ठिक्क तौल, स्वस्थ शरीर



शरीरको तौल ठीक राख्न सके स्वास्थ्य राम्रो हुन्छ ।’ यो त सबैले बुझेकै हो तर ठिक्क तौल कसरी बनाउने ? कसरी सधैँ फिट रहने ? स्वास्थ्यसम्बन्धी अधिकांश संस्थाह्रूको खोज तथा विशेषज्ञह्रूको भनाइअनुसार शरीरलाई सधैँ तन्दुरुस्त राख्न हप्तामा कम्तीमा पाँच दिन ३० मिनेट पसिना आउने गरी हिँड्न वा व्यायाम गर्न जरुरी छ । व्यस्त मानिसह्रूका लागि जिम, व्यायामशालामा कसरत गर्न सम्भव नहोला । त्यसका लागि छोटा विधिह्रू अपनाउन सकिन्छ ।

पाकेट बन्द खाना हेर्दा आकर्षक हुन्छन् र सहजै उपलब्ध हुन्छन् तर स्वस्थ एवं फिट रहनका लागि बाधक छन् । त्यसैले यस्ता खाना खानबाट बच्नुपर्छ ।

फिट रहने सजिला विधि : 

खाना खाएपछि मुन्टो निहुँर्‍याएर मोबाइलमा आँखा रन्काउनुभन्दा २० मिनेटजति हिड्नुहोस् । यसरी हिँड्दा खाएको खाना राम्ररी पच्छ । साथै मेटाबोलिजम  पनि राम्रो हुन्छ । पेटमा थप बोसो बढ्न पाउँदैन र मोटोपन वृद्धि हुनबाट जोगिन सकिन्छ । फिट हुने यो राम्रो उपाय हो ।

टेलिभिजन हेर्न बसेको समयमा हल्का तौल उठाउने प्रयास गरेमा पनि शरीर फिट राख्न मद्दत पुग्छ ।

घर, अफिस, मल, अपार्टमेन्टका तलाह्रू उक्लिनका लागि लिफ्टको प्रयोग नगरी हिँडेर उक्लिन गरौँ । यसरी तला उक्लिँदा मुटुले रगत बढी पम्प गर्छ र शरीरका सबै अंगमा रगत पुग्न गई अक्सिजन र पोषण सबै अंगमा पुग्छ ।

बिहान सवैरै उठ्नु स्वास्थ्यका लागि लाभदायक छ । एक्सरसाइज गर्ने वा प्रातः भ्रमणमा जाने काम बिहान अलि छिटो गरेमा शरीरमा अक्सिजनको मात्रा राम्ररी प्रवाह हुन्छ र फिट हुनका लागि मद्दत पुग्छ । बिहान अलि छिटो उठ्नाले शरीरका प्रत्येक अंगमा ताजा अक्सिजन पुग्न गई दिनभरि स्फूर्ति प्राप्त हुन्छ ।

छुट्टीका समयमा साथीभाइसँग भेटघाट गर्ने, सँगै हिँड्ने, ब्याडमिन्टन, टेबुलटेनिसजस्ता खेल खेल्ने गर्नाले तास खेल्ने र लामो समय टेलिभिजन वा मोबाइल फेसबुकमा अल्झिरहने लत पनि कम भएर जान्छ । यसले मन, मस्तिष्क एवं शरीर स्वस्थ राख्न तथा फिट रहन मद्दत पुग्छ ।

शरीको तौल बढाउने तथा अरु विभिन्न स्वास्थ्य समस्या सिर्जना गर्ने चिया, कफी, कोलड्रिंक्स, मदिराको सेवन सकेसम्म कम गर्नुपर्छ । धूमपान नछोएकै राम्रो । यसो गर्दा सधैँ फिट हुन सहयोग पुग्छ ।

फिटनेस कायम राख्नका लागि अस्वस्थकर खाना, जंक फूड, तेल–नून बढी भएका खानाबाट बच्नुपर्छ ।

पाकेट बन्द खाना हेर्दा आकर्षक हुन्छन् र सहजै उपलब्ध हुन्छन् तर स्वस्थ एवं फिट रहनका लागि बाधक छन् । त्यसैले यस्ता खाना खानबाट बच्नुपर्छ । यस्ता खानाले शरीरमा कोलेस्ट्रोल, रक्तचाप बढाउने हुन्छ । यसले शरीरको तौल पनि वृद्धि गरिदिन्छ । प्रोसेस्ड फूड स्वास्थ्यका लागि लाभदायकभन्दा पनि हानिकारक हुने भएकाले यस्ता खानाबाट सकेसम्म बच्नुपर्छ ।

साँझ ८ बजेसम्ममा बेलुकाको खाना खाइसक्नुपर्छ, राति ७ घन्टा राम्ररी सुत्नुपर्छ ।

खानामा फलफूल र गाजर, मुला, काँक्रोजस्ता हरिया खाद्यवस्तुह्रू समावेश गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्