मोदी गाउँपालिकामा ५ दिनदेखि बिद्युत सेवा अबरुद्ध



न्युज अफ नेपाल,पर्वत ।

पर्वतको मोदी गाउँपालिकामा विगत पाँच दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । पातीचौर स्थित १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रमा जडित स्थानीय स्तरमा वितरण गर्ने ट्रान्सफरमरमा खराबी आएपछि विद्युत सेवा अवरुद्ध बनेको हो ।
ट्रान्सफर्मर जलेका कारण मोदी गाउँपालिकाका ८ वटा वडा र कुश्मा नगरपालिकाको वडा नं. १४ आर्थर डाँडाखर्कमा वितरीत विद्युत सेवा आइतवारदेखि विद्युत सेवा ठप्प बनेको छ ।

स्थानीय स्तरमा वितरण गर्नका लागि उत्पादन गृहमा जडित ३ एमविए क्षमताको ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत अवरुद्ध भएको मोदीखोला जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर पुरानो हुँदा पटक पटक समस्या आउने गरेको छ ।

बस्नेतका अनुसार १५ एमविए क्षमताका दुई वटा मेन ट्रान्सफर्मर भने नियमित रुपमा सुचारु भएका छन् । केन्द्रीय प्रशारण लाईनमा जडित विद्युतमा कुनै समस्या नभएपनि प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ३३÷११ केभिएको ट्रान्सफर्ममा खराबी आएको बस्नेतले बताउनुभयो ।

केन्द्र प्रमुख बस्नेतका अनुसार खराबी आएको ट्रान्सफर्मर मर्मतका लागि आयोजनकै प्राविधिक र पोखरावाट समेत प्राविधिक मगाएर प्रयास गरेपनि सम्भव नभएपछि नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि पहल भैरहेको छ । छिमेकी जिल्ला बागलुङ वितरण केन्द्रमा रहेको ३ एमविए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गर्ने प्रयास भैरहेको बताउँदै केन्द्र प्रमुख बस्नेतले शुक्रबार सम्म विद्युत सेवा सुचारु हुने जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनाराण झाले अवरुद्ध विद्युत सेवा सुचारु गर्नका लागि पहल भैरहेको बताउनुभयो । तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा २ हजार ५ सय भन्दा बढि ग्राहकहरु अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो । उहाँले जतिसक्दो छिटो उपभोक्ताहरलाई विद्युत लाईन दिनेगरी नयाँ ट्रान्सफर्मर परिवर्तन गर्नका लागि प्राविधिकहरुलाई परिचालन गरिएको बताउनुभयो ।

जिल्लामै जगेडा ट्रान्सफर्मर नहुँदा समय लागेको बताउँदै भोली सम्म विद्युत सेवा सुचारु हुने दावी गर्नुभयो । लामो समयसम्म विद्युत सेवा कटौती भएको भन्दै मोदी गाउँपालिकाका बासिन्दाहरु असन्नतुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्