पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो



काबुल ।अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ ।यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन् ।

प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन् । त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पनि मारिएका बताइएको छ ।अफगानिस्तानको सरकारले गएको आइतबारदेखि तीन दिनसम्म आफ्नो थुनामा रहेका कैँदीहरु रिहा गर्ने कार्यक्रम राखेको थियो ।

आइतबारदेखि तीन दिनसम्म जारी राखिएका ती समारोहहरुमा कम्तीमा पनि ४०० जना तालिबान लडाकूहरुलाई सरकारले आफ्नो थुनाबाट मुक्त गरिदिएको छ ।यहाँका सञ्चारमाध्यमहरुले भने सरकारले तालिबानहरुलाई रिहा गरिरहेको समयमा पनि उनीहरुका हिंसात्मक हमलाहरु नरोकिएको बताएका हुन् ।

अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तको मुकर जिल्लामा भएका आक्रमणहरुमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । त्यस्तै नान्गाहारमा पनि तालिबानले गरेको आक्रमणमा परी कम्तीमा पनि छ जना अफगानिस्तानका सुरक्षाकर्मीसहित केहीको ज्यान गएको छ ।

उता कुन्दुज प्रान्तमा भने उनीहरुले आफैले विस्फोट गराएको बम लागेर १० जना भन्दा बढी तालिबानको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्