दुई पाइलट, समुदायमाकोरोना र अराजकता



  • पेशल आचार्य

‘नेपालमा बहुमतको शासन पनि ठीक नहुने रहेछ भन्ने सन्देश समाजमा गैसक्यो’, एकजना लेखक तथा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरेका मेधावी विद्यार्थीले यो पंक्तिकारसँग भने । यसो भन्दा उनको मुहारमा उदासी थियो । धेरै मानिसलाई नेपालमा बहुमतको शासन हुँदा सतहमा देखिएका समाजका समस्याहरू सबै सिनित्तै भएर नाशिने छन् र ‘रामराज्य’ को स्थापना हुन्छ भन्ने आशा थियो तर त्यो सबै बिलाएर गयो ।

दुई पाइलटले चलाएको नेकपारुपी विमानमा पनि धेरै खराबी देखियो । पहिलो पुस्ताका नेताहरू अहंकारी, दम्भी र नमरुन्जेल आफ्नो पद नछोड्ने स्वभावका देखिए । गुट र उपगुटमा प्रायः सबै नेताहरू रमाएको देखियो । जे–जे सेवा–सुविधाहरूमा जनताले आशा राखेका थिए ती सेवा–सुविधाहरू त परै जाऊन् राज्यबाट नपाई नहुने सेवा–सुविधा पनि जनताले भनेका बेला पाएनन् ।

कोरोना कहरमा नेपाली राजनीतिमा देखिएका केही प्रतिनिधि घिनौना खेलहरूले गर्दा नेताहरूले तिनीहरूले आफ्नो बचेखुचेको पूर्वसाख पनि सखाप पारे । यो महारोग सत्तापक्षमा को–को सत्ताको भित्रिया हुने र कस–कसले सत्ताको बागडोर हासिल गर्ने भन्ने इसुमा तिनीहरूमा झगडाको बीउ भयो भने त्यसको ठीक उल्टो प्रतिपक्षमा भने निष्क्रियता, चरम निराशा, कार्यक्रमविहीनताको स्थिति र नेतृत्वको दिशानिर्देशपनको अभावमा नेपाली कांग्रेस पार्टी चरम विवादमा समेत आयो ।

नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा जस्तो खरो देखिनुपर्दथ्यो, त्यस्तो नदेखिँदा नेकपाभित्रकै केही दोस्रो र तेस्रो पुस्ताका नेताहरूले आफ्नै पार्टीका नेताका कार्यशैली र विचारका विपक्षमा प्रतिपक्षको सशक्त भूमिका निर्वाह गरे । यो शैलीको राजनीति नेपालमा यसअघि कहिल्यै देखा परेको थिएन, आफ्नो पार्टीकै विरुद्धमा आफ्नै पार्टीका नेताहरू विरोधी भएर लागेका । हुन त अहिलेको समाजमा घर, परिवार, समाज, गाउँ, जिल्ला र देशैभरि एउटै पार्टीमा पनिगुटैगुट रहेका छन् । यो दृश्य नेकपा, कांग्रेस, राप्रपा, संघीय समाजवादीमा मात्र होइन राष्ट्रिय राजनीतिको राजनीतिक रिहर्सल भर्खर थालिरहेका साझा पार्टी र विवेकशील नेपालीमा समेत देखिन थालिसकेका छन् ।

जन्मदै नेपाली राजनीतिज्ञहरूमा गुट र फुटको सोच हाबी हुनु, सबै खाले पार्टी क्रियाकलापहरूमा देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुभन्दा आफ्नो व्यक्तिगत वा गुटगत फाइदाका लागि काम गर्नु र अझ एक कदम अघि बढेर देशी÷विदेशी तत्वका गोटी भई काम गरेका विविध प्रमाणहरू जनताले देखिसकेका छन् । एमसीसी प्रकरण, सत्ताका लागि भएका छिनाझप्टी, सांसद अपहरण, अध्यादेशको अनर्गल आगमन र तुहिएको प्रकरणका साथै गज्जब भनी जनताका हृदयमा बसेका केही मन्त्रीहरूको ‘बचकाना प्रवृत्ति’ ले जनतालाई राजनीतिप्रति नै चरम निराश बनाएको अवस्था छ । कोरोनालाई बेसार भन्ने प्रधानमन्त्रीको वाणी र सलहलाई अङ्ग्रेजी गीत भन्ने कृषिमन्त्रीको बेतुकको बोली विवादमा मात्र आएनन्, नेगेटिभ भाइरल र उखानजस्तै कुस्थापितसमेत भए ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनका चेपाङहरूको घर जलाइएको सन्दर्भमा बोलेका कुराले उनी एक्कासि विवादमा तानिए । ‘जनताको घरलाई गोठ भनी नजानेको शैलीमा खसालेर बोलिएको बोली’ वास्तवमा माफी माग्नुपर्ने उनको विवादास्पद बोली जो थियो,समयान्तरमा सो त्यसै बिलाएर गयो ।

नेपाली राजनीतिक बजारमा यस्ता राजनीतिक फन्डाहरू तारन्तार आइरहेका छन्, जसले वर्ष दिनमा आउने गाईजात्रा र त्यसको हास्य रौनकतालाई राम्ररी सम्झाइदिने काम गरिरहेका छन् । कहिले बजेट निर्माण र वार्षिक कार्यक्रम तयसम्बन्धमा अर्थमन्त्रीका वाणीका रुपमा ती फन्डाहरू आउँछन् भने कहिले अन्य मन्त्रीहरूका वाणीबाट प्रकट हुन्छन् ।

देश गरिब छ, यो कुरा साँचो हो । देशमा महामारीको चपेटा छ, यो पनि साँचो हो । अहिले त अझ यो त्यस्तो देशमा गनियो कि जहाँ जनताको स्वास्थ्य स्थितिमा चरम लापर्वाही गर्ने र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको पनि देखे जनताले । आफूले भोट खसालेर जिताएका आफ्ना मनपर्ने नेताले आफ्नै जनताप्रति गरिएका राष्ट्रिय दिल्लगी र महाठट्टा आजसम्म कहिल्यै देखिएका थिएनन् ।

सिमानाका सवालमा एक देखिएका सबै राष्ट्रिय पार्टीहरू धार्मिक राष्ट्रवादको इस्सु रामको जन्मस्थलप्रति प्रमले गरेको टिप्पणी, एमसीसी सम्झौता, बजेट, बीआरआई नीति, भारतसँगको सम्बन्ध, विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने रणनीति, हवाई भाडामा सरकार र लिगेसी बोकेकै मन्त्रीको राल चुहाइ र कोरोना महामारीप्रति सरकारले देखाएको स्वास्थ्य रवैयामा नराम्रोसँग विभाजन भए । विश्लेषकहरूका शब्दमा ‘यतिखेर प्रदेश सरकारको काम त उतिसारो केही देखिएन तर स्थानीय तह यदि हुँदैनथ्यो भने देशमा महामारीको अर्को चर्को रुप देखिइसक्थ्यो ।’

लाजैगालै अहिले स्थानीय तह छन् र जनताको केही भनाइहरू सुनिएको छ नत्र केन्द्र र प्रदेशले निरीह जनताको कुरा सुन्नु त परै जाओस् लकडाउनमा गरिएका चरम बेथितिहरू नै जनताप्रति दोहो¥याउँथे । आवश्यक पूर्वतयारी र पर्याप्त पूर्वसूचना नै नभईकन भएको भनिएको पहिलो चरणको लामो लकडाउनले आहत भएर आफ्नो काम छाडेर घर जाने मजदुर र गरिब जनताको लाइनलाई चित्रण गर्दै केही बाम रुझान भएका नेपाली राष्ट्रिय पत्रपत्रिकाहरूले नै ‘नेपाली बामपन्थको मृत्यु र शोकयात्रा’ भनेरै किटेर लेखे पनि । यो अवस्था हेर्दा जनताले यति सशक्त र दरो सरकारबाट यति तल्लो तहको हेला एवम् हेलचेक्र्याइँ होला भनेर सपनामा पनि चिताएका थिएनन् ।

राजनीतिमा भनिन्छ एकथोक र गरिन्छ अर्कोथोक । नेपालमा त झन् पन्ध्र–बीस दिनमा एक–एकवटा राजनीतिक र आपराधिक घटनाहरूका फन्डाहरू देखापर्ने महारोग नै देखिन थालेका छन् ।यो अवस्था नेपालमा बहुदल र लोकतन्त्र आएपछि झन्–झन् धेरै भएको देखियो । यहाँ अहिलेको अवस्थामा गाउँ, जिल्ला, प्रदेश र देशमा प्रश्नैप्रश्नहरूका खात छन् तर कसैसँग पनि विवादरहित उत्तर भने छैन ।

जब देशबाट उत्तर सकिन्छ अनि त्यो देश ओरालो लागेको भान हुन्छ, जसको प्रमाण खोज्न अन्त कतै जानै पर्दैन । छिमेकी देश भारतलाई हेरे हुन्छ । मोदीको पहिलो कार्यकालमा देशका बुद्धिजीवी र कलाकारप्रति गरिएको करिब–करिब फौजदारी अभियोगजस्तै मानिने राज्यबाट भएका रवैया र अहिले उनले अख्तियार गरेको छिमेकी देशहरूप्रतिको जुन कूटनीति छ, त्यसले उनलाई असफल राजनीतिज्ञको कोटरीमा राख्छ, भलै उनले त्यहाँ पनि बहुमतकै शासन चलाइरहेका छन् ।

नेपालमा त अझ कहालीलाग्दो अवस्था छ । नेपालीहरूले लोकतन्त्र अझ समावेशी लोकतन्त्र र संघीयताका बारेमा भर्खर–भर्खर काम सिकिरहेका छन् । यो राजनीतिको मण्डीमा कतिको टिकाउ र बिकाउ हुन्छ, त्यो अहिले नै भन्नु चाँडो हुनेछ । धेरैतिरबाट प्रदेशका नेताहरूको भौतिक सुख–मोह, गाडी र अन्य विलासिताका साधनहरूले देखाएको महँगो शैलीलाई लिएर यत्तिको खर्च यस्तो तन्नम देशले धान्न सक्दैन कि भन्ने देखिन थालिसक्यो ।
देशले गर्नुपर्ने प्राथमिकताका कुराहरू धेरै छन् । खासगरी पूर्वाधार विकासका सवालमा लगानी र नीति अख्तियार गर्ने सवालमा देशका ठूल्ठूला पार्टीहरू चुकेका छन् ।

तिनीहरू तात्कालिकरुपमा पार्टीलाई चाहिने जनमतको खुशी बटुल्ने र अर्को चुनावमा आफ्नो भोट सेक्योर गर्ने कुराभन्दा धेरै टाढाको कुरा सोच्नै सक्दैनन् । अहिलेको स्थितिलाई विश्लेषण गर्ने हो भने, राज्य कोरोना महामारीको व्यवस्थापन र उपचारका सिलसिलामा धेरै ठाउँमा चुकेको देखियो । यो चुकाइले नेपाली राजनीति र नेताहरूको अक्षमतालाई पूर्णरुपमा उजागरै गरिदिइसक्यो ।

कहिल्यै कतै विचार नमिल्ने शेरबहादुर देउवा र केपी ओलीका विचार एमसीसीमा मिल्नु, प्रकारान्तरले बाबुराम र केपी ओलीकै मत पनि अहिले आएर एमसीसीमा मिलेको देखिनु र नयाँ र वैकल्पिक शक्तिका रुपमा उदाएका भनिएका साझा र विवेशशील नेपालीमा ऊर्जावान् युवाहरूलाई तान्न सक्ने भरपूर तागत नदेखिनु, यी र यस्ता कार्यहरूले नेपाली राजनीतिको आगामी बाटो त्यति सुखद लाग्दैन ।

जनतालाई अहिले कोरोनाले सताएको छ । विदेशबाट नेपालीहरू सजिलो गरी देशमा भित्रिन सकेका छैनन् । सलहले किसानहरू रोइरहेका छन् । बाढी र पहिरोले धेरै नेपालीको घरवास नै उठाएको स्थिति पनि छ । यस्तो अवस्थामा गरिब तथा निमुखा नेपाली जनताको सदैव दुहाइ दिने एकमात्र बहुमतप्राप्त कम्युनिस्ट सरकार यसरी लरबर गरेर शासन चलाऊला भन्ने जनताले सय मनमा एकमनले पनि सोचेका थिएनन् ।

अझ यस्तो विषम परिस्थितिमा बिचौलिया, कमिसन खोर, दलाल र आपराधिक गतिविधिले दह्रोसँग टाउको उठाऊला भनेर कसैले पनिसोचेका थिएनन् । यो दुई वर्षमा भएका देशका गतिविधिहरूलाई दुई कोलम बनाएर सूचीकृत गर्नु र तिनीहरूले समाजमा पारेका राम्रा एवं नराम्रा पक्षहरूको सिंहावलोकन गर्ने हो भने धेरैजसो विशेषताहरू नराम्रा नै देखिनेछन् । यसरी स्वच्छ, स्वस्थ र निष्पक्ष एनालाइसिस गर्ने नेपालीहरूको समूह भविष्यमा जब बढ्दै जानेछ अनि मात्र त्यत्रा मानिसको सहादतबाट प्राप्त लोकतन्त्र पूर्णरुपमा स्थायित्वको बाटोमा जानेछ । त्यो दिनका लागि अब नेपाली युवाहरू खासगरी भिजन, मिसन र गोल बनाएरै लाग्नुपर्ने अवस्था देखिएको छ ।

भनिन्छ नि, ‘कालो बादलभित्र चाँदीको घेरा हुन्छ ।’ अहिले देखिएको लोकतन्त्रमा कालो बादल मडारिएको छ तर त्यो पूरै कालो बादलभित्र पसिसकेको भने छैन । त्यहाँ केही सेता चाँदीका धर्काहरू पनि देखिएका छन् । त्यसलाई युवा ऊर्जा र मनले देशहितमा प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्