लेइप्जिग इतिहासमै पहिलो पटक सेमिफाइनलमा



एजेन्सी ।

जर्मन क्लब आरबी लेइप्जिग इतिहासमै पहिलो पटक युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब एट्लेटिको मेड्रिडलाई अप्रत्यासित रूपमा २–१ ले हार चखाउँदै आरबी लेइपजिग अन्तिम चारमा प्रवेश गरेको हो । योसँगै डिफेन्डिङ च्याम्पियन लिभरपुललाई अन्तिम १६ मा सनसनीपूर्ण रूपमा हराएर अघि बढेको एट्लेटिकोको यात्रामा पूर्णविराम लागेको छ ।

शुक्रबार बिहान पोर्चुगलको राजधानी लिस्बनस्थित इटाडियो जोसे अल्भालाडे रंगशालामा भएको खेलमा डिएगो सिमोनीको टोलीले अन्तिम समयमा गोल बेहोरेपछि उपाधि होडमा पूर्णविराम लाग्यो । एट्लेटिकोविरुद्ध लेइप्जिगले ८८औं मिनेटमा विजयी गोल गरेका थिए । केही दिनअघि मात्र आफ्नो प्रमुख स्टार फरवार्ड टिमो वार्नर बेचे पनि लेइप्जिग शानदार खेल खेल्दै उपाधि होडमा कायमै रहेको छ ।

तुलनात्मक रूपमा कमजोर मानिएको लेइप्जिगले खेल अवधिभरि नै शानदार प्रदर्शन गर्दा एट्लेटिको दवाबमा परेको थियो । खेलमा भएका ३ वटै गोल दोस्रो हाफमा भएका थिए ।
दोस्रो हाफ सुरु भएको ५ मिनेटमै लेइप्जिगका लागि ड्यानी ओल्मोले गोल गर्दै एट्लेटिकोलाई १–० ले पछि पारेका थिए । त्यसपछि दवाबमा परेको एट्लेटिकोका लागि खेलको ७१औं मिनेटमा स्थापन्न खेलाडी जोआओ फेलिक्सले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसअघि डिबक्समा लेइप्जिगका गोलकर्ता फेलिक्सलाई नै फाउल गरेर लडाएपछि उक्त पेनाल्टी दिइएको थियो ।

बराबरीतिर अग्रसर उक्त खेलमा लेइप्जिगले एट्लेटिकोका फरवार्डलाई खुलेर खेल्ने ठाउँ नै दिएन । एट्लेटिको त्यत्तिबेला स्तब्ध बन्यो, जब ८८औं मिनेटमा लेइप्जिगका लागि टेलर अडाम्सले विजयी गोल गरे । अनमार्क रहेका उनले ब्याक पासमा हानेको शक्तिशाली सट रिफ्लेक्ट हुँदै गोलपोस्टभित्र छिरेको थियो ।

दोस्रो गोल बेहोरेपछि एट्लेटिकोले खेलमा फर्किन लगातार संघ‌र्ष गरेपनि सफल हुन सकेन । खेलको इन्जुरी समयमा एट्लेटिकोले केही मौका पाए पनि बललाई गोलपोस्टको जाली चुमाउन नसक्दा अन्ततः २–१ ले स्तब्ध हुँदै क्वार्टरफाइनलबाटै बिदा हुनुपर्‍यो ।

जितसँगै सरप्राइजिङ्ग टोली लेइप्जिगले अब सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीसँग खेल्नेछ । बिहिबार बिहान भएको खेलमा पीएसजी इटालियन सिरी ए क्लब एट्लान्टालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्