सञ्जय दत्त क्यान्सरसँग जुध्दै



बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनलाई तेस्रो चरणको फोक्सो क्यान्सर भएको हो।
उनलाई क्यान्सर भएको खबर बाहिर आएपछि उनकी पत्नी मान्यता दत्तले सञ्जयको स्वास्थ्यलाभका लागि कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै सकरात्मकता फैलाउन आग्रह गरेकी छिन्। बीबीसीको अनलाइन सेवामा जनाइएअनुसार मान्यताले बुधबार भनेकी छिन्– ‘म सञ्जुको फ्यानलाई यो आग्रह गर्छु कि तपाईंहरू कुनै पनि प्रकारको अफवाह र अनुमानमा नपर्नुहोला। म चाहन्छु कि यसै गरी सपोर्ट गर्नुहोला।

पछिल्ला केही वर्षयता हाम्रो परिवारले कतिपय अप्ठ्यारा झेलेको छ। मलाई विश्वास छ कि यो समय पनि बित्नेछ। सञ्जु र हाम्रो परिवार सधैं फाइटरका रूपमा रहेका छौं। भगवान्ले फेरि एकपटक हाम्रोसामु चुनौती खडा गरी परीक्षा लिने फैसला गरेका छन्। तपाईंको मद्दतले सधैंजस्तो हामी विजेता बनेर आउनेछांै। यो समयमको प्रयोग सकरात्मकता फैलाउनका लागि गर्नुहोला।’ यसअघि सञ्जय दत्तले मंगलबार ट्विटरमा ट्विट गर्दै उपचारका लागि कामबाट ब्रेक लिने जनाएका थिए।

श्वास फेर्न कठिनाई भएपछि सञ्जयलाई केही दिनपहिले अस्पताल भर्ना गरिएको थियो। यो कोरोना भाइरस कोभिड–१९ को लक्षण थियो। तर, कोरोना परीक्षण नेगेटिभ आएपछि उनका फ्यान खुसी भएका थिए। त्यो सानोतिनो समस्या थियो र समाधान भयो तर जब सञ्जय दत्तले ट्विट गरेर कामबाट ब्रेक लिने घोषणा गरे, बलिउड फिल्म नगरीमा सनसनी फैलिन पुग्यो। उनले स्वास्थ्य उपचारका लागि ब्रेक लिने जनाउँदै आफ्ना साथी र परिवार आफ्नो साथमा रहेको उल्लेख गरेका थिए।

‘म मेरा शुभचिन्तकहरूलाई भन्न चाहन्छु कि डराउनुपर्ने कुनै कुरा छैन, म चाँडै फर्कनेछु।’ –उनले ट्विटमा भनेका थिए। पछि उनलाई फोक्सोका क्यान्सर भएको र त्यो तेस्रो चरणमा पुगेको थाहा भएको थियो। उनी क्यान्सर उपचारका लागि अमेरिका जान सक्ने आजतकले जनाएको छ।

सञ्जय स्वास्थ्य अवस्था बिग्रनुअघि व्यस्त थिए। उनी सडक–२ मा आलिया भट्ट र आदित्य राय कपुका साथ देखिनेछन्। उनको फिल्म टोरबाज पनि रिलिजको संघारमा छ। त्यसै गरी केजीफ पार्ट–२ मा देखिँदै छन्। केहीअघि केजीफ पार्ट–२ को सञ्जयको लुक्स सार्वजनिक भएको थियो। यसबाहेक उनी अजय देवगणका साथ एक फिल्ममा काम गरिरहेका थिए। क्यान्सर भएको थाहा पाएपछि उनका फ्यानहरूले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्