लुकाकुको युरोपा लिगमा कीर्तिमान



मिलान, (एजेन्सी)
इन्टरमिलानका स्ट्राइकर रोमेलु लुकाकुले युरोपा लिगमा लगातार नौ खेलमा गोल गर्दै नयाँ कीर्तिमान रचेका छन्।
सोमबार राति डोसेलडर्फमा भएको क्वार्टरफाइनल खेलमा इन्टरमिलानले बायर लिभरकुसेनलाई २–१ ले हराएको खेलमा लुकाकुले गोल गरेका हुन्। यो जितसँगै सिरी ए टोली इन्टर मिलान सेमिफाइनलमा पुगेको छ ।
निकोलो बारेलाले १५औं मिनेटमा २० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलमा परिणत भएपछि इन्टर १–० ले अघि बढेको थियो। त्यसको ६ मिनेटपछि लुकाकुले एस्ली योंगको पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए। उनको यो सिजनको व्यक्तिगत ३१औं गोल पनि हो। जर्मन क्लब बायरका काइ हाभर्टजले तीन पछि एक गोल फर्काए। तर,त्यसपछि कुनै गोल नभएपछि इन्टरले अन्तिम चारको स्थान सुरक्षित गरेको थियो।
बेल्जियन स्ट्राइकर लुकाकु यूएफा कप वा युरोपा लिगमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। तापनि, यसमा २०१४–१५ सिजनमा एभर्टनका लागि ५ खेलमा गरेको गोल पनि समावेश गरिएको छ। यसअघि लुकाकुुले न्युक्यासलका एलान सिररले लगातार ८ खेलमा गोल गरेको कीर्तिमानसँग बराबर गरेका थिए। उनी इन्टरका लागि लगातार ६ युरोपेली खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बन्न पुगेका छन्।
इन्टर सन् २०११ मा कोपा इटालिया जितेयता पहिलो ट्रफी जित्न दुई खेल टाढा छ। हालै समाप्त भएको इटाली सिरी ए मा इन्टर १ अंकले मात्रै लिग विजेता बन्नबाट वञ्चित भएको थियो भने युभेन्ट्स नवौंपटक लगातार उपाधि जित्न सफल भएको छ।
म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत सोमबार राति कोपेनहेगनलाई १–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ। अतिरिक्त समयमा पाएको पेनाल्टी गोलमार्फत युनाइटेडले जित हात पारेको हो। ९५औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरेका थिए।
सेमिफाइनल खेलहरू १७ र १८ अगस्टमा हुनेछन् भने फाइनल खेल कोलोन शहरमा २१ अगस्टमा हुनेछ। युरोपा कपका सबै खेल जर्मनीको ४ रंगशालामा भइरहेका छन्। यसअघि २७ मे मा पोल्यान्डको शहरमा हुने भनिएको थियो। कोरोनाका कारण खेल जर्मनीमा सारिएको छ।

प्रतिक्रिया दिनुहोस्