नेपाल भित्रिने भयो ‘रेमडिसिभिर’

औषधि व्यवस्था विभागले ३ कम्पनी छनोट गर्‍यो



ईश्वररराज ढकाल, काठमाडौं
कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ ।

विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो । ‘हामी फाइल अध्ययन गर्दै छौं, त्यसपछि बाँकी कतिलाई स्वीकृति दिने भन्ने विषयमा निर्णय गर्नेछौं’ –उहाँको भनाइ थियो ।

कालोबजारी बढ्दा समेत अनुगमन गरी कारबाही गर्न नसकेको सरकारले अन्ततः गम्भीर संकट टार्न भन्दै वैधानिक तीन कम्पनीलाई स्वीकृत दिएको हो । परिस्थिति र आवश्यकताअनुसार रेमडिसिभिर ल्याउन अनुमति दिने बताउँदै ढकालले भन्नुभयो– ‘अब केही दिनमै सो इन्जेक्सन नेपालमा प्रयोग हुनेछ ।’ सरकारमाथि चौतर्फी दबाब आएपछि विभागले औषधि ल्याउने स्वीकृति दिएको हो ।

– क्रिटिकल संक्रमितले प्रयोग गर्न सक्ने
– कालोबजारी अन्त्य हुने अपेक्षा

कोरोना संक्रमितका लागि अति प्रभावकारी मानिएको सो इन्जेक्सन नपाउँदा आईसीयू र भेन्टिलेटरमा उपचार गरिरहेका बिरामीको मृत्युदर बढ्न थालेको थियो । इन्जेक्सन नेपाल भित्रिएपछि पहँुचवाला बिमारीले प्रयोग गर्ने बाटो खुला हुनेछ । नेपालमा सो इन्जेक्सन प्रयोग गर्न नपाउँदा हुनेखानेले विभिन्न एजेन्टमार्फत बढी मूल्यमा खरिद गरी प्रयोग गरिरहेका छन् ।

सो इन्जेक्सन एक डोजको करिब ९ हजार रुपियाँ पर्ने अनुमान गरिएको छ । विशेष गरी भारतीय नाका हुँदै प्रमुख शहरदेखि राजधानीसम्म अवैध रुपमा भित्रिएको रेमडिसिभिरको कहाँबाट कसले ल्यायो भन्ने विषयमा सरकारले अनुगमन गर्न सकेको छैन ।
भारतमा ६ हजार रुपियाँ तिरेर नेपाल भित्र्याएको सो इन्जेन्सन अति गम्भीर बिरामीले प्रतिडोज ४० देखि ५० हजार रुपियाँ खर्चेर प्रयोग गर्ने गरेका छन् ।

केही दिनभित्र नेपाल आएपछि एक डोजको करिब ९ हजारसम्म पुग्ने औषधि आयातकर्ताले जनाएका छन् ।
विभागले कतिमा बिक्री गर्ने भन्ने विषयमा मूल्य तय गरेको छैन । महानिर्देशक ढकालले आपत्काल टार्न नेपाल ल्याउन लागिएको रेमडिसिभिरको यति मूल्य पर्छ भन्ने निक्र्यौल गर्न नसकिने बताउनुभयो ।

‘स्वीकृत पाएका कम्पनीले ६ हजार ४ सय, ७ हजार ५ सय र ८ हजार रुपियाँसम्मको मूल्य तय गरेका छन्, नेपाल आइपुग्दा त्यसको मूल्य कति पर्छ भन्ने विषयमा निर्णय गर्न बाँकी छ’ –महानिर्देशक ढकालको भनाइ थियो ।

भारतमा सरकारी अस्पतालमा उपचाररत बिरामीलाई सरकारले सो इन्जेक्सन प्रयोग गरिरहेको छ । रेमडिसिभिर इन्जेक्सनको विभिन्न देशमा तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले रेमडिसिभिले कोरोना संक्रमित पूर्ण रुपमा ठीक नगरेपछि इम्युनिटी पावर वृद्धि गर्न महत्वपूर्ण रहेको जनाइसकेको छ ।

सोही आधारमा अमेरिका, बेलायत, फ्रान्स, भारतलगायतका मुलुकमा यसको प्रयोग उच्च गतिमा भइरहेको छ । विराट मेडिकल सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले हवाईजहाज चार्टर गरी नेपाल ल्याएर सो औषधि प्रयोग गर्नुभएको थियो । उहाँ लगायत केही गम्भीर विरामीले रेमडिसिभिर प्रयोग गरेपछि नेपालमा यस्को विश्वसनीयता बढेको हो ।

लगत्तै सरकारले औषधि व्यवस्था विभागलाई खरिद गर्न निर्देशन दिएको हो । निर्देशनलगत्तै विभागले सूचना जारी गरी आपूर्ति गर्न इच्छुक कम्पनीलाई आह्वान गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलले गत मेमा जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा कोरोना संक्रमितलाई रेमडिसिभिर चलाउन मिल्ने उल्लेख गरेको थियो ।

आपूर्तिकर्ताले नेपालमा आपत्कालन अवस्थामा प्रयोग गर्ने अवस्थामा करिब १० हजार डोज संकलन गरी राख्नुपर्ने बताएका छन् । अहिलेको आपूर्तिकर्ताले कति ल्याउँछन्, सोहीअनुसार भण्डारण गर्ने सरकारको तयारी छ । हाल नेपालमा कोरोनका संक्रमितको संख्या २६ हजार नाघिसकेको छ । महानिर्देशक ढकालले अहिले ल्याउने तयारीमा रहेका इन्जेक्सन क्लिनिकल ट्रायलका लागि ल्याउने निर्णय गरेको बताउनुभयो ।

अधिकांश पश्चिमा मुलुकमा कोरोनाका गम्भीर प्रकृतिका बिरामीलाई रेमिडिसिभर प्रयोग गर्ने गरेका छन् । सामान्य औषधिले काम नगरेपछि आईसीयूमा रहेका बिरामीलाई इन्जेक्सनमार्फत रेमडिसिभिर चलाउने गरिन्छ । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड–१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले हरेकपटक आफ्नो भाषणमा रेमडिरिभिरले कोरोना संक्रमित पूर्ण रुपमा प्रभावकारी हुने बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्मकै भनाइलाई आधार मानेर विश्वका धनी मुलुकले यो इन्जेक्सन प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्