कोरोना संक्रमितको ‘माया’ : ‘दुर्व्यवहार गर्नेलाई झ्याप्प अँगालो हाल्न मन छ’



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस महिला विभाग केन्द्रीय सदस्य, मकवानपुरे महिला नेतृ तथा सामाजिक अभियन्ता/अधिकारकर्मी शर्मिला श्रेष्ठले आफूलाई कोरोना संक्रमणपश्चात् विभिन्न व्यक्तिबाट लाञ्छना र आरोपहरु लगाइएको गुनासो गर्नुभएको छ । अपहेलित गर्दै विभिन्न तवरले छरछिमेक तथा अन्यले आफूमाथि दुव्र्यहार गरेको भन्दै उहाँले गुनासो गर्नुभएको हो ।

उहाँले चोटिलो व्यङ्ग्य गर्दै भन्नुभएको छ– ,’गाली गर्नेलाई यति धेरै माया छ कि झ्याप्प अँगालो हाल्न मन छ । उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको भन्दै रुघा, खोकी, ज्वरो, घाँटीको समस्या नरहेको बताउनुभएको छ । ‘खाना पनि स्वाद लिइलिइ खाइरहेकी छु । म सुरक्षित नै छु । मलाई माया गर्नुहुनेलाई धेरैधेरै धन्यबाद, गाली गर्नेलाई यति धेरै माया छ कि झ्याप्प अँगालो हाल्न मन छ,’ उहाँले भन्नुभएको छ ।
उनले भन्नुभएको छ–मेरो कुनै नियोजित योजना छैन । र, थिएन पनि कि सबलाई सार्दै हिँड्नु पर्छ । जुन दिनदेखि कन्ट्रयाक्ट ट्रेसिङमा परें, त्यस दिनदेखि कसैलाई छोएको छैन । सुरक्षित घरमै बसेकी छु ।’

उहाँले भन्नुभयो–,’ कसैको घरभित्र पसेकी छैन, सडकमा हिँड्दा रोग सर्छ भन्ने कस्तो धेरै ज्ञान भएको हाम्रो समाज रहेछ । अनाबश्यक कुरा गर्नेमा चेतनाको कमी रहेछ । आफू एक राजनीतिक व्यक्ति, सामाजिक अभियन्ता, अधिकारकर्मी भएको नाताले समाजका हरेक राम्रो कार्य अथवा हरेक घटनामा आफ्नो सहभागिताले र धेरै जनाको सम्पर्कमा रहने व्यक्ति भएकोले हामीमा पनि नहुन सक्ने सम्भावना कम नै हुन्छ ।’

‘कोरोना लाग्यो भन्दैमा डराइ हाल्नुपर्ने जस्तो मलाई लाग्दैन,’ उहाँले समुदायमा दिनानुदिन फैलिसकेको महामारी संक्रमणले सबै सचेत भएर सुरक्षित रहन आग्रह गर्दै सबैको माया र साथ अनि सहयोगमा प्राप्त आत्मबलले लडाई अबश्य जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हेटौंडाकी एक सामाजिक अभियन्ता उहाँ, जो कोरोना महामारीकै बीच दुःख, पीडामा परेकाको सहारा बन्नुभएको थियो । दीनदुःखी र समस्यामा परेकालाई उहाँ अनवरत् सहयोग गर्न खटिनुभयो । तर, आज उनै अभियन्ता छरछिमेकबाट तिरस्कृत हुनुभएको छ ।

स्थानीय टोल विकास संस्थाले स्थानीयस्तरमा यसबारे तत्काल काउन्सिलिङ गर्नुपर्ने उहाँले औंल्याउनुभएको छ । ‘जो समुदाय र सामाजिक क्रियाकलापमा बढी सक्रिय रही प्रत्यक्ष सहभागी हुन्छ, उसैलाई संक्रमण हुने भएकोले म आत्तिनुपर्ने अबस्था छैन,’ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्