प्राविधिक र नृत्य कलाकारका लागि विकास बोर्डले दियो १६ लाख राहत



रश्मी थापा

कोराना संक्रमणबाट हुने कोभिड–१९ को महामारीका कारण फिल्म निर्माण, वितरण र प्रदर्शनका सम्पूर्ण कार्यहरू ठप्प भएपछि आर्थिकरूपमा समस्यामा परेका प्राविधिक र नृत्य कलाकारहरूलाई चलचित्र विकास बोर्डले नगद राहत उपलब्ध गराएको छ।

कोरोना महामारी तथा यसको जोखिमबाट बच्न सरकारले लगाएको लकडाउनदेखि हालसम्मको अवस्थाबाट फिल्मकर्मीहरूलाई आर्थिक समस्या भएपछि फिल्मसँग सम्बन्धित संघ–संस्थाले राहत तथा सहयोगका लागि बोर्डलाई गुहार्दै आएका थिए। नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र उपकरण व्यवसायी संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघलगायतले लकडाउनका कारण ठप्प भएको चलचित्र क्षेत्र तथा यसका कारण समस्यामा परेका फिल्मकर्मीलाई राहत प्रदान गर्न बोर्डसँग माग गरेका थिए। संघ–संस्थाहरूले भिन्न–भिन्न प्रकारका माग राखे पनि प्रायःले राहतको माग गरेका थिए।

सोहीबमोजिम बोर्डले आन्तरिक स्रोतबाट प्राविधिक र नृत्य कलाकारहरूलाई राहतस्वरूप रकम सहयोग गरेको हो। बोर्डले पर्दापछाडि बसेर नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउँदै आएका प्राविधिकहरूलाई राहत प्रदान गर्न नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र नृत्य संघसँग समस्यामा परेका प्राविधिक तथा नृत्य कलाकारको नामावली मागेको थियो। सोबमोजिम २ सय जना प्राविधिक र १ सय २० जना नृत्य कलाकारका लागि गरी बोर्डले प्राविधिक संघलाई १० लाख तथा नृत्य संघलाई ५ लाख रुपियाँ गरी कुल १६ लाख रुपियाँ उपलब्ध गराएको छ।

बोर्डले पहिलो चरणमा आर्थिक समस्यासँग जुधिरहेका २ सय प्राविधिकको नामावली मागे पनि संघले २ सय २० जनाको नाम पठाएको थियो भने बोर्डले त्यसमध्ये २ सय प्राविधिक छनोट गरी संघलाई १० लाख रुपियाँ उपलब्ध गराएको छ। बोर्डले प्राविधिक संघले उपलब्ध गराएको नामावलीका आधारमा प्राविधिकहरूकै नाममा जनही ५ हजार रुपियाँको चेक उपलब्ध गराएको हो। प्राविधिक संघले थप प्राविधिकहरूलाई राहत उपलब्ध गराउन थप नामावली बोर्डमा पठाएको संघका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्।

त्यसै गरी नेपाल चलचित्र नृत्य संघका सचिव दीपेन्द्र तिमल्सिनाले कोरोना महामारीका कारण समस्यामा परेका नृत्य कलाकारहरूलाई बोर्डबाट प्रतिव्यक्ति ५ हजारका दरले १ सय २० जनालाई गरी ६ लाख रुपियाँ राहत आएको बताए। ‘हामीले कोरोनका कारण समस्यामा परेका २ सय ४० जनाको नाम पठाएका थियौं। जसअनुसार पहिलो लटमा १ सय २० जनाका लागि बोर्डबाट ६ लाख रुपियाँ राहत आएको छ।

बाँकी १ सय २० जनाका लागि भने भाद्र मसान्तसम्म राहत आउने भनिएको छ’, तिमल्सिनाले जानकारी गराए– ‘यसरी आएको रकम हाम्रो संस्थामा सक्रिय सदस्यहरूले संस्थाको परिचयपत्रका साथै सम्बन्धित वडाको सिफरिसपत्र ल्याएर बुझाउनुपर्नेछ र उक्त डकुमेन्ट विकास बोर्डमा पठाउनेछौं। उताबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई रकम हस्तान्तरण गर्नेछौं। यदि गैर नृत्य कलाकारलाई बाँडिएको खण्डमा रकम फिर्ता हुने पनि भनिएको छ।’

बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण समस्यामा परेका फिल्मकर्मीलाई राहत तथा सहयोग गर्नका लागि विभिन्न खाले पहल गरिरहेको तथा हालै उपलब्ध गराइएको राहत रकमबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने बताए।

प्रतिक्रिया दिनुहोस्