‘अफसाइड’ फुटबल खेलाडीको व्यथा हो



विश्वभरि कोरोना भाइरसको महामारी फैलिएपछि विभिन्न क्षेत्रमा यसको नकारात्मक असर परेको छ। यसमध्ये खेलकुद क्षेत्र पनि यसको चपेटाबाट अछूतो रहन सकेन। युरोपतिर फुटबल पुनः शुरू भए पनि नेपालमा हाल कुनै पनि प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था छैन। सबैजसो विधाका खेलाडीहरू बेरोजगारको अवस्थामा छन्, यसमध्ये फुटबलरहरूलाई पनि घरमै बस्न बाध्य तुल्याएको छ। कोरोना भाइरसका कारण निराश तुल्याएको अवस्थामा फुटबलकर्मीलाई लिएर ‘अफसाइड’ वेबसिरिज बनेको छ। कोरोनाको दौरान फुटबलरहरूले वेबसिरिजमा खेलेर आफ्नो नैराश्य मेटाएका पनि छन्। यो खेलकुदको विषयमा बनेको पहिलो वेबसिरिजको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्नुभएको छ, जसले ठूलो पर्दाका लागि घनचक्करजस्तो चलचित्रको पनि निर्देशन गर्नुभएको छ। सो वेबसिरिजबारे नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः

अफसाइड वेबसिरिज बनाउने साइत कसरी जु¥यो?
हाल विश्वभरि कोरोनाले गर्दा सबै क्षेत्र बन्दाबन्दी भएको अवस्थाले नै अफसाइड बनेको हो। फुटबल खेलाडीहरूले कोरोनाका कारण भोगेको विषयलाई लिएर नै यो वेबसिरिजको शुरुआत भएको हो। यसको श्रेय सुगनजी (तण्डुकार) लाई जान्छ। यो सबै उहाँकै कन्सेप्टले बनेको हो । उहाँले मलाई भेटेर खेलाडीहरू फुटबल नहुँदा कस्तो अवस्थामा गुज्रिरहेका छन् भन्ने गहन विषयलाई लिएर वेबसिरिज बनाउने कुरा गर्नुभयो। मैले घनचक्कर चलचित्रको निर्देशन गर्दा सँगै काम गरेका काजी लिम्बँलाई स्क्रिप्ट राइटरको रूपमा सुगनजीसँग भेटाइदिएँ। त्यसपछि कुरा मिलेपछि अफसाइड वेबसिरिज बनेको हो।

अफसाइडको मुख्य कथावस्तु के हो?
यसमा फुटबल खेलाडीले भोगेको व्यथा समेटिएको छ। मुख्य कुरा कोरोनाले गर्दा फुटबल खेलाडीलाई गाह्रो भइरहेको छ। अर्को खेलाडीलाई सरकारले नहेर्ने प्रवृति पनि छ। खेलुञ्जेल त केही कमाइन्छ तर सधैंभरि एकैनास कहाँ हुन्छ र विकल्प के त? खेल करियरपछि सरकारले जागिर दिँदैन पनि। यी समस्यालाई पनि यो वेबसिरिजमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका छौं। अर्को समस्या भनेको कोरोनाको समयमा खेलाडीले अभ्यास गर्न र खेल्न पाएका छैनन्। घरमा बसेर निराश भएका खेलाडीको समस्याबारे पनि यसमा प्रस्तुत गरिएको छ।

तपाईंको प्रवेश अफसाइडमा कसरी भयो त?
पहिलो एपिसोड बन्दा म घनचक्कर चलचित्रमा व्यस्त थिएँ। वैशाखमा रिलिज गर्ने भने पनि कोरोनाका कारण रिलिज गर्न सकिएन। सुगनजीले दोस्रो एपिसोडदेखि मलाई नै निर्देशन गर्न प्रस्ताव ल्याउनुभएको थियो। मैले प्रस्तावलाई स्वीकार गरेर यो वेबसिरिजलाई निर्देशन गरेँ। हाल चार एपिसोड अपलोड भइसकेको छ। सुटिङ धमाधम चलिरहेको छ। कलाकारहरूले पनि निकै सहयोग गर्दै आउनुभएको छ।

अफसाइडको रिस्पोन्स कस्तो आइरहेको छ?
राम्रै आइरहेको छ, पहिलेभन्दा दोस्रो गर्दै चौथोसम्म राम्रो हुँदै गएको छ। यो मैले भनिरहेको पनि होइन। चौथो एपिसोडमा धेरैले राम्रो कमेन्ट गरेका छन्। यसैले, यो वेबसिरिज राम्रो बन्दै गएको छ भन्ने लागेको छ। भ्युअरहरूले गर्नुभएको सकारात्मक मँल्यांकनले गर्दा हामीले यो वेबसिरिजलाई अझै राम्रो गर्दै लैजान पनि प्रेरणा पाइरहेका छौँ।

यो वेबसिरिज कति एपिसोडसम्मको रहनेछ?
यो पहिलो सिजन हो र यसमा १२ एपिसोडसम्म हुनेछ। हाल चार एपिसोड आइसकेको छ। बाँकी एपिसोडमा अझै चलेका खेलाडीलाई समावेश गर्र्दै लैजाने पनि सोचेका छौं।

घनचक्करमा सरोज खनालजस्ता वरिष्ठ कलाकारसँग काम गर्नुभएको तपाईंले नयाँ कलाकारसँग काम गर्न कतिको अप्ठ्यारो भइरहेको छ?
अप्ठ्यारो त्यस्तो त भएको छैन। फुटबल खेलाडीहरू भएकोले काम लिन अलि गाह्रो भएको मात्रै हो। खासगरी, डाइलग डेलिभरिमा समस्या पर्ने हुन्छ। तर, अहिले त सबैले प्रगति गरिरहनुभएको छ। मैले उहाँहरूलाई फुटबलमा कसरी एक्सप्रेसन दिइन्छ त्यसरी नै अभिनय गराएको छु। जस्तैः गोल भएको अफसाइड घोषित हुँदा कसरी निराश हुन्छन्, त्यही सम्झेर दुःख र निराश भएको अभिनय गर्नुस् भन्छु। नराम्ररी फाउल गर्दा मैदानमा रिसाएर उफ्रेको अभिनय गर्नुस् भन्छु, गोल हुँदा खुसी हुने त्यही सम्झेर खुसीको अभिनय गर्नुस् भन्छु यसरी नै उहाँहरूले अभिनय गर्र्दै आउनुभएको छ।

कस्तो अनुभव भयो त नयाँ कलाकारहरूसँग?
नयाँ कलाकारहरूसँग काम गर्न मज्जा आइररहेको छ। त्यसमाथि फुटबल खेलाडीहरूसँग काम गर्नुको अनुभव त निकै रमाइलो पो छ। खेलाडी कलाकारहरूले राम्रै साथ दिइरहनुभएको छ। उहाँहरू पनि खुसी हुनुहुन्छ। सुगनजीको त के कुरा गरूँ उहाँ त अभिनयमा पोख्त नै हुनुहुन्छ। ५ जना अफ्रिकी खेलाडीहरूलाई पनि अभिनय गराएको छु। उहाँहरूले पनि चासो लिएर नै अभिनय गर्नुभएको छ।

यो वेबसिरिजको सिजन २ पनि आउँछ त?
सिजन २ पनि आउनेछ। यदि, कोरोनाको कहर कम हुँदै गएमा अफसाइडलाई चलचित्रमा बनाउने लक्ष्य लिएका छौं। हलहरू खोलेमा हलमै रिलिज गर्छौं, अझै पनि कोरोनाको कहर सकिएन भने वेबसिरिजकै रूपमा सिजन २ आउनेछ।

प्रतिक्रिया दिनुहोस्