इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक विवेचना



इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँछौँ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने बाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् ।
त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुराणअनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे ।
इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।
हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल शुरू हुन्छ । यसरी ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ । नेपाल भाषामा योसी भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अंकित पताका झुन्ड्याएको हुन्छ ।
उक्त लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरबार क्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ ।
यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु), भक्तपुरको महाकाली नाच, मजिपातको मजिपमत लाखे नाच, दश अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ । यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । साथै कुमारीघरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दश अवतार देखाइन्छ ।
यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन् । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ । त्यस दिन नेवार समुदायका मानिसहरूले समय्बजी खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिंगो ढालेर जात्राको समापन गरिन्छ । यसरी आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँछन् ।
इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । संस्कृतिविद्हरूका अनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधी टिपेकोमा चोर साबित भई, डोरीले बाँधी, सबैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ ।
इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ । इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।
लिंगो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ ।
यो जात्रा गर्नुअघि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भएर गणेश भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पालादेखि चलिआएको हो । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसेर नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतबीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।
बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन् । उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौं नगर–बस्तीबाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दियो दान गर्ने परम्परा छ । उक्त मूर्ति संवत् ३८९ मा राजा मानदेवले उनकी आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए ।
यसै दिनदेखि घर–घरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो) झुन्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ । इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश अनि भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै बुधबार तल्लो टोलहरू र बिहीबार माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ ।
इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पु¥याएपछि इन्द्रजात्रा सकिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर वाग्मतीमा लगी सेलाएपछि त्यस वर्षको इन्द्रजात्रा समाप्त हुन्छ ।
– गौतम शाक्य, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्