मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा : जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गरिने



न्युज अफ नेपाल, हेटौंडा ।

पहिरोप्रभावित क्षेत्रमा राहत सामग्रीसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुग्नुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा–२, लिदीमा भएको पहिरोप्रभावितका लागि स्वास्थ्य सामग्री, राहत तथा अत्याबश्यक सामग्रीसहित उहाँ त्यसतर्फ जानुभएको हो ।

स्थलगत निरीक्षणपछि उक्त क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्यसामग्री व्यबस्था गरिएको थियो । हाल उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका छन् भने थप सहयोगका लागि नेपाली सेनाको एउटा टुकडी हेलिकोप्टरमार्फत् उक्त क्षेत्रमा पु-याइएको छ ।मुख्यमन्त्री पौडेलले तत्काल अस्थायी बासस्थान, राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । उक्त स्थान बस्तीका लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने बताउनुभयो । बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो स्थानान्तरण गरिने उहाँले विश्वास दिलाउनुभयो ।सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको बिकल्प नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–स्थानान्तरणमात्र हैन, जीविकोपार्जन गर्न रोजगारी हुनेगरी स्थानान्तरण गर्नुपर्छ ।

स्थानीयलाई परेको विपत्तिमा सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।उचित व्यबस्थापन गर्ने सरकारको दायित्व रहेकोले सरकारले तत्काल काम थाल्ने भन्दै उहाँले हालसम्म स्थानीय बेपत्ता रहेकोले उद्धार कार्य थप तीव्र बनाइएको जानकारी दिनुभयो । केही समयभित्र समग्र सिन्धुपाल्चोकको समस्या हल गर्न सदरमुकाम चौतारामा छलफल गरिने उहाँले जानकारी दिनसभयो ।

उक्त क्षेत्रका सरोकारवालासँग गम्भीर छलफल गरी निकास निकालिने भन्दै उहाँले भन्नुभयो–प्रदेशका मन्त्रीहरु, सांसद, जनप्रतिनिधिलगायत सरोकारवालासँग प्राविधिकसहित टोली राखेर छलफल गरेर निकास निकालिने छ । उक्त क्षेत्रको अबस्थाबारे प्रदेशसभा सांसद एवम् बागमती प्रदेश अर्थ विकास समिति सभापति सरेस नेपाल, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले उक्त क्षेत्रबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

टोलीमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका प्रमुख सचिव मानबहादुर बीके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामा पनि त्यसतर्फ जानुभएको थियो । उक्त क्षेत्रमा ७२ घरधुरी छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हालसम्म १६ जनाको शव फेला परिसकेको छ भने २३ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्