मानिसले कर्मको भोग कसरी भोग्छन् ?



प्रेममान डंगोल
मानिसले कर्मको भोग कसरी भोगिरहेका हुन्छन् भन्ने कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ । हामीले पूर्वजन्ममा गरेका कर्मको फल नै यो जन्ममा हामीलाई प्राप्त हुने रहेछ । पूर्वजन्मको कर्मले गर्दा नै यो जन्ममा हाम्रा आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, लोग्ने–स्वास्नी, प्रेमी–प्रेमिका, मित्र–शत्रु अनि जति पनि आफन्तहरु छन् सबै हुँदा रहेछन् । यो जन्ममा अर्थात् वर्तमान समयमा जति पनि हाम्रो सम्बन्धमा छन् अर्थात् छोराछोरी, आफन्त सबैसँग या त हामीले केही दिनुपर्ने या त उनीहरुसँग केही लिनुपर्ने हुँदो रहेछ ।
सन्तानका रुपमा को–को आइरहेका हुन्छन् होला ? हन त हाम्रो सन्तानको रुपमा हाम्रा पूर्वजन्मका सम्बन्धितहरु नै आएर जन्म लिन आउने रहेछन् । शास्त्रका अनुसार यसरी जन्म लिन आउनेहरु चार प्रकारका हुँदा रहेछन् । जुन निम्नप्रकारका छन् ।
(१) ऋणानुबन्ध पुत्र ः पूर्वजन्मको मानिसले कोहीसँग ऋण लिएको रहेछ वा कसैको धन कुनै पनि प्रकारले नष्ट गरिदिएको रहेछ भने उसको घरमा यो जन्ममा पुत्रको रुपमा जन्म लिन आउँछ अनि उसको धन बिरामी परेर वा चाहिने÷नचाहिने कार्यमा खर्च गराइरहन्छ । जबसम्म उसको ऋणको हिसाब चुक्ता हुँदैन ।
(२) शत्रु पुत्र ः पूर्वजन्मका कोही दुश्मन बदला लिन पनि पुत्रको रुपमा जन्म लिन आउँछ अनि ठूलो भएपछि आमा–बाबुलाई पिट्ने, झैझगडा गरेर विभिन्न किसिमले दुःख दिई नै रहन्छ । जहिले पनि कडा बोलीबचन बोल्ने र आमा–बाबुको बेइज्जत गरिरहन्छ अनि आमा–बाबु दुःखी भएमा हर्षित हुन्छ ।
(३) उदासीन पुत्र ः यस्ता सन्तानले न आमा–बाबुको सेवा गर्छ, न कुनै सुख नै दिन्छ । यस्ता छोराले विवाह गरेपछि आफ्ना आमा–बाबुसँग नबसी छुट्टै बस्न जान्छ ।
(४) सेवक पुत्र ः पूर्वजन्ममा यदि कसैले पनि कसैको खूब सेवा गरिराखेको छ भने उसले उसको सेवाको ऋण तिर्ने हिसाबले पुत्रको रुपमा जन्म लिन आउँछ अनि आमा–बाबुको सेवा गर्छ ।
जे रोप्यो त्यही फल्ने त हो नि ! आफ्ना आमा–बाबुलाई सेवा गरेको भए मात्र आफ्ना सन्तानले पनि बूढाबूढी अवस्थामा आफूलाई सेवा गर्छन्, होइन भने कोही पानी खुवाउने पनि नहुन सक्छ ।
शास्त्रमा यतिसम्म भनिएको छ कि कसैले पनि यो कुरा नबुझिदिनु कि यो मानिसहरुमा मात्र लागू हुन्छ । यी चार प्रकारमा कुनै पनि जीव पनि आउन सक्छन् । जस्तै कि यदि कसैले निःस्वार्थ भावले गाईको सेवा गरिराखेको भए त्यही गाई पुत्र वा पुत्रीको रुपमा जन्म लिन आउँछ र सेवा गर्छ । यदि कसैले गाईलाई स्वार्थवश पालेर दूध दिन छोड्नेबित्तिकै निकालिदिएमा त्यही गाई अहिलेको जीवनमा ऋणानुबन्ध छोरा वा छोरीको रुपमा जन्म लिन आउँछ र सताइरहन्छ । यदि कसैले पूर्वजन्ममा कुनै निरापराध जीवलाई सताएर राखेको भए उसैले अहिलेको जन्ममा शत्रु पुत्रको रुपमा जन्म लिन आउँछ अनि बदला लिन्छ । त्यसैले कसैले पनि जीवनमा कहिल्यै पनि कसैको नरामो चिताउनुहुँदैन । किनभने प्रकृतिको नियम नै यस्तो छ कि तपाईंले जे गर्नुहुन्छ त्यही तपाईंलाई यो जन्ममा वा अर्को जन्ममा सय गुणा फल प्राप्त हुनेछ । यदि तपाईंले कसैलाई एक रुपियाँ दिनुभयो भने सम्झनुस् कि तपाईको खातामा एक सय रुपियाँ जम्मा हुन गयो । यदि तपाईंले कसैको एक रुपियाँ लुटेर लिनुभयो भने सम्झनुहोस् कि तपाईंको जम्मा राशिबाट अर्थात् खाताबाट एक सय रुपियाँ बाहिरियो ।
सोची हेर्नुस् अनि सम्झनुस् कि तपाईंले कति धनसम्पत्ति लिएर आउनुभएको छ अनि कति साथै लिई जानुहुनेछ ? को–को गए यो संसार छोडेर, उनीहरुले कति सुन, चाँदी, धनसम्पत्ति साथै लिएर गए ? मरिसकेपछि पनि सुन, चाँदी, धनदौलत, बंैकमा राखेका सम्पत्ति व्यर्र्थै कमाइराखेका जस्तो भएन ? सन्तान असल र लायक छन् भने उनीहरुका लागि केही पनि छोडेर जानुपर्दैन, आफैंले कमाउँछन् । अनि सन्तान कमसल र नालायक भए भने उनीहरुका लागि जति धनसम्पत्ति जोडेर गए पनि तिनले त्यो धनसम्पत्ति चाँडै सकाई बरबाद पारेरै छोड्छन् ।
साराका सारा धनसम्पत्ति यहीँ रहन्छ, केही पनि साथै जाँदैन । मानिस मरिसकेपछि साथमा केही जान्छ भने उसले गरेको कुशल कर्म मात्र जान्छ । त्यसैले जति सकिन्छ त्यति नै असल कर्म गर्नुपर्छ, सत् कर्म गर्नुपर्छ र सबैको सेवा गर्नुपर्छ भनी शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्