नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलो पटक ओली–मोदीबीच टेलिफोन संवाद



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई प्रधानमन्त्रीबीच दिउँसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा अरु के विषयमा कुरा भए विस्तृत जानकारी परराष्ट्र मन्त्रालयबाट आउने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभागलाई लिएर तिक्तता देखिदै आएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालकै ठोरीमा रहेको अयोध्यामा जन्मनुभएको अभिव्यक्ति दिनुभएपछि भारत थप सशङ्कित बनेको थियो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको थियो, “प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ ।”

प्रतिक्रिया दिनुहोस्