कान्ति लोकपथ सडकमा वर्षेनी क्षति

पहिरो रोकथाममा छैन ध्यान



नेपाल समाचारपत्र, काठमाडौं ।
मनसुन भित्रिएसँगै परेको पानीले गर्दा कान्ति लोकपथ सडकमा क्षति भएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त यस सडकका विभिन्न भागमा पहिरो लडेको छ । कुनै भागको सडकनै बगाएको छ भने सडकका अधिकांश भागलाई क्षतविक्षत पारेको छ ।

वर्षेनी वर्षातका समयमा क्षति भईरहने यस सडकका अघिल्लो वर्षामा ३५ करोडको क्षति भएको आँकलन गरिएको थियो भने यस वर्ष क्षतिको मुल्यांकन भइनसकेपनि एक अर्ब भन्दा बढीको क्षति भएको सडक आयोजनाका इन्जिनियर अमिन्द्र खड्काले जनाकारी दिनुभयो ।
‘यो पटक सडकमा निकै क्षति भएको देखिन्छ । सर्भे त भएको छैन तर सरसर्ती हेर्दा अरब बढीको क्षति भएको देखिन्छ ।’, उहाँले जानकारी दिनुभयो ।

काठमाडौंसँग तराई जोड्ने छोटो र बैकल्पिक मार्गको रुपमा यस सडकलाई हेरिएको छ । कान्ति लोकपथ सडक योजना र सडक विभागको प्राविधिक टोली बनाएर क्षतिको अध्ययन गरिने इन्जिनियर खड्काले बताउनुभयो । ‘के कति क्षति भयो भन्ने विषयमा अध्ययन गर्न योजना र विभागको प्राविधिक टोली गठन गरी अध्ययन गरिनेछ’, उहाँले भन्नुभयो ।

ललितपुरको टिकाभैरबदेखि मकवानपुरको ठिंगन लगायतका भागमा पहिरोले क्षेति गर्नुका साथै सडकको संरचना समेत बगाएको छ । ललितपुरको नर्सरीमोड, विर्खेधारा, काल्चे लगायतमा ठूलो पहिरो लडेको छ भने भालुखोला, नयाँ गाउँ, कोटडाँडा लगायत दुई दर्जन स्थानमा सडक भासिएको छ ।

सुख्खा समय सुख्खा पहिरोको जोखिम रहेको यस सडक खण्डमा विस्तारको काम थाले पछि ठूलठूला पहिरोको जोखिम बढिरहेको छ ।
सरकारले यस सडकमा पहिरो रोकथाम भन्दा पनि सडक चौडा गरी संचालनका लागि जिम्मा दिएकोले पहिरोलाई व्यवास्त गर्दा यस्तो दुर्गती व्यहोर्नु परेको योजनाका एक उच्च अधिकारीले बताए ।

‘सडक पहिरोको उच्च जोखिम रहेको थाहा पाए पनि पहिरो रोकथामको योजना र सडक विस्तार एकै पटक लैजानु पर्नेमा त्यस्तो भएन । यो सरकारको योजनामा ठूलो भूल हो ।’, उनले भने । पहिरो लगातार आईरहने भएर त्यसको रोकथामका लागि अध्ययन गरी सरकारसँग १ अर्ब बढी रुपियाँ बजेट माग गरेको उनले सुनाए ।

७९ किलोमिटर सडक खण्डमध्य ४५ किमि खण्ड कालोपत्रे, २९ किमिमा ग्राभेल गर्ने काम सम्पन्न गरिसकेको छ । ५ किमि खण्ड भने कच्ची र एक लेनको मात्रै रहेको छ । यो कडा चट्टानको भाग भएकोले प्रगति हुन नसकेको योजनाको दाबी छ ।
तीन अर्ब ३५ करोड रुपियाँ अनुमान गरेकोमा अहिलेसम्म २ अर्ब ५१ करोड रुपियाँ खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्