धुलिखेल अस्पताल सिल



काभ्रे, (नेस)
धुलिखेल अस्पतालले परिसरको बीपी राजमार्गदेखि अस्पतालसम्म सिल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झा, अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारलगायत स्थानीय प्रतिनिधि बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
संक्रमित ९८ वर्षका समाजसेवी वद्धको धुलिखेल–७ निवास रहेको क्षेत्रको ५ सय मिटरवरपर सिल गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पतालले अति आवश्यकबाहेका सबै सेवा आइतबारदेखि बन्द गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पतालमा बिहीवार एक जना बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा ९८ वर्षका वृद्धकी बुहारी, एक नर्स, अर्का एक दमकका बिरामी र अस्पतालको अगाडि होटल व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भएलगतै धुलिखेल अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।
यसैबीच काभ्रेमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धुलिखेल नगरपालिकाले जनस्तरमै पीसीआर परीक्षणलाई व्यापक बनाउने भएको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका–१२ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताउनुभयो ।
हालसम्म काभ्रेमा संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, २२ जना वैदेशिक रोजगारबाट फर्किएका सर्वसाधारण र १८ जना कन्ट्रयाक ट्रेसिङ र अन्य कारणबाट संक्रमित हुनेहरु रहेको डा. झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्