अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरमा छात्रवृत्ति



अस्कर कलेज अफ फिल्म स्टडिज नेपालमा अध्ययन गर्ने १० जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन्। अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि १० जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका हुन्। यसअघि स्टुडियोले वर्षेनी ५ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको थियो।
३५ हजार रकमसहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो। तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा प्रदान गर्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन्। १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्रि पहिलो र दोस्रो वर्षमा चार–चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी रहेको पौडेलले बताए। इन्फिनिट स्टुडियो र अस्कर कलेजले २०७३ सालदेखि सहकार्य गर्दै आइरहेका छन्। कलेज र स्टुडियोबीच अरू कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ।
कलेजले बिहीबार नै स्थापना दिवस मनाएको छ। पौडेलले कलेजले ४ वर्षे कोर्स तयार गरिरहेको र नयाँ कोर्सले थप प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए।

प्रतिक्रिया दिनुहोस्