मर्दै नागरिक



कोरोना के हो र कसरी सर्छ भन्ने बिषयमा जो कोहीले पूर्ण जानकार भएझैं बोलेको सुनिन्छ । तर व्यवहारमा उतार्ने विषयमा भने अत्यन्तै लापरबाही गरेकै कारण पछिल्लो समय कोरोना संक्रमितको दर ह्वातै बढेको छ । शुरुका दिनमा अमेरिका, युरोपमा कोरोना संक्रमणका साथै मृत्यु हुनेको संख्या ह्वात्तै बढेको सुन्दा अनौठो मान्ने नेपाली जनता अहिले आफै संक्रमित भै अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्न बाध्य भएका छन् ।
नेपालमा एक सातादेखि दिन दुईगुना रात चौगुनाले कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या बढ्नु डरलाग्दो विषय हो । साउन २६ गते सोमबार काठमाडौको किस्ट अस्पतालमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएकी काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको घटनाले राज्यको अवस्था कति विदीर्ण रहेछ प्रमाणित गर्दछ । उनी चारवटा अस्पताल पुग्दा पनि उपचार नपाएपछि पाचांै अस्पतालमा बल्ल भर्ना मात्र पाइन् । उनी साउन १८ गतेदेखि स्थानीय औषधि पसल हुँदै साउन २३ गते पाँचखाल नगरपालिकाको स्वास्थ्य चौकी, धुलिखेल अस्पताल, २४ गते भक्तपुर अस्पताल, सोही दिन केएमसी अस्पताल सिनामंगल, पाटन अस्पताल अन्तमा किष्ट मेडिकल कलेजमा पुग्दा उनी कोरोना संक्रमित भैसकेकी थिइन् । सार्वजनिक यातायातका साधन प्रयोग गर्दै गाउँदेखि शहरका कुना–कुना चहार्दाचहार्दै कहाँबाट कोरोना सल्कियो, पत्तै नपाई मृत्युवरण गर्न पुगिन् । यो सबै हुनुको प्रमुख कारण सत्ता चलाउनेहरुको साँघुरो सोच र कमजोरी नै प्रमुख कारण हो । सर्वसाधारण जनताले स्वास्थ्य सेवाका लागि अस्पताल पुग्दा तिमी पैसा तिर्न सक्दिनौ, तिम्रा लागि उपकरण छैन, अन्त जाऊँ भन्दै उपचारका लागि अस्पताल पुगेका व्यक्तिलाई थप यातना दिइन्छ । राज्यले लकडाउन खुकुलो गरेको भन्दै काठमाडौंलाई सुरक्षा गर्ने बहानामा सर्वसाधारण जनतालाई अनावश्यक रुपमा यातना दिंदैछ । काठमाडौं छिर्ने नाकाहरुमा यात्रुलाई झारेर भेडाबाख्राजस्तो अर्को गाडीमा चढ्नका लागि भिडभाड गर्दै कुद्नुपर्छ । नियमित रुपमा चल्ने सार्वजनिक यातायातका साधनलाई सुरक्षित रुपमा यात्रु राखेर काठमाडौंसम्म पुगी उक्त साधनको निर्मूलीकरण गरेर मात्र यात्रु चढाउन पाउने नियम लागु गरेको भए सायद परिणाम दुखद हुनेथिएन । उनी किष्ट अस्पतालसम्म पुग्न, अनेकोट—पाँचखाल, पाँचखाल—धुलिखेल, धुलिखेल—साँगा, साँगा—भक्तपुर, भक्तपुर—सिनामंगल, सिनामंगल—पाटन, पाटन—किष्टअस्पताल गर्दा सातवटा सार्वजनिक यातायात प्रयोग गर्न बाध्य भईन् । एउटा बिरामी उपचारका लागि यसरी घुम्नुपर्छ भने राज्य कहाँ छ ?
व्यवस्थापन पक्षमा सुधार नगर्ने हो भने आज सरकारले कोरोना संक्रमणको नियन्त्रणको जो सपना देखेको छ, त्यो केबल सपना मात्र हुनेछ । यस विषयमा सरकारले मात्र कोसिस गरेर नियन्त्रण गर्न सम्भव देखिन्न । हरेक व्यक्ति आफै जिम्मेवार भएर आपूm, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्नतर्फ लागे मात्र कोरोना संक्रमणबाट देश जोगिन्छ । सरकारले पनि चार भञ्ज्याङमा कुखुरालाई बार लगाए जसरी नागरिक रोकेर कोरोना काठमाडौं छिर्दैन र काठमाडांै, भक्तपुर, ललितपुर मात्र नेपाल हो भन्ने साँघुरो सोचका साथ काम गर्न छोड्नुपर्छ । राज्यबाट नागरिकलाई अकालमा मृत्यु वरण गर्ने वातावरण तयार पार्ने कार्य हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्