प्वकः नायः गणेश र गोरखनाथ



प्रेममान डंगोल

पकनाजोल गणेशको खास नाम प्वकः नायः गणेश हो । प्वकः नायःको अपभ्रंश भएर पकनाजोल हुन गएको हो । यससम्बन्धमा एउटा रोचक किंवदन्ती पाइन्छ । एकपटक महादेवका अवतार मानिएका गोरखनाथलाई जाँड खान मन लागेछ । हुन त गुरु गोरखनाथले रक्सी खानुपर्ने भनी शास्त्रमा पनि चर्चित भएको पाइन्छ । गुरु गोरखनाथलाई त्यस बेला जँड्याहा पनि भन्ने गरिँदो रहेछ ।

गोरखाबाट काठमाडौंमा जोगीको रुप लिई घुम्न आएका गोरखनाथलाई जाँड खान मन लागेछ । जाँडको पसल ठमेल, गल्कोपाखा र पकनाजोलवरिपरि जंगलजस्तो थियो रे, कतै–कतै मात्र स–साना घर–छाप्रो र स–साना पसल थिए रे ! गोरखनाथ ठमेलको तलतिर पाखोमा पुग्दा त्यहाँ एउटा सानो छाप्रो देखेछन्, जहाँ एउटी बूढी आइमाईले जाँडरक्सी बेच्दै रहिछन् ।

गोरखनाथले त्यही छाप्रोमा अलख निरञ्जन भन्दै भित्र पसेर जाँडरक्सी खानुप¥यो भनी माग गरेछन् । त्यहाँ जाँड बेच्ने बूढी आइमाईलाई अनौठो लागेछ । ‘यो कस्तो जोगी होला जाँड खानुप¥यो भन्ने ? जोगीले त गाँजा मात्र खान्छन् नि !’ भन्ने मनमा लिँदै ती आइमाईले गोरखनाथ जोगीलाई ‘का का फय्तु’ अर्थात् ल ल बस्नू भनी स्वागत गरिन् ।

जाँड खान आएका जोगीलाई लौ खानुहोस् जाँड भन्दै बूढी आमैले एउटा ठूलो काँसको कचौरामा भरी जाँड राखिदिइन् । गोरखनाथ जोगीले त्यो एक कचौरा जाँड एक सासमै खाएर अरु पनि मागे । ती आमैले जाँड खुवाई नै रहिन् भने जोगीले पनि जाँड खाई नै रहे । बूढी आमैले जाँड खुवाउँदा–खुवाउँदा घ्याम्पोमा भएको जाँड आधी सकिइसक्यो, तैपनि जोगीले जाँड खान पुग्यो भनेनन् ।

गोरखनाथ जोगीको यस्तो चाला देखेर बूढी आमै अचम्म परिन् । उनले मनमनै सोचिन्– ‘जति जाँड खुवाए पनि पुग्यो नभन्ने यो कस्तो जोगी होला ? घ्याम्पोमा भएको पूरै जाँड खुवाए पनि यो जोगीले जाँड खान पुग्यो भन्लाजस्तो छैन ।’ अब के गर्ने होला, कसो गर्ने होला ? भन्ने चिन्ता गरी ती बूढी आमैले त्यहीँ नजिकै रहेको गणेशलाई पुकार्दै ‘ल हजुरकै शरणमा गणेश देवता ! यो जोगीलाई अघाउन्जेल जाँड खुवाउन सकूँ’ भनिन् ।

गोरखनाथ जोगी जाँड खाई नै रहन्छन् अनि बूढी आमै पनि जाँड खुवाई नै रहन्छिन् तर घ्याम्पोमा जाँड कम हुँदैन । जाँड त झन्–झन् घ्याम्पोमा भरिँदै आइरहन्छ । एउटा सिंगै घ्याम्पो जति जाँड खाइसकेपछि पनि बूढी आमैले जाँड ल्याउँदै खुवाउँदै गरिरहेको देखेर गोरखनाथ अचम्मित हुन्छन् । अनि गोरखनाथले ध्यान दृष्टिले हेर्दा घ्याम्पोको तल पिँधमा जाँडमुनि प्वकः (कट)को रुपमा गणेश विराजमान रहनुभएको रहेछ । गणेशले यसरी जाँडको घ्याम्पोमा बसेर बूढी आमैलाई सहयोग गरिरहेको देखेर गोरखनाथ जोगी गणेशको कृपा यसरी नै तपाईंलाई सधैँ भइरहोस् भनी धेरै आशीर्वाद दिएर जान्छन् ।

यसरी जाँडको कट प्वकःमा विराजमान हुनुभएकाले गणेशलाई प्वकः नायः भनिएको हो । प्वकः भनेको जाँडको कट र नायः भनेको नाइके हो । प्वकः नायःकै अपभ्रंश भएर पकनाजोल हुन गएको हो भनिन्छ । साथै जाँड बेच्ने बूढी आमैको प्रार्थनालाई सिद्ध गरिदिएकाले यस गणेशको नाम सिद्धिविनायक हुन गएको हो ।

यसरी जाँड खाएर गोरखनाथ जोगी मात्तिदै त्यहाँबाट हिँडेका थिए । भोलिपल्ट बिहान गोरखनाथ जोगीले भिक्षा माग्न जाँदा कसैले पनि एकमुठी भिक्षासमेत दिएनछन् । यस्ता जँड्याहा जोगीलाई पनि भिक्षा दिने ? भन्दै भिक्षा नदिएकाले गोरखनाथ क्रोधित भएछन् । त्यसपछि श्लेषमान्तक वनमा गई काठमाडौंमा भएका मुख्य–मुख्य नौवटा नागहरुको आसन बनाएर १२ वर्षसम्म तपस्यामा बसिदिएछन् । यसरी गोरखनाथले नागको आसन बनाई तपस्यामा लीन भएकाले १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो ।

चारैतिर हाहाकार भएकाले भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त र ललितपुरका ललितचक्र ज्यापु गरी तीनजना आसामको कामारुकामाक्षमा गई गोरखनाथका पनि गुरु आर्यावलोकितेश्वर करुणामयलाई यहाँ ल्याए । त्यसपछि गुरुको दर्शन गर्न गोरखनाथ आफ्नो आसनबाट उठेर गएपछि आसनका नागहरु आ–आफ्नो स्थानमा गएपछि वर्षा भई सहकाल भएको हो भनिन्छ । त्यसैले वर्षा र सहकालका देवता भनी करुणामय रातो मच्छिन्द्रनाथको जात्रा चलाइएको हो भनिन्छ ।

काठमाडौंका नेवारहरुका ठूला–ठूला भोजभतेर मनाउँदा एक हजारदेखि दुई हजारसम्म पाहुनाहरुलाई भोज खुवाउनुपर्ने हुन्छ । पाहुनाहरुलाई भोज खुवाउन जाँडरक्सी पार्दा अर्थात् बनाउँदा राम्रो होस्, कसैको आँखा नलागोस् भनी प्वकः नायः गणेशको नाममा किसली (पालामा चामल राखी त्यसमाथि एउटा सिंगो सुपारी राखिएको) भाकेर जाँडरक्सी पार्ने चलन छ ।

जाँडरक्सी तयार भएपछि सबैभन्दा पहिला प्वकः नायः गणेशलाई समेबजीसहित जाँडरक्सी राखी पूजा गर्ने गर्र्दछन् । दस÷बाह्रवटा घ्याम्पोमा जाँड र रक्सी तयार पारिएको हुन्छ । भोजको लागि अलिकता मात्र तल–माथि प¥यो कि अर्थात् जाँडरक्सीको स्वाद मात्रै बिग्रेमा पनि धेरै नै नाक्सान हुने र बेइज्जत पनि हुने भएकोले जाँडरक्सी पार्दा धेरै होसियारी अपनाउनुपर्ने हुन्छ । त्यसैले गणेशलाई भाकेर जाँडरक्सी पार्ने गरिएको हो । यो चलन अद्यावधि काठमाडौंमा चलेको पाइन्छ ।

नेवारहरुको आफ्नो संस्कृति र प्रचलनअनुसार विवाह गरेका नयाँ जोडी दुलहा–दुलहीले विवाहमा प्राप्त गरेको अर्थात् लिइराखेका सिंगो सुपारीहरु प्वकः नायः गणेशलाई चढाउन लैजाने गर्छन् । साथै जाँडरक्सी पनि चढाएर गणेशको पूजा गर्ने चलन छ । नेवारी संस्कृतिअनुसार विशेष गरेर दुलही हुनेलाई आफन्तहरु र निम्तालुहरुले दाइजोको रुपमा केही सामग्री वा नगद दिँदा दुलहीले सिंगो सुपारी ५÷६ वटा दिने गर्छिन् । यसरी दिएको सुपारी नजिकका आफन्त वा इष्टमित्र पाहुनाहरुमध्ये कतिपय त आफैंले लान्छन् भने कतिपयले दुलहीलाई नै फर्काइदिने चलन छ ।

त्यस्तै नवदम्पती विजयेश्वरीमा गई पूजा गरेर विजयेश्वरीको सिन्दुर प्रसादको रुपमा लिन्छन् अनि दुलहाले सो सिन्दुर सिउँदोमा हालिदिने चलन छ । यसबाट विजयेश्वरीको आशीर्वाद प्राप्त भई सुख–शान्तिपूर्वक नवदम्पतीको जीवनयापन हुनेछ भन्ने जनविश्वास रहिआएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्