनाइयो । यसअनुसार सकेसम्म बिरामीलाई फोनमै सल्लाह दिने र नभएमा बोलाएर जाँच्ने गरिएको छ । यसो गर्दा भिजिटर नल्याउन भनिन्छ र पालो नआएसम्म बाहिरै बसाइन्छ । ढोकामा ज्वरो नाप्ने, स्यानिटाइजर र मास्क लगाउन लगाइन्छ । हामी पनि घरबाट आउँदा लगाएको लुगा फेर्ने, त्यसमाथि पीपीई र सोमाथि गाउन लगाउने, दुईवटा मास्क र दुईवटा पञ्जा, गगल्स र त्यसमाथि भाइजर लगाउँछौँ । पूरै टिमले त्यही गर्छ । झ्याल पूरा खोल्ने, झ्यालको छेउमा पंखा राख्ने गरिन्छ । बिरामीलाई आउनेबित्तिकै हाइड्रोजन पेरोक्साइडले कुल्ला गर्न लगाउने र उपचारका क्रममा थुक्न नदिने, सक्सनबाटै तान्ने गरिन्छ । धेरै समय लाग्ने र तत्काल नगर्दा पनि हुने (elective treatment) नगर्ने, केवल ज्यादै दुःख पाएका बिरामीका लागि मात्र सेवा दिने गरिएको छ । बिरामी पनि एउटा गएपछि २०–२५ मिनेटपछि भुइँ पुछेर मात्र अर्को बोलाइन्छ । यसो गर्दा धेरै हदसम्म सुरक्षित भइन्छ । तर यसरी गाइडलाइन फलो गरिएको छैन भने जोखिम ज्यादै हुन्छ । बिरामीहरुले पनि दन्तक्लिनिकमा रिसेप्सनदेखि नै हूल छ, एकपछि अर्को बिरामी तुरुन्तै बोलाउँछ भने त्यस्तो क्लिनिक सुरक्षित छैन भनेर बुझे हुन्छ ।

हेर्दा असुरक्षितजस्तो देखिए पनि दन्तचिकित्सकहरु नै बढी सुरक्षित पाइएको छ । किनभने संसारमै डेन्टिस्टहरु निकै कम मात्र मरेका छन् । इन्डियामा १९८ जना चिकित्सकको मृत्यु हुँदा डेन्टिस दुई–तीनजना मात्र थिए । किन पनि भने, दन्तचिकित्सालाई सानो अपरेसन थिएटर नै हो भनेर व्यवस्था गरिन्छ । धुने, पखाल्ने, निःसंक्रमण गर्ने भइरहन्छ । हामी फिजिसियनले जस्तो ८–१० मिनेटमा बिरामी हेर्न पनि सक्तैनौँ । त्यसले गर्दा लोड कम हुन्छ । खोकेको, ज्वरो आएको बिरामी हामी हेर्दैनौँ तर फिजिसियनलाई हेर्नुपर्ने बाध्यता भएकोले उनीहरु उच्च जोखिममा हुन्छन् ।

अब के गर्ने ?

() आफ्नो सुरक्षा आफैँ

कोरोना भाइरसको सर्ने दर घातक भए पनि मर्ने दर थोरै छ । सरकारले हेर्देला भनेर आश नगरौँ, आफैँ जोगिने उपाय गरे सरकारलाई पनि बोझ घट्छ । किन पनि भने, यो चार–पाँच वर्ष बोकेर हिँड्ने रोग हो, त्यति लामो समयसम्म सरकारले धान्न सक्तैन । विश्व स्वास्थ्य संघले नै तीन–चार वर्ष जान्छ भनेको छ, भ्याक्सिनको टुंगो छैन । त्यसैले आफ्नो सुरक्षा आफैँ गरौँ ।

हामीले आचरणमा व्यापक परिवर्तन ल्याउनुपर्छ । नजिक बस्न रुचाउँछौं, यो परिवर्तन गर्नुपर्छ । कम्तीमा कोभिड–१९ रहेसम्म हामीले मास्क अनिवार्य लगाउनुपर्छ । हात मिलाउने, अंकमाल गर्ने, छोराछोरीलाई म्वाइँ खाने, आलिङ्गन गर्ने कार्य अब हामीले छोड्नुपर्छ । केटाकेटी र बूढाबूढीलाई विशेष केयर गर्नुपर्छ ।

सरकारले पनि एउटा बिरामीलाई हेलिकप्टरमा ल्याएर बचायौँ भनेर पत्रकार सम्मेलन गर्ने होइन, बेड संख्या, भेन्टिलेटर संख्या बढाउनुपर्‍यो । सरकारी अस्पतालमा दरबन्दी बढाएर भर्ना गर्नुपर्‍यो । केन्द्रदेखि स्थानीय तहसम्म फ्रन्टमा रहेर काम गर्ने सरकारी चिकित्सकलाई जति सलाम गरे पनि कम हुन्छ । फ्रन्टमा बसेर काम गर्नेलाई आवश्यक सामग्री उपलब्ध नभएको र भत्ता उपलब्ध भएन भन्ने खालका समाचार आउने स्थिति दिनु भएन । सरकारी अस्पतालमा मात्र खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको तलब वृद्धि गरेर यो सेवालाई आकर्षक बनाउन जरुरी छ ।

() हेल्थ सिस्टममा सुधार

दक्षिण एसियामा श्रीलंकाको स्वास्थ्य प्रणाली राम्रो मानिन्छ । करिब पाँच महिनाअघि नेपालमा दुईजना कोभिडका बिरामी देखिँदा श्रीलंकामा ३–४ सय पुगेका थिए । महामारी फैलियो भनेर चिकित्सकहरु अतालिएको अवस्था थियो । तर अहिले त्यहाँको संक्रमण करिब २८ सय र मृत्यु करिब ११ जनामा सीमित छ । यसको मूल कारण राम्रो केन्द्रीय स्वास्थ्य प्रणाली नै हो । हामीले पनि हाम्रो हेल्थ सिस्टममा परिवर्तन गर्न जरुरी छ, त्यसका लागि यो सही समय हो ।

नेपालको स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरे मात्र संविधानमा भएजस्तो स्वास्थ्य जनताको नैसर्गिक अधिकार हुन सक्छ । स्वास्थ्यमा सेनामा जस्तै तलदेखि माथिसम्म बजेट र चेन अफ कमान्ड बनाएर आधुनिक ई–गभर्नेन्स लागू गर्नुपर्छ । सरकारी अस्पतालमा भएका साधन, स्रोत, जनशक्ति, बिरामी आदिको स्थितिका बारेमा अधिकारप्राप्त व्यक्तिले अनलाइनमा जहाँबाट पनि हेर्ने व्यवस्था हुनुपर्छ ।

निजी अस्पताल तथा मेडिकल कलेज खोलिनुलाई हामीले स्वास्थ्यमा फड्को मार्‍यो भन्यौँ तर ७२ सालको भूकम्प आउँदा र हाल कोभिड आउँदा हामीले देख्यौँ, चाहिने त सरकारी नै रहेछ । त्यसैले सरकारी स्वास्थ्य प्रणालीलाई ठीक अवस्थामा राख्नुपर्‍यो । तर अहिलेको जस्तो टुक्रे परिवर्तनले अर्को ५० वर्ष नेपालको स्वास्थ्य प्रणाली सुध्रिँदैन । कोभिडले देखायो कि विकसित देशको स्वास्थ्य सिस्टमले हामीकहाँ काम गर्दैन । हामीलाई वैज्ञानिक तथ्यमा आधारित हाम्रै सिस्टम चाहिन्छ ।

हेल्थ सिस्टमलाई इलेक्ट्रोनिक (EHR) गरेर राखेको भए अहिले कुन व्यक्ति कहाँ–कहाँ घुमेर आएको छ, स्थिति के छ, हाल कहाँ छ, सबै एउटा कोड टाइप गरेका भरमा थाहा हुन्थ्यो । राष्ट्रिय परिचय पत्रमा नै ई–हेल्थ कोड भइदिएको भए सजिलो हुन्थ्यो । अब यो व्यवस्था हुनुपर्छ । कर, अदालत, कम्पनी रजिस्ट्रारको कार्यालय, मालपोत ई–सिस्टममा गइसक्यो तर झन् महत्वपूर्ण स्वास्थ्य किन गइरहेको छैन रु ई–सिस्टममा गएपछि मौज्दात औषधि, एक्सपायर भएका औषधि, उपकरण सबै रेकर्डमा हुन्छ । निःशुल्क बाँड्ने औषधि बेच्न पाइन्न । अर्काको भत्ता रोक्न वा खान पाइन्न । सामान खरिदको सबै रेकर्ड पारदर्शी गर्नुपर्ने हुन्छ । शायद भ्रष्टाचार गर्न पाइँदैन भनेर स्वास्थ्यमा ई–गभर्नेन्स नल्याएको होला तर स्वास्थ्य क्षेत्र सुधारका लागि यस किसिमको परिवर्तन आवश्यक छ । नत्र कुनै पनि महामारी आउँदा हामीले आजको जस्तै आत्तिएर हिकी–हिकी गर्नुपर्ने अवस्था आउँछ ।

प्रतिक्रिया दिनुहोस्