संघीय प्रहरीको परिवारमा कोरोना, ७ वर्षीय बालकसहित जिल्लामा ८ जना थपिए



मोतीराम तिमल्सिना, काभ्रे ।

संघीय प्रहरी कार्यालय बनेपाका प्रहरीमा देखिएको कोरोना परिवारमा फैलिएको छ । विहिबारसम्म १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । ति मध्येका एक प्रहरीका श्रीमती र ७ बर्षिय बच्चामा शुक्रबार कोरोना पुष्टी भएको छ ।

जिल्लामा पहिलो पटक ७ बर्षिय बच्चामा कोरोना देखिएको हो । यस अघि १२ बर्षिय बच्चामा कोरोना देखिएको थियो । शुक्रबार एकै दिन थप ८ जनामा कोरोना संक्रकमण पुष्टी भएको छ । विद्युत्त प्राधिकरण पाँचखालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएको छ ।

जिल्लामा हालसम्म संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएका अधिकांशलाई घरमै राखिएको छ । ‘अस्पतालमा आईसोलेसन बेड भरिएकाले कोरोना संक्रमण देखिएका विरामीलाई घरमै राखेर उपचार शुरु गरिएको हो’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनु भयो ।

विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारीलाई कोरोनाको लक्षण देखिएको छ भने बनेपामा देखिएका संघीय प्रहरीका परिवारमा लक्षण छैन । लक्षण नभए पनि संघीय प्रहरी बनेपामा कार्यरत १९ प्रहरीलाई कोराना पुष्टी भएको थियो । बनेपा नगरपालिका वडा नम्वर ९ घर भएका दुई ब्यक्ति काठमाडौको जडिबुटीमा उद्योगमा कार्यरत रहँदा रहँदै पिसिआर गरिएको थियो । उनिहरु विहिबार साँझ भक्तपुर देखि बनेपासम्म सार्वजनिक यातायातमा आएर घरमै बसिरहेका छन् । समुदायले कोरोना पुष्टी भएको थाहा पाए पनि उनिहरुले लुकाउँदै आएका थिए । पछि अस्पताल र नगरपालिकाले कोरोना भएको जानकारी गराए पछि सुमदाय आतंकित भएको छ ।

नमोबुद्ध नगरपालिकामा पहिलो पटक ३ जना बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना पुष्टी भएको छ । दुबाईबाट फर्किएका २५ वर्षिय युवक नमोबुद्ध ७ का हुन भने साउदीबाट फर्किएका ३२ वर्ष र २७ बर्षका दुई युवक वडा नम्वर ५ का हुन् । जिल्लामा बैदेशिक रोजगारबाट फर्किएका २२ जना ब्यक्तिहरुलाई यस अघि कोरोना पुष्टी भएको छ । ७० जना मध्ये २५ बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु संक्रमित छन् भने २० प्रहरी, २ स्वास्थ्यकर्मी, १ जनप्रतिनिधि र २२ जना समुदायका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्