कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास



वासिङटन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो ।

“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले रुसी खोपका बारेमा सकारात्मक धारणा राख्नु भएको हो । कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उहाँको भनाई छ ।

“मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उहाँले बताउनुभयो । उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उहाँको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो । अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन् । तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्