कोरोनाको उच्च जोखिममा महानगरका कर्मचारी

स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाद्वारा बेवास्ता



ईश्वरराज ढकाल, काठमाडौं

सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका वा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाले बेवास्ता गरेका छन् ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरपालिकाभित्र कोरोना संक्रमित देखिएका व्यक्तिसँग निकट भएका परिवार, आफन्त र साथीभाइको कन्ट्याक्ट ट्रेसिङमा खटिने स्वास्थ्यकर्मीलाई बिदा नै नदिई खटाएको पाइएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा खटिने जनस्वास्थ्य अधिकृतलाई बिदा नदिएको स्वीकारेको छ । विभाग प्रमुख नरेन्द्रमान वज्राचार्यले जनस्वास्थ्य अधिकृतहरुको कमी भएका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘महानगरपालिकाका सबै वडामा खटिनुपर्ने भएकाले बिदाको व्यवस्था गर्न नसकेका हौं ।’ कामपालाई बिदा मिलाएर खटाउनुपर्छ भन्ने विषयमा जानकारी नभएको कारण हालसम्म सबै अधिकृतलाई कोरोना परीक्षण सम्पर्कमा नआएका व्यक्तिलाई खोजी गर्ने र संकलन गरिएको स्वाब परीक्षण गर्न पठाउने काममा खटाइएको छ ।

कामपाले राजधानीमा कोरोना संक्रमण देखिएलगत्तै परीक्षण गर्ने कामलाई तीव्रता दिएको थियो । त्यस बेलादेखि खटिएका जनस्वास्थ्य अधिकृत हालसम्म सोही काममा परिचालित छन् । कामपामा ३२ वडा छन् ।
सरकारको निर्णय पालना नगरी सबै दिन खटाएकोमा आपत्ति जनाउँदै एक अधिकृतले भने– ‘हामीमध्ये एक जनामा कोरोना संक्रमण देखियो भने सबै जना आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।’

‘हामी हरेक दिन काम गर्छांै, घरपरिवारसँगै बस्ने गरेका छांै’ –उहाँले भन्नुभयो । घरपरिवारसँग बस्दा जोखिम बढ्न सक्ने विषयमा दुवै महानगरले सोच्ने गरेको छैन । विभाग प्रमुख वज्राचार्यले यो विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताउनुभयो ।

कामपाले कोरोना संक्रमण र व्यवस्थापन गर्न आफ्ना २७ जनस्वास्थ्य क्लिनिकका १५ जनालाई परिचालन गरेको छ । वज्राचार्यका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न ३ जना अधिकृत रहने गरी ५ वटा टोली परिचालन गरिएको छ । टोलीले सम्पर्कमा आएका व्यक्ति पहिचान गरी ३ जना ल्याब टेक्निसियनले स्वाब संकलन गर्ने व्यवस्था गरेको छ ।

टेक्निसियनले स्वाब संकलन गरेपछि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रमा परीक्षण गर्न लैजाने व्यवस्था गरेको छ । कामपाले हालसम्म करिब ५ सयको कोरोना परीक्षण सम्पन्न गरेको जनाएको छ ।

ललितपुर महानगरको पनि समस्या त्यस्तै छ । महानगरका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कन्ट्याक्ट ट्रेसिङमा खटिएका कर्मचारीलाई परेको समस्याको विषयमा महानगरका मेयर चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई जानकारी गराइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हिजो बिहीबार हाम्रोे बैठक भएको थियो, मेयर र प्रमुख प्रशासकीय अधिकृतज्यूलाई छुट्टै कार्यालय र बस्नका लागि होटल वा कोठा उपलब्ध गराइदिन माग गरेका छौं ।’ कुराकानीको बारेमा जानकारी दिँदै गुरुङले भन्नुभयो– ‘सो विषयमा दुवैजनाले सहमति जनाउनुभएको छ ।’

‘ललितपुर महानगरले ३ जनाको दरले ५ जनाको कन्ट्याक्ट ट्रेसिङ टोली परिचालन गरेको छ । २ जना ल्याब टेक्निसियन छन्, उहाँहरुले स्वाब परीक्षण गर्ने गर्नुभएको छ’ –गुरुङले भन्नुभयो । उहाँले आफ्नो टिमले छुट्टै क्लस्टर बनाएर काम गरिरहेको जानकारी दिनुभयो । ललितपुर महानगरले हालसम्म ५ सयको पीसीआरसहित करिब १ हजार ६ सयको आरडीटी र पीसीआर परीक्षण गरिसकेको फोकल पर्सन गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘काम गर्न समस्या परेपछि सबैले मिलेर गरिरहेका छौं, सकभर कोरोना संक्रमितसँग टेलिफोनबाट जानकारी लिने गरेका छौं । आवश्यक परे अस्पताल पु¥याउन वा आइसोलेसनमा लैजान टेलिफोनबाटै व्यवस्था मिलाएका छौं ।’

पछिल्लो समय राजधानीका दुई महानगरमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा दुवै महानगरमा काम गर्ने स्वास्थ्यका कर्मचारीले उच्च जोखिम मोल्दै आएका छन् । दुवै महानगरले एक सिफ्टमा ५० प्रतिशत कर्मचारी बोलाएर काम नगराए राजधानीमा कन्ट्याकट ट्रेसिङमा काम गर्ने कर्मचारीको अभाव हुन सक्ने खतरा बढेको छ । दुई महानगरका स्वास्थ्यकर्मीलाई मात्रै होइन उनीहरुको परिवारमा पनि कोरोना संक्रमण हुन सक्ने खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्