घरमै बसेकी महिलामा कोरोना पुष्टि भएपछि तानसेनको मुख्य बजारक्षेत्र ‘सिल’



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा घरमै बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि मुख्य वजार क्षेत्र सिल गरिएको छ । पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फेैलिएको आशंका गरिएको छ । तानसेन–४, स्थित घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

घरमा वसेका मानिसमा कोरोना देखिएपछि सम्वन्धित वडावासी र नगरवासी थप शंशकित र चिन्तित वनेका छन् । समुदायमा कोरोना संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले एक सूचना जारी गरि विहीवार साँझ ८ वजेदेखि लागू हुनेगरी तानसेन नगरपालिकाको वडा नं ४ को पूर्वमा हुलाक चोक पश्चिममा गौरी शंकर गेष्ट हाउस, उत्त्तरमा टक्सार माछापसल र दक्षिणमा पेट्रोलपम्प को चार भित्रको विशालवजार क्षेत्र अर्काे निर्णय नभए सम्मको लागि शील गरिएको जनाउनु भएको छ ।

घरमै बसेर लुम्विनी मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना सङक्रमण देखियो पन्थीले भन्नुभयो पहिलो पटक समुदाय स्तरको मानिसमा कोरोना देखियो । ती महिला आफन्तको उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा सहयोग कार्यमा खटिएकी थिइन् । बुधबार स्वाब संकलन गरिएकोमा ती महिलाको रिपोर्ट बिहीबार आएको हो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीको थप उपचारका लागि काठमाडौँमा लैजाने प्रकृयाका लागि महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । महिलासँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विहिबार थपिएका एक जना संक्रमितसँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्