रंगशालामा आइसोलेसन



हेटौंडा, (नेस)
मकवानपुरमा कोरोना संक्रमित बढ्दै गएपछि हेटौंडाको गौरीटारमा रहेको रंगशालालाई आइसोलेसन बनाइने भएको छ।
दिनहुँजसो कोरोना संक्रमणमा बढ्दै गएपछि हेटौंडा–६, गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) क्षेत्रमा रहेको ब्वाइज होस्टललाई कोरोना आइसोलेसन वार्ड बनाइने उपमहानगरकामेयर हरिबहादुर महतले बताउनुभएको छ।
३० वटा बेड भएको होस्टलका बेडहरू राखेर कोरोना संक्रमितको उपचार गर्न सकिने र केही रुमलाई आईसीयू तथा भेन्टिलेटरसहित व्यवस्थापन गर्न सकिने मेयर महतले बताउनुभएको छ।
खेलकुद प्रतिष्ठानको खेलाडी होस्टल प्रयोग गर्दा सबैभन्दा उपयुक्त देखिने र बिरामीको चाप पनि धान्नसक्ने भएका कारण उक्त भवनलाई आइसोलेसन वार्डका रूपमा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो। हाल उक्त भवनमा सरसफाइ भइरहेको र केही दिनभित्र आइसोलेसन वार्ड निर्माण हुने मेयर महतको भनाइ छ।
हेटौंडा अस्पतालका ज्वरो क्लिनिक संयोजक डा. हरि खड्काले सरकारले आवश्यक जनशक्ति तथा उक्त स्थानमा अस्पताल बनाउन आवश्यक सामग्री प्रदान गरेमा लेभल वानको कोभिड अस्पताल सञ्चालन गर्न सकिने बताउनुभयो।
६ वटा प्रशासनिक रुम भएको भवनमा क्यान्टिन, कन्फरेन्स हल तथा संक्रमितका लागि योगा गर्ने, सामान्य एक्सरसाइज गर्ने पर्याप्त स्थान छ। स्थानीय समुदायबाट टाढा रहेको उक्त स्थानमा कोभिड अस्पताल निर्माण उपयुक्त हुने मेडिकल ल्याब एसोसिएसन (मेलान) का केन्द्रीय नेता उत्सव चौलागार्इंले बताउनुभयो। साथै, उहाँले आइसोलेसन वार्ड उच्चस्तरको बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र मेयर महतसहितको टोलीले मंगलबार रंगशाला अवलोकन गरेको हो। अनुगमनमा उपमहानगर र हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीसहितको टोली थियो।

 

 

प्रतिक्रिया दिनुहोस्