कोरोना रोकथाममा चीनको अनुभवबाट सिकौं !



डा. रमेश आचार्य

नेपालमा कोरोना संक्रमणले निकै चुनौतीपूर्ण अवस्था सिर्जना गरिरहेको छ । सरकारले लकडाउन गरेको हो कि खुलाएको हो, बुझ्न कठिन छ । आम जनतालाई मान्य हुने गरी सरकारले कार्यक्रमसहित अघि नबढ्ने हो भने नेपालमा ठूलो दुर्घटना निम्तिन सक्ने कोरोनाका विषयमा सूक्ष्म अध्ययन गरिहनुभएका थुंग्ची मेडिकल कलेज चीनका रिसर्च स्कलर डा. आचार्यले चीनको अनुभव सुनाउँदै भन्नुभयो– चीनको उहानमा २०१९ डिसेम्बर १ मा ख्वानान सिफुड मार्केटमा पहिलोपटक कोरोना भाइरस देखियो ।

त्यसपछि जनवरी २१ सम्म भाइरसको नेचर र गति कसरी अगाडि बढ्छ भन्ने बिषयमा नै अनुसन्धान भयो । जनवरी २१ देखि अप्रिल १५ सम्म उक्त ठाउँमा पूर्णरूपमा यातायात, मेट्रो, रेल, सपिङ महलदेखि पार्क, विश्वविद्यालय, स्कुल, होटल सबै लकडाउन गरियो । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरूपमा प्रतिबन्ध लगाइयो । त्यो अवस्था कफ्र्यु लगाएकै बेलाकै जस्तो थियो ।
मान्छेले साबुनपानी र स्यानिटाइजर प्रयोग गरेजस्तै हरेक क्षेत्रमा निर्मलीकरणका लागि कस्तो विधि अपनाइएको थियो ?

प्रत्येक सडक, सपिङमलदेखि यातायात, मेट्रो, रेल, पार्क, सर्वसाधारण व्यक्ति हिँड्ने ठाउँहरूमा शून्य दशमलव ५ प्रतिशत सोडियम हाइप्रोक्लोराइड रासायनिक झोल छर्कियो भने मानिस बस्ने भवनभित्र, एलिभिटर, मानिस बस्ने र प्रयोग गर्ने सबै सामानमा भने ७० प्रतिशत इथानल प्रयोग गरिएको थियो । आवत–जावतमा त पूर्णरूपमा प्रतिबन्ध लगाइएकै अवस्था थियो ।

खानेकुरामा पनि प्रतिबन्ध लगाइएको थियो कि ?
पूरा तीन महिनासम्म माछा, मासु, चराचुरुङ्गी, खसी, विशेष गरी बंगुर, कुखुरा र सिफुडमा पूर्णरूपमा सिल गरिएको अवस्था थियो । तर, मानिसलाई तरकारी र खाद्यान्न घर–घरमा वितरण गर्नका लागि पीएलएका स्वयंसेवक प्रयोग गरिएका थिए ।

कोरोना संक्रमित र सम्भावित संक्रमितलाई कसरी सुरक्षाको व्यवस्था मिलाइएको थियो ?
सम्भावित संक्रमितलाई क्वारेन्टाइनको व्यवस्था गरिएको थियो र प्रत्येक दिन त्यहाँको केन्द्र सरकारले ५० हजारदेखि ५ लाखसम्म आरडीटी र पीसीआर परीक्षण गर्नैपर्ने र त्यो संख्याभन्दा कम परीक्षण हुनेबित्तिकै कारबाही गरिन्थ्यो । यसरी सरकारले दिएको निर्देशनअनुरूप काम गर्नैपर्ने हुन्थ्यो । यसरी काम गर्ने आधार भनेको एग्रेसिभ्ली आरडीटी र पीसीआर परीक्षणबाट नै हो ।

यसकै आधारमा दुईवटा गभर्नर, मेडिकल बोर्डका निर्देशक, अस्पतालका निर्देशकदेखि डाक्टरहरू कारबाहीमा परे । ती जनशक्ति कारबाहीमा पर्दा योग्य नयाँ व्यक्तिलाई नियुक्त गरिएको थियो । त्यसपछिका एक महिनाभित्रै (जनवरी २१ देखि फेब्रुअरी २१ सम्म) करिब १५ लाखको पीसीआर परीक्षण र २० लाखभन्दा बढी मानिसको कन्ट्रयाक टेस्टिङ भइसकेको अवस्था थियो । त्यसपछिका ४० दिनमा ३५ लाखभन्दा बढीको पीसीआर सम्पन्न गरिएको, २ लाखभन्दा बढी क्षमताको आईसीयू बेड तयार गरिएको र ७५ हजार भेन्टिलेटरसहितको वार्ड तयार गरी उपचार गर्ने व्यवस्था मिलाइएको थियो ।

लकडाउनका बेला प्रत्येक घर–परिवारका व्यक्तिको अवस्था कसरी पहिचान गरिन्थ्यो ?
प्रत्येक घर–परिवारको अवस्थाका बारेमा रातको ९ बजेभन्दा अघि अनिवार्य तापक्रम मापन गर्नैपर्ने र गरेर अनलाइनमा पठाउनैपर्ने अनिवार्य नियम लागू गरिएको थियो । यदि जुन व्यक्तिले नियम पालना नगरी तापक्रम रेकर्ड गरेर अनलाइनमा पठाउँदैन त्यसको भोलिपल्टै ऊ कारबाहीमा पथ्र्यो । नियमको पालना नगर्नेलाई सरकारी आइसोलेसन र क्वारेन्टाइनमा अनिवार्यरूपमा पठाइथ्यो ।

त्यहाँका अस्पताल सबै सुचारु थिए ?
उहानलगायतका होवेका कुनै पनि अस्पताल बन्द भएनन् । सबै अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरियो । अन्य बिरामी जो प्रत्येक दिन दैनिक ओपीडी या आकस्मिकका लागि आउँथे उनीहरूका लागि छुट्टै होम हेल्थ शिविर सञ्चालन गरिएको थियो । त्यसमा प्रत्येक डाक्टर, नर्स, पारामेडिक्सहरू घरमै गएर ओपीडीमा आउनुपर्नेका लागि सेवा दिने काम हुन्थ्यो । आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि केही सीमित अस्पताल र अप्रेसन थिएटर व्यवस्था गरिएको थियो र त्यहाँ ओपीडी पूर्णरूपमा बन्द थिए ।

ती बन्द ओपीडीका डाक्टर, नर्स, प्राविधिक सबै कोभिड अस्पतालमै परिचालित थिए । हरेक भवनमा पारामेडिक्स फिजिसिएन तयारी अवस्थामा थिए र कुनै पनि ओपीडी जानुपर्ने बिरामी अस्पताल जानैपर्ने अवस्था आएन ।
सबै टोल, भवन, समुदायमा एम्बुलेन्स र आकस्मिक सवारी तयारी अवस्थामा राखिएका थिए । बिरामीलाई आकस्मिक पर्दा प्रत्येक ५ सयदेखि १ हजार मिटरको क्षेत्रमा करिब १० हजार जनाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो ।

प्रत्येक १० हजार जनताका लागि टोल फ्री नम्बर उपलब्ध गराएको थियो । उहान र हुवेका प्रत्येक परिवारका सदस्यमा कम्तीमा २ देखि २० पटकसम्म पीसीआर परीक्षण गरिएको थियो र त्यहाँ प्रत्येक नागरिकलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्न लगाइएको थियो । सबै नागरिकले राज्यको नियमको पालना गरेर बसेकै थिए ।

त्यस्तो अवस्थामा डाक्टर नर्सले कसरी काम गरेको अवस्था थियो ?
सबै अनिवार्यरूपमा फिल्डमा खट्नैपथ्र्यो । फिल्डमा नखट्ने फ्रन्टलाइनमा नखट्ने कसैलाई पनि केन्द्र सरकारले विज्ञ मानेन । त्यस कारण त्यहाँ डाक्टर, प्रोफेसर, जनस्वास्थ्यकर्मी सबैले प्रत्येक समुदायको जिम्मा लिनुपथ्र्यो । उहान र हुवेय प्रान्तमा रहेका अरू भाइरोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, इमिनोलोजिस्ट, साइकोलोजिस्ट सबैले फ्रन्टलाइनमा बसेरै काम गरे । प्रत्येक समुदायमा अस्थायीरूपमा ज्वरो र मोबाइल क्लिनिक सञ्चालन गरिएको थियो । त्यहाँ डाक्टर, नर्स र पारामेडिक्स सबै खुला आकाशमा काम गरेको अवस्था थियो ।

याे पनि..

कोरोनाले भीआईपीलाई ढाल्यो भने अब आश्चर्य नमान्नुस् !

प्रतिक्रिया दिनुहोस्