मेलम्चीको गेट पुनः बनाइँदै

मेलम्चीको पानी फेरि अनिश्चित



नेपाल समाचारपत्र, काठमाडौं

सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुटेर भएको दुर्घटनापछि मेलम्ची खानेपानी आयोजनाले गेट पुनर्निर्माणको कार्य अगाडि बढाएको छ ।

दुर्घटनापछि बनेको छानविन टोलीले दिएको सुझावअनुसार आयोजनाले सुरुङको गेट पुनर्निर्माण थालेको हो ।
सुरुङ परीक्षणका क्रममा असार ३० गते सुरुङको गेट एक्कासि फुटी दुर्घटना हुँदा इन्जिनियर सतिश गोइतको मृत्यु भएको थियो भने चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् । त्यस्तै साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङ घाइते भएका थिए । गेट फुटेर चारै जनालाई सवारीसहित बगाएको थियो ।

यो घटनापछि खानेपानी मन्त्रालयले छानविन टोली गठन गरी अनुसन्धान गरेको थियो । जसमा टोली घटनास्थल र आयोजनाको डिजाइनलगायतको कागजात अध्ययन थालेको थियो ।

टोलीले आयोजनाको डिजाइन पालना नगरी सुरुङको गेट बनाउँदा दुर्घटना भएको निष्कर्ष निकाल्यो । गेटको ढोका भित्रबाट खुल्नुपर्नेमा बाहिरबाट खुल्ने बनाउँदा ढोकामा चाप परी गेट फुट्न गएको छानविन समितिको निष्कर्ष छ । आयोजनाको डिजाइनमा पनि गेटको ढोका भित्रैबाट खुल्ने रहेको थियो । त्यस्तै छानविनमा छोटो नटबोल्टको प्रयोग पनि दुर्घटनाको कारक रहेको पाइएको थियो ।

आयोजनाका सहप्रवक्ता राजेन्द्र पन्तले छानविन टोलीले दिएको सुझावअनुसार र आयोजनाको डिजाइनअनुसार नै गेटको ढोका भित्रबाट खुल्ने गरी सुरुङको गेट पुनर्निर्माणको काम भइरहेको बताउनुभयो ।

‘दुर्घटनापछि विज्ञ टोलीहरुले पनि अध्ययन गरियो । छानविन समितिले दिएको सुझावअनुसार गेट पुनर्निर्माण थालेका छौं’ –उहाँले भन्नुभयो ।

अम्बाथानमा रहेको गेट परीक्षणका क्रममा फुटेको थियो । त्यसबाहेक ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा पनि उस्तै प्रकृतिको गेट बनिसकेको थियो ।

यी सबैलाई डिजाइनअनुसार सुरुङ भित्रपट्टि खुल्ने र लामो नटबोल्टले गेटको फ्रेम कस्सेर मजबुत बनाउन आयोजनाले जोड दिएको आयोजनाका सहप्रवक्ता पन्तले बताउनुभयो ।

आयोजनाले थप जोखिम नहोस् भन्दै सूक्ष्म ढंगले हेरिरहेको जनाएको छ । गेट पुनर्निर्माणको कार्य असोज मध्यसम्ममा सम्पन्न गरिसक्ने ठेकेदार पक्षबाट कार्ययोजना आएको आयोजनाले जनाएको छ ।

आयोजनाले यो वर्षको दशैंअघि उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भन्दै वैकल्पिक व्यवस्था गरी सुरुङमा मेलम्चीको पानी पठाएको थियो । असार २१ मा पानी हालेको केही दिनमै ती पानी थेग्न नसकेपछि गेट फुट्न पुगेको थियो । यससँग मेलम्चीको पानी काठमाडौं आउने भाका फेरि अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्