नागरिकको स्वास्थ्यको अधिकारप्रति जबाफदेही हुन नेपाल सरकारसमक्ष इन्सेकको आग्रह



काठमाडौँ  ।

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा २०७७ साउन ३१ सम्म मृत्यु हुनेको सङ्ख्या १ सय २ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन ३२ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्‍याउनु जरुरी देखिएको विज्ञप्तिमा भनिएको छ ।

गाउँ, बस्ती, सहर र समुदायस्तरमा फैलिँदै गएको सङ्क्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ । अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन ।

कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ । उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ- विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्