समन्वयको खाँचो



प्रदेश नम्बर २ पछि कोरोना संक्रमणको हटस्पट बनेको वागमती प्रदेशमा कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको छ । संघीय राजधानी उपत्यकामा कोरोनाको गति बढिरहँदा दुई महानगरसहित १६ स्थानीय तहले खासै भूमिका निर्वाह गर्नसकेका छैनन् । संक्रमितलाई राख्ने आइसोलेशन तयार गर्ने विषयमा अझै गम्भीर बन्न सकेका छैनन् । स्थानीय निकायले तत्काल आइसोलेशन तयार गर्नुपर्ने आवाज उठिरहँदा उनीहरुले वेवास्ता गरिरहेका छन् । उनीहरुको एउटै रटान छ– आइसोलेशन हामीले बनाउने होइन संघीय सरकारले बनाउनुपर्छ ।

‘उपत्यका बाहिरका जनतालाई राख्ने आइसोलेशन हामी बनाउन सक्दैनौं’ उपत्यका मेयर फोरमले यसो भन्दै आइसोलेशन नबनाउने सार्वजनिक घोषणा गरेको छ । समन्वयको चरम अभाव देखाएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अध्यक्ष रहेको मेयर फोरमले संघीय सरकारले आइसोलेशन बनाउने र त्यसको व्यवस्थापन स्थानीय तहले गर्ने निर्णय गरिसकेको छ । उनीहरुको भनाईमा नाका पूर्णरुपमा सिल गरेपछि कोरोना संक्रमण बढ्न पाउँदैन, त्यसोभएपछि आइसोलेशन बनाउनु पर्दैन, स्वाथ्य मापदण्ड पूरा गरी कडाई गरे पुग्छ ।

२२ दिनअघि अर्थात साउन ७ गतेदेखि सरकारले लकडाउन हटाएको घोषणा गरेको थियो । घोषणा गरेको भोलिपल्टैदेखि उपत्यका प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको थियो । दैनिक ६ हजारको संख्यामा उपत्यका भित्रिने गरेको बताइएको छ । त्यसको पहिलो असर काठमाडौंको भित्री भाग महाबौद्धलगायतका क्षेत्रमा परेको थियो ।

ललितपुर र अन्य स्थानीय तहको अवस्थापनि त्यस्तै छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि एकजुट भएका महानगर र नगरपालिकाले राजधानीमा सार्वजनिक सवारी सधान बन्द गरी अझ कडाइ गर्न सुझाएका थिएका छन् । उनीहरुले संक्रमित राख्ने आइसोलेशन बनाउने विषयमा चासो देखाएका छैनन् । बाहिर जिल्लाका व्यक्तिलाई प्रवेश गर्न कडाइ गर्ने र आइसोलेशन बनाउने जिम्मा पनि सरकारले लिनुपर्ने बताएपछि उपत्यकाका स्थानीय निकायको आलोचना बढ्न थालेको छ ।

उपत्यकाका स्थानीय तहले बाहिर जिल्लाका जनतालाई भित्रिन नदिन बारम्बार केन्द्र सरकारलाई आग्रह गरेपछि उपत्यकासंग सिमाना जोडिएका जिल्लाका स्थानीय तह आक्रोशित भएका छन् । उनीहरुले उपत्यकामा सवारी छिर्नै नदिने चेतावनीसमेत दिन थालेका छन् । उपत्यका प्रवेशमा पूर्ण रोक लगाउने होइन स्वाथ्य सावधानी अपनाएर कडा चेकजाँच गरी आइसोलेशनमा बसेपछि मात्रै सम्बन्धित स्थानमा जान स्वीकृत दिनुपर्ने अन्य स्थानीय तहको धारणा छ । मेयर फोरमले भने तत्काल समस्या समाधान गर्ने एकमात्र उपाय नाका सिल गर्नुमात्र देखेको छ ।

पछिल्लो तथ्याङकअनुसार उपत्यकामा करिब १ हजार ६ सय संक्रमित थपिएका छन् । स्वाथ्यविज्ञले राधजानीलाई रेड जोनमा राख्न सुझाएका छन् । तर स्थानीय तहले यो कुरा बुझ्न सकेका छैन । संक्रमितहरु घरमै आइसोलेशनमा बसेको भनिएपनि त्यसको प्रभावकारी अनुगमन हुनसकेको छैन । यस्तो अवस्थामा संक्रमित देखिनासाथ स्थानीय तहले तयार गरेको आइसोलेशनमा बस्ने व्यवस्था गरे राजधानी कोरोना संक्रमणको रेड जोन र हट स्पटबाट जोगिने थियो । यस विषयमा उपत्यका मेयर फोरमले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्