रेफ्री बुवाले छोरालाई जरिबाना तिराए



लन्डन, (एजेन्सी)
गत वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा ५ सय विकेट पँरा गरेका स्टुआर्ट ब्रोडलाई उनकै बुवा रेफ्री क्रिस ब्रोडले जरिबाना तिराएका छन्।
ब्रोडले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा विपक्षी खेलाडीलाई अपशब्द बोलेकोले ब्रोडलाई सजाय दिइएको हो। बलर ब्रोडलाई खेलको १५ प्रतिशत जरिबाना तिराएको छ। यसरी बुबाबाट सजाय पाउने उनी पहिलो क्रिकेटर पनि बनेका छन्।
गत साता म्यानचेस्टरमा समाप्त भएको पहिलो टेस्टमा यासिर शाहलाई आउट गरेपछि ब्रोडले तुच्छ शब्द प्रयोग गरेका थिए। यो घटना टेस्टको दोस्रो इनिङका दौरान ४६औं ओभरमा भएको थियो। मैदानका अम्पायर रिचर्ड केटलब्रो र रिचर्ड इलिङवर्थ, तेस्रो अम्पायर माइकल गौफ तथा चौथो अम्पायर स्टिभ ओहैगुनेसले ब्रोडमाथि उक्त आरोप लगाएका थिए। ब्रोडले स्वीकार गरेपछि यसको औपचारिक सुनवाइको आवश्यक पनि भएन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को तर्फबाट जारी बयानअनुसार ब्रोडलाई आईसीसीको कोड अफ कन्डक्ट को धारा २ को उपदफा ५ अनुसार उनी दोषी पाइएका हुन्। जुन अन्तर्राष्ट्रिय खेलमा अनुचित भाषा, गलत व्यवहारसँग जोडिएको छ। यसका साथै ब्रोडको रेकर्डमा एक डिमेरिट प्वाइन्ट जोडिएको छ। यो उनको २४ महिनामा तेस्रो अपराध थियो र उनको खातामा कुल ३ डिमेरिट अंक जम्मा भएको छ।
यसअघि ब्रोडले २७ जनवरी २०२० मा दक्षिण अफ्रिकाविरुद्धको चौथो टेस्टमा र १९ अगस्ट २०१८ मा भारतविरुद्धको तेस्रो टेस्टमा पनि नियमको उल्लंघन गरेका थिए। आईसीसीको नियमअनुसार लेभल १ को उल्लंघनमा कमसेकम आधिकारिक चेतावनी, अधिकतम खेल ‘फी’ को ५० प्रतिशत जरिवाना लगाउने गर्छ। त्यसपछि सम्बन्धित खेलाडीको खातामा एक वा दुई डिमेरिट अंक पनि जोडी दिएको हुन्छ।
ब्रोडले पछिल्लो महिनामा वेस्ट इन्डिजविरुद्धको टेस्टमा ५ सय विकेट लिएका थिए। उनी ५ सय विकेट लिने इंग्ल्यान्डका दोस्रो बलर हुन्। पहिलो नम्बरमा जेम्स एन्डरसन रहेका छन्। साथै, उनी टेस्टमा ५ सय विकेट पँरा गर्ने विश्वका सातौं बलर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्