घट्टखोला–बूढीगण्डकी करिडोरको निर्माण शुरु



भक्तपुर । साँघुरो खोलाको पानी पसेर बस्ती डुबानमा परेको एक महिना नबित्दै जनताको मागअनुसार घट्टखोला–बूढीगण्डकी करिडोर निर्माण शुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ४, ५ र ७ हुँदै बग्ने घट्टखोला–बूढीगण्डकी करिडोर निर्माण शुरु भएको हो । केही दिन लगातार परेको पानीका कारण आएको बाढी बस्तीमा पसेर डुबानमा पर्नुका साथै बस्तीमा जाने सडक नै भत्काएपछि स्थानीयवासीको मागअनुसार निर्माण हुन लागेको सो करिडोरको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुक्रबार साँझ शिलान्यास गर्नुभयो ।

अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिको रु १० करोडको लागतमा निर्माण शुरु भएको सो करिडोर आगामी चार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले बताउनुभयो ।

“भक्तपुरमा मनोहरा करिडोर, हनुमन्ते नदी करिडोर र हनुमन्तेसँग जोडिएका पाँचवटा करिडोरको डिपिआर भइरहेको छ, घट्टेखोला बूढीगण्डकीको काम शुरु भएको छ”, उहाँले भन्नुभयो, “गोदावरीखोला, खहरेखोला (प्रस्तावित वीर अस्पताल जाने सडक), खस्र्याङ्गुर्सुङखोला, काल्चाखोला (सूर्यविनायक चोकबाट घ्याम्पेडाँडासम्मको लिङ्क रहेको) निर्माण हुनेछ ।”

हनुमन्ते करिडोरलाई रु दुई अर्ब ८५ करोड बजेट पार्न सफल भएको साथै मनोहरा करिडोरलाई करिब रु एक अर्ब ५० करोड बजेट प्राप्त भएको जानकारी दिदैं उहाँले करिडोर निर्माणसँगै भक्तपुरको विकासले उचाइ लिने र डुबानको समस्या अन्त्य हुने बताउनुभयो । निर्वाचनको समयमा आफूले गरेको प्रतिबद्धताअनुसार हुनमन्ते तथा मनोहरा करिडोर निर्माण भइरहेको उल्लेख गर्दै उहाँले हनुमन्तेमा तटबन्द निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको र अब २०–२० मिटरको सडक निर्माणको चरणमा पुगेको बताउनुभयो ।

भक्तपुर जिल्लाको करिब ८५ प्रतिशत पानी बग्ने हनुमन्ते नदीको करिडोर निर्माण रोक्न केही तत्व अगाडि बढेकाले त्यस्तालाई पन्छाएर अगाडि बढ्ने बताउँदै नेता बस्नेतले यो वा त्यो बहानामा विकास रोक्ने र भ्रम छर्नेलाई अब जनताले लखेट्ने छ भन्नुभयो ।

“उत्तर–दक्षिण जोड्ने सडकमा पलासे डोलेश्वर खण्डमा रु १७ करोडको लागतमा निर्माण सम्पन्न भइसक्यो, आदर्श बसपार्कबाट घ्याम्पेडाँडासम्म जाने सडक बन्ने क्रममा छ, जगाती चोकबाट आशापुरीसम्म जाने सडक बनिसक्यो, पाण्डुबजारबाट गुण्डु जाने सडक करिब ७० प्रतिशतभन्दा बढी बन्यो, चुनदेवीबाट कटुञ्जे जाने सडक, सल्लाघारी सिर्जनानगरबाट लुभुसम्म जाने सडक तीव्रगतिमा बनिरहेको छ”, उहाँले भन्नुभयो, “थिमीबाट दधिकोट जाने सडक बनिरहेको छ, चारदोबाटोबाट बालकोट हुँदै टिकाथलीसम्म जाने सडक बनिरहेको छ ।”

त्यस्तै मध्यपुरथिमितर्फ भाटभटेनीबाट निकोसेरा हुँदै कृषि विकास तालिम केन्द्र–सरस्वतीखेलसम्म जाने सडक बनिरहेको, सानो ठिमीबाट बोडे जाने सडक बनिसकेको, भीमसेन चोकबाट मुलपानी जाने सडक बनिरहेको, बालकुमारीबाट रानीकोटसम्मको सडक आगामी ४ गते शिलान्यास गर्ने तयारीमा रहेको सांसद बस्नेतको भनाइ छ ।

कार्यक्रममा अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितका प्रमुख लीला ढकालले जनताको समस्या बुझ्ने र दूर दृष्टिकोण भएका नेता जनताले पाए विकासले गति लिने उदाहरण भक्तपुरका सांसद बस्नेतले प्रस्तुत गरेको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले राजनीतिक सक्रियतासँगै कर्मचारीले पनि साथसाथै अगाडि बढेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीले विकास निर्माणका कार्यहरुमा कुनै पनि समस्या आए त्यसको समाधान स्थानीयवासी तथा जनप्रतिनिधिले गर्न तत्पर रहेको बताउनुभयो । निर्माण शुरु भएको खोलाको दायाँबायाँ आठ–आठ मिटरको सडक र आठ मिटरको खोला रहने गरी कूल २४ मिटरको उक्त करिडोर पहिलो चरणमा दायाँबायाँ एक–एक किलोमिटर गरी दुई किलोमिटर निर्माण गरिने भएको छ ।

त्यस्तै घट्टेखोला हनुमन्ते दोभानबाट बाँकी एक किलोमिटर करिडोरलाई निरन्तर बजेटको व्यवस्था गरी निर्माण पूरा गरिने भएको छ । करिडोर निर्माणसँगै सूर्यविनायक र मध्यपुरथिमिको अरनिको राजमार्गको उत्तर–दक्षिण सडकको सञ्जाल जोड्दै नजिक हुने र सडकमा हुने सवारी जाम एवं दुर्घटना कम हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्