बिरामीको पीडा : ‘कोरोनाको रिपोर्ट नआउँदा आइसोलेसनले मान्दैन, अस्पतालले भर्ना लिँदैन’



न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना त्रासले यति सताएको छ कि कोरोनाको आशंकामात्र हुनेबित्तिकै अस्पतालका स्वास्थ्यकर्मी त्रस्त हुन्छन्, उपचार गर्ने मान्दैनन्, भर्ना नै लिइँदैन । कोरोनाको रिपोर्ट पोजेटिभ नआउँदासम्म आइसोलेसनले लिन मान्दैन । अब, बिरामी हुनै नपाइने भयो ।

सोमबार राति स्वासप्रश्वासमा समस्या भएर हेटौंडा अस्पताल पुगेकी हेटौंडा–५ की ३० वर्षीया महिलाले अस्पतालको आँगन टेक्न पाइनन् । किनकि, उनलाई एम्बुलेन्सबाट नै नओराली अस्पतालले रिफर गरिएको कागज थमाएर भरतपुर पठाइदियो ।

उनका पतिलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उनको भने रिपोर्ट आइसकेको थिएन । कोरोना संक्रमित परिवारका सदस्य भएको जानकारी पाएपछि अस्पतालले उनलाई बाहिरबाटै रिफर गरेको हो । ती बिरामी महिलाका पतिलाई कोरोना संक्रमण भएको भन्ने थाहा पाएको अस्पतालले पनि ती महिलालाई भर्ना गरेर राख्न मानेन ।

हेटौंडा अस्पतालले रिफर गरेपछि राति नै चितवन मेडिकल कलेज पुर्‍याइएकोमा उनलाई त्यहाँ केहीबेर अक्सिजन दिएर रगत जाँच गरियो । अस्पतालबाट फर्काइएकी महिला घरमै बस्न बाध्य छिन् ।

घटनाका साक्षी हेटौंडा–५ अध्यक्ष राजेश बानियाँले अब बिरामीले उपचार नै नपाएर मृत्यु हुनुपर्ने अबस्था आएको बताउनुभयो । सरकारी अस्पतालमै बिरामीमाथि कोरोनाको आशंकामा विभेद गरिने निन्दनीय भएको उहाँको भनाइ छ ।

‘प्रदेशको राजधानीमा रहेको अस्पतालमा आबश्यक स्वास्थ्य उपकरण तयारी नगरिनु र कोरोनाको आशंकाकै भरमा बिरामी रिफर गरिनु निकै दुःखद् कुरा हो । यसबारे सम्बन्धित निकायले बेलैमा ध्यान देओस्,’ बानियाँले भन्नुभयो । कोरोना परीक्षणका लागि ३ दिनअघि स्वाब दिइएको भए पनि ती महिलाको रिपोर्ट आएको छैन ।

‘रिपोर्ट नआउँदै बिरामीलाई आइसोलेसनमा लैजान मान्दैनन् । अस्पताल लैजाँदा भर्ना लिँदैनन् । बिरामीलाई भने गाह्रो भइसकेको छ,’ बानियाँले भन्नुभयो । हेटौंडा–५ मा हालसम्म २२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये अधिकांश बिरामी होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्